कान्ति न्यौपाने
काठमाडौं । सरकारले मुलुकका सबै नागरिकलाई स्वस्थ्य बनाउने संकल्प गरेको छ । त्यो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको काम हो । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द यादव र राज्यमन्त्री डा सुरेन्द्र यादवले त्यसको नेतृत्व गरिरहनुभएको छ ।
उहाँहरुले स्वास्थ्य मन्त्रालयको नेतृत्व गरेको १ वर्ष भइसकेको छ । मन्त्री तथा राज्यमन्त्रीले दिनहुँ विभिन्न कार्यक्रममा ‘अब उपचार बिना कसैले जीवन गुमाउन नपर्ने, सबै नागरिकलाई स्वस्थ्य पारिने’ अभिव्यक्ति दिने गर्नुभएको छ ।
उहाँले हरेकदिन त्यस्तो अभिव्यक्ति दिइरहे पनि मन्त्रालयदेखि करिब १ किलोमिटर पश्चिमस्थित वीर अस्पतालको अवस्था भने नाजुक छ । वीर मुलुकको जेठो अस्पताल हो । चिकित्सा क्षेत्रको अध्ययन तथा अनुसन्धान गर्नुकाे साथै दक्ष स्वास्थ्यकर्मी उत्पादन गरेर सर्वसाधारणलाई गुणस्तरीय सेवा दिने उदेश्यले सरकारले त्यसलाई ‘राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान’ बनाएको छ ।
वीर अस्पतालले मुलुकका नागरिकलाई स्तरीय स्वास्थ्य सेवा दिने उदेश्य लिएको छ तर आफ्नै अवस्था भने उदेक लाग्दो छ । स्वास्थ्य मन्त्रालयले सबै नागरिकलाई आफ्नो घर तथा टोल अगाडि सफा राख्न सूचित गर्छ, योजना बनाउँछ । तर योजना कार्यान्वयनमा प्रभावकारी भूमिका खेल्ने चिकित्सा विज्ञान प्रतिष्ठान अर्थात् वीर अस्पताल यतिखेर आफै अस्वस्थ हुन पुगेको छ । अस्पताल वरपर फोहरका डंगुर थुप्रिएका छन् । वातावरण दुर्गन्धित छ ।
अस्पताल पुग्ने जो कोहीलाई हिरिक्क वान्ता आउला जस्तो हुन्छ । अस्पतालका चिकित्सक तथा कर्मचारी दुर्गन्धित वातावरणमै बिरामीको उपचारमा जुट्न बाध्य छन् । बिरामी दुर्गन्धमै निस्सासिन बाध्य । वीर अस्पताल पुग्दा स्वस्थ्य व्यक्ति समेत बिरामी हुने अवस्था छ । अस्पतालका कर्मचारी पटकपटक आग्रह गर्दा समेत सम्बन्धित निकायले फोहर नउठाएको बताउँछन् ।
माकुराको जालो हटाउन राष्ट्रपतिको करोड !
वीर अस्पताल कुनै बेला मुलुकमै विश्वनीय र प्रतिष्ठित उपचार निकाय बनेको थियो । पंचायतकालमा नागरिक मात्र होइन राजपरिवारका सदस्य समेत उपचारको लागि पहिले त्यहीं जान्थे । अस्पतालमा राजपरिवार, प्रधानमन्त्री र मन्त्री लगायतका बिशिष्ठहरुको उपचारको लागि छुट्टै कोठाको व्यवस्था गरिएको थियो । अस्पतालमा अहिले पनि भीआइपी कक्ष राखिएको छ । विशिष्ठ व्यक्ति उपचारको लागि जाँदा मात्र भिआइपी कक्ष खोल्ने गरिएको छ । डा. राववरण यादव राष्ट्रपति हुँदा उहाँले विभिन्न पटक त्यही उपचार गराउनुभयो । राष्ट्रपति भएर उपचारको लागि पहिलो पटक जाँदा यादवले वीर अस्पतालको अवस्था निरीक्षण समेत गर्नुभएको थियो । राष्ट्रपति यादव पुग्दा पनि अस्पताल अहिलेको भन्दा अलि कम तर दुर्गन्धित अवस्थामै थियो । अस्पतालभित्र ठाउँ ठाउँमा माकुराको जालो झुण्डिएको थियो । अस्पतालको दुरावस्था देखेपछि राष्ट्रपति यादवले व्यवस्थापन पक्षलाई लक्षित गर्दै भन्नु भएको थियो– यो माकुराको जालो हटाउन कति करोड चाहिने हो ?
व्यर्थ भो पद्माको प्रयास
केहीवर्ष यता वीर अस्पतालमा स्वास्थ्य उपकरण बिग्रिएर थन्किएको र दुर्गन्धित भएको समाचार नौलो तथा अनौठो हुन छोडेको छ । वीर अस्पताल दुरावस्थामै रहेको बेला स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य बन्नु भएकी पद्मा अर्याल गत वर्ष जनसंख्या तथा स्वास्थ्यमन्त्री हुनुभयो । अर्यालले मन्त्रालयको कार्यभार समाले लगतै वीर अस्पतालको शौचालय सफा गर्न पुग्नुभयो । त्यसपछि उहाँ मुलुकका अन्य अस्पतालमा समेत आफै सरिक भएर सरसफाई अभियान संचालन गर्नुभयो । विभिन्न अस्पतालमा सरसफाई अभियान चलिरहेकै बेला अर्यालको मन्त्रालय फेरियो । उहाँलाई जनसंख्या तथा स्वास्थ्यबाट भूमि व्यवस्था, गरिबी तथा सहकारी मन्त्रालयको नेतृत्व दिइयो । स्वास्थ्यको नेतृत्व मन्त्री यादवद्वयको भागमा पर्यो । मन्त्रालय यादवद्वयले समालेपछि अस्पताल सरसफाई अभियान सेलायो ।
कहाँ गए धुर्मुस सुन्तली ?
मन्त्री अर्यालले अस्पताल सरसफाई अभियान संचालन थालेपछि मुलुकका चर्चित कलाकार सिताराम कट्टेल ‘धुर्मस’ कुञ्जना घिमिरे ‘सुन्तली’ ले त्यसमा साथ दिने प्रतिवद्धता जनाउनु भयो । धुर्मस–सुन्तलीले वीर अस्पताल सफाईको जिम्मा लिने र त्यसको लागि कोष बनाउने योजना बन्यो । अहिले त्यो योजना के भएको छ ? योजनाकारलाई नै थाहा होला । वीर अस्पताल भने दुर्गन्धको चपेटामा छ । स्वास्थ्यमन्त्रीद्वयले चिटिक्क भएर मुलुकका सबै नागरिकलाई स्वस्थ्य बनाउने प्रतिद्धता जाहेर गरिरहुनु भएको छ । तर अस्पतालको वातावरणले भने उहाँहरुको प्रतिवद्धतालाई गिज्याईरहेको छ । मन्त्रीद्वय चिटिक्क हुनुहुन्छ तर वीर अस्पताल भने हिरिक्क छ ।