काठमाडाैं । सिएनएन हिरो र सुपर हिरो पुष्पा बस्नेतको जीवन कथा समेटिएको पुस्तक ‘पुतलीको घर’ प्रकाशित भएको छ ।
पत्रकार तथा लेखक घनश्याम खड्काले पुष्पासँग गरेको लामो अन्तरवार्ता र उनका अनुभवहरुलाई प्रथम शैलीमा उधिनेका हुन् जसलाई अल्केमी पब्लिकेशन्सले बजारमा ल्याएको हो ।
एउटी युवतीले पाएको असफलता र त्यहाँबाट उम्कन उनको हृदयले तय गरेको बाटो उत्प्रेरणादायी कथा पुस्तकमा भएको अल्केमिले जनाएको छ । अँध्यारोबाट उज्यालोतिरकाे यात्रालाई पुस्तकमा सरल मर्मभेदी ढंगले चित्रण गरिएको छ ।
कसुरदार बाबु आमाससँग जेलमापरेका निर्दाेष बालबालिकालाई बाहिर ल्याएर पढाई लेखाई सक्षम नागरिक बनाउने काममा लागेकी पुष्पाले आफ्नो जीवन नै तिनै नानीहरुको पढाइमा अर्पित गरेकी छन् । आफ्नो त्यही अद्धितीय प्रेम र करुणाका कारण लोकप्रिय हुन पुगेकी उनी सिएनएन हिरो र पछि सुपर हिरो समेत भएपछि संसारमाझ चिनिन पुगेकी छन् ।
पुस्तकमा पुष्पाले कसरी आफ्नो जीवनलाई अबोध बालबालिकाको उत्थानमा समर्पण गरिन् र त्यसो गर्दा के कस्ता वाधा अड्चनहरु आइपरे भन्ने मात्रै होइन, संसारमाझ चिनिएपछि त्यसले उनको र बालबालिकाको जीवनमा कस्तो फरक पा¥यो भन्ने पाटो पनि समेटेको छ । जेलमा परेका बच्चाका लागि स्वतन्त्रताकी देवी बनेर चिनिनु अघि पुष्पाको जीवनको रोचक तथ्य पनि पुस्तकमा छ । अरुको दुःख हटाउन खोज्दा उनको आफ्नै दःख कसरी हट्यो र उनले जीवनको अर्थलाई कसरी बुभ्न पुगिन् भन्ने पढ्दा पाठकहरुमा पनि आत्म रुपान्तरणको भाव गहनरुपमा आउनेछ ।
‘पुतलीको घर’ ले एउटा सामान्य युवतीले अप्रचलित बाटोबाट हिँडेर बनाएको एक असामान्य संसारमा हामीलाई विचरण गराइदिन्छ । पुस्तक पल्टाउँदै जाँदा जीवनप्रतिको आसा र भरोसा ज्यादा मुखर हुँदै जान्छ । परिणामतः पाठकको हृदयमा उत्साहको सञ्चार स्वतःभएर आउँछ । निरासाले चारैतिरबाट घेर्दै लगेको यो आत्मकेन्द्रित आधुनिक समयमा परार्थ हितको बाटोमा हिँड्दा हुने मोक्षदायी लाभको स्वाद पुस्तकले हरेक पठकलाई गराउँछ । यही नै यस पुस्तकको शक्ती हो ।
पुस्तक बिक्रीबाट आएको रोयल्टी पुतली घरका बालबालिकाको पढाइमा खर्च हुने लेखक खड्काले बताए ।