रामभरोसी यादव
सिरहा । कर्जन्हा नगरपालिका–९ मा फागुनमा सञ्चालित निःशुल्क आँखा शिविरमा शल्यक्रिया गराएका अधिकांशको आँखामा गम्भिर समस्या देखापरेको छ । क्रिश्चियन धर्म प्रचारक संस्था आरटिएन ट्रस्टले आयोजना गरेको शिविरमा दुईसय भन्दा बढी विरामीले उपचार गराएका थिए । उपचार गराएका मध्य शल्यक्रिया गरिएका ७७ जनामध्ये धेरैजसोको आँखामा जटिल समस्या देखिएको हो ।
धमिलो देख्दै आएको आँखा शल्यक्रियापछि देख्नै छाडेको कर्जन्हा– ८, थलहाका कलाम हुसेनले बताए । उनको बाँया आँखा धमिलो देख्दै थियो अप्रेशन पछि पुरै नदेख्ने भएको छ । त्यसमाथि आँखा चिलाउने र दुख्ने समस्याले सताएको उनले जनाए । त्यही ठाउँका ७५ वर्षीय देवलाल राउतको पनि बायाँ आँखा नै अप्रेशन भएको थियो । उनले अप्रेशन गरेकै आँखा देख्न छाडेको छन् ।
कर्जन्हा ८ गौतारीका मेथियाको पासवाले दायाँ आँखाको अप्रेशन भएको बताए । उनले भने, ‘आँखा अप्रेशन गरेर आएकै दिन देखि दुख्ने, चिलाउने र धमिलो देख्ने समस्या बढ्दै गएपछि चिन्तित छु ।’ मेथिया, कलाम र देवलाल मात्र हैन यस गाउँबाट उपचारमा गएका करीव दुई दर्जन विरामी आँखामा फरक प्रकृतिका गम्भिर समस्या देखिएका छन् । धेरैले आँखा नै नदेख्ने र देख्नेहरुको पनि विभिन्न समस्या देखिएको स्थानीय महिला अधिकारकर्मी अनिता पासवानले बताइन् ।
दक्षिण कोरियाबाट आएका करिब ३३ जना स्वास्थ्यकर्मिहरुको समूहले क्रिश्चियन धर्म प्रचारक आरटिएन ट्रस्टको आयोजनामा फागुन १३ देखि १६ गतेसम्म आयोजना गरेको शिविरमा निःशुल्क शल्यक्रिया गरेका थिए । उनीहरुका अनुसार, शिविरमा आँखा जचाउन आएकालाई कोरियन भाषामा निर्देशन दिइएको थियो । शिविरमा कोरीयामा बनेकै औषधि वितरण गरिएकोे पाइएको छ । शल्यक्रिया गरेका कसैलाई पनि विरामीलाई मेडिकल प्रिसकिप्सन दिइएको छैन ।
आयोजक संस्था आरटिएनका उपाध्यक्ष नागेन्द्र पासवानले उपचारमा आएकाहरुमा ठूलो समस्या आएको आफूहरुले थाहा नपाएको बताए । उनले भने, ‘उपचार गरेका सवैलाई ठिक नै हुन्छ भन्ने छैन, केहीमा समस्या आएको हुनसक्छ त्यो हामीसम्म नआइपुगेको छैन ।’ उनले आफूहरुले पूर्ण मानवीय भावनाका साथ शिविरको आयोजना गरेको सुनाए । गाउँमै यसु धर्म मान्नेहरु निःशुल्क आँखा उपचारको प्रचार गर्न आएपछि आफूहरु शिविरमा पुगेको बताए ।