काठमाडौं । भोग्नेको कथै अर्को । सुन्नेलाई पनि लज्जाबोध । हजारौं विद्यार्थीको मनोविज्ञानमा कस्तो आघात परे होलान् ? देशलाई पुगेको आर्थिक क्षतिको लेखा आफ्नो ठाउँमा छदैछ । यो जघन्य अपराधको पर्दाफास गर्न प्रदेश प्रहरीको सहकार्यमा सीआईबीले अनुसन्धान अघि बढायो । प्रहरीको अहोरात्र अनुसन्धानपछि अन्ततः २०७५ चैत २१ बिहीबार अर्थात्, प्रश्नपत्र लिक भएको एक हप्तापछि प्रहरी एउटा निछोडमा पुग्यो ।
प्रश्नपत्र लिक गर्ने ६ जनालाई प्रहरीले सार्वजनिक ग¥यो । यसबाहेक प्रश्नपत्र लिक गराउने कार्यमा संलग्न २ जना त प्रहरी नै थिए । विज्ञान र सामाजिक विषयको प्रश्नपत्र सिरहाको इलाका प्रहरी कार्यालयबाट बाहिरिएको खुलेको छ । प्रहरीले प्रश्नपत्र लिक प्रकरणमा २ दर्जन भन्दा बढीलाई पक्राउ गरी अनुसन्धान शुरु गर्छ । पक्राउ परेका मध्ये बिष्णुदेवमाथिको अनुसन्धानले प्रश्नपत्र आउट प्रकरणको पर्दाफास हुन्छ ।
सिरहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा एसईई परीक्षाको प्रश्नपत्र राखिएको थियो । सईको कमाण्डमा रहेको उक्त चौकीमा इन्चार्जले राखेको चाबी चोरेर प्रश्नपत्रका पोका ब्लेडले चिर्दै फोटो खिचेर फेरी पोकाभित्र हाल्ने काम गरे, चौकीमै कार्यरत प्रहरी जवान ब्रह्मदेव सुनरैत यादव र दीपेन्द्रकुमार मण्डलले । ब्रह्मदेवले साथीलाई झिकेको प्रश्नपत्र आफ्नै दाजु २८ वर्र्षीय विष्णुदेव मण्डललाई इमोमार्फत् पठाए । यसपछि त प्रश्नपत्र नियन्त्रणमा रहने कुरै रहने । एकले अर्कोलाई इमोलगायतबाट पठाउने काम विजुली गतिमा फैलियो ।
विष्णुदेवबाट मनोज यादव, मनोजबाट राजेश यादव र राजेशबाट उमेश यादव हुँदै प्रश्नपत्र विद्यार्र्थीको हातहातमा पुग्यो । प्रश्नपत्र आउट भएसँगै प्रश्नपत्र १ हजारदेखि १ हजार २ सय रुपैयाँसम्ममा बिक्री भएको पनि अनुसन्धानमा खुलेको छ । त्यसोत प्रश्नपत्र लिक गर्ने मुख्य योजनाकार ‘ब्रह्मदेवले सिरहाको वरहथवा मावि विष्णुपुरमा परीक्षा केन्द्र रहेका दीपेन्द्रको ठाउँमा बसेर परीक्षा समेत दिएका थिए । ‘प्रवेशपत्रबाट दीपेन्द्रको फोटोको ठाउँमा ब्रह्मदेवले आफ्नो फोटो टाँसेर छाप समेत किर्ते गरे । अनि, आफै परीक्षामा सामेल भए ।
पक्राउ परेका प्रहरीमध्ये २२ वर्षीय ब्रह्मदेव सप्तरीको राजविराज नगरपालिका १० र दीपेन्द्र राजविराज नगरपालिका ६ का बासिन्दा हुन् । प्रश्नपत्र लिक प्रकरणमा संलग्न कसैलाई पनि नछोडिने र कडा कारबाही गरिने प्रहरीले दावी गरेको छ । तर, देशले ठूलो क्षति भने भोगिसकेको छ ।
भिडियो हेर्नुहोस्ः–