संयोग नेपाल
काठमाडौं । भनिन्छ गीतसंगीतको मानिसलाई आनन्द दिन्छ । कतिपय गीतहरु सुखमा सुनिने गरिन्छ भने कतिपय गीतहरु दुःखका बेलमा सुन्दा दुःख कम भएझैँ लाग्छ ।
मानिसको मुडअनुसार मनपर्ने गीतहरु पनि फरक–फरक हुनसक्छन् । तर केही यस्ता गीतहरु हुन्छन्, जुन गीत प्रायलाई मनपर्छ र उनीहरुले हेरेकै वा सुनेकै हुन्छन् । आज हामी त्यस्तै गीतहरुको बारेमा चर्चा गर्नेछौँ ।
अहिले गीतसंगीतलाई दर्शकश्रोतामाझ पुर्याउने सजिलो माध्यम भनेकै सामाजिक सञ्जाल युट्युब हो । युट्युबमा सार्वजनिक भएका सबै गीतहरुलाई सबैले मनपराउँछन् भन्ने छैन, तर केही यस्ता गीतहरु पनि छन् जसले २०७५ मा रेकर्ड नै बनाउन सके । आउनुहोस् जानौँ २०७५ मा युट्युबमा सबैभन्दा चर्चित १० गीतहरुको बारेमा क्रमश दशौँदेखि पहिलो स्थानमसम्म ।
१०. उडायो हावाले
आठ महिनाअघि युट्युबमा सार्वजनिक भएको चलचित्र ‘इंटु मिन्टु लण्डनमा’को गीत ‘उडायो हावाले’लाई युट्युबमा १ करोड ५४ लाखभन्दा धेरैपटक हेरिएको छ । हर्कुलस बस्नेतको शब्द तथा संगीत संयोजनमा तयार भएको गीतमा स्वयं हर्कुलस बस्नेत र निकिता थापाको स्वर छ । गीतको भिडियोमा चलचित्रका नायक धिरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय छ ।
९. भिजिट भिसामा
दुई महिनाअघि सार्वजनिक गरिएको चलचित्र ‘दाल भात तरकारी’को गीत ‘भिजिट भिसामा’लाई युट्युबमा १ करोड ५६ लाखभन्दा धेरैपटक हेरिएको छ । शम्भुजित बास्कोटाको संगीतमा तयार भएको गीतमा हरिवंश आचार्यको शब्द छ भने निशान भट्टराई र अञ्जु पन्तको स्वर छ । गीतको भिडियोमा हरिवंश आचार्य, निरुता सिंह, राजाराम पौडेल, पुष्पल खड्का, आँचल शर्मा, वर्षा राउत लगायतका कलाकारहरुको अभिनय छ ।
८. उम्लियो भने पोखिन्छ
दश महिनाअघि सार्वजनिक भएको चलचित्र ‘जय भोले’ मा समावेश ‘उम्लियो भने पोखिन्छ’ बोलको गीतलाई युट्युबमा १ करोड ५८ लाखभन्दा धेरैपटक हेरिएको छ । राजनराज शिवाकोटीको शब्द तथा संगीतका बनेको गीतमा स्वयं शिवाकोटी र गायिका मेलिना राईको स्वर छ । गीतको भिडियोमा स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, सौगात मल्ल, बुद्धि तामाङ, सलोन बस्नेत लगायतका कलाकारहरुको अभिनय छ ।
७. चौरीको चाम्रो छुर्पी
टंक बुढाथोकी, अशोक दर्जी र एआर बुढाथोकीको स्वरमा रहेको ‘चौरीको चाम्रो छुर्पी’ बोलको गीतकालाई युट्युबमा १ करोड ८० लाख भन्दा धेरैपटक हेरिएको छ । तीन महिनाअघि सार्वजनिक भएको गीतमा शब्द तथा संगीत टंक बुढाथोकीको छ । गीतको भिडियोमा अशोक, टंक र एआरको साथमा डिजे रुपक सापकोटा, दीपिका शर्मा र बशुकला मैनालीको पनि अभिनय छ ।
६. फूल होइन
आठ महिनाअघि सार्वजनिक भएको चलचित्र ‘रोज’मा समावेश ‘फूल होइन’ बोलको गीतलाई युट्युबमा २ करोड ५९ लाख भन्दा धेरैपटक हेरिएको छ । एलिश कार्कीको संगीत तथा राजेश कुमार श्रेष्ठको शब्दरचनामा रहेको गीतमा प्रताप दास र प्रविशा अधिकारीको आवाज छ । गीतको भिडियोमा चलचित्रका नायक प्रदीप खड्का र नायिका मिरुना मगरको अभिनय छ ।
५. पहिलो नम्बरमा
चलचित्र ‘छक्का पञ्जा ३’ समावेश ‘पहिलो नम्बरमा’ बोलको गीतलाई युट्युबमा ३ करोड ५७ लाखभन्दा धेरैपटक हेरिएको छ । आठ महिनाअघि सार्वजनिक गीतमा दीपक शर्माको संगीत तथा राजेन्द्र थापाको शब्दरचना छ । डेभिड शंकर र विन्दु परियारको स्वरमा रहेको गीतको भिडियोमा चलचित्रका कलाकारहरु दीपकराव गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, दीपिका प्रसाँइ, केदार घिमिरे, जितु नेपाल, बर्षा राउत, संजोग कोइराला, बुद्धि तामाङ लगायतका कलाकारहरुको अभिनय छ ।
४. पिरिम नलाउने
छ महिनाअघि सार्वजनिक भएको ‘पिरिम नलाउने’ बोलको लोकशैलीको गीतलाई ३ करोड ६१ लाख भन्दा धेरैपटक युट्युबमा हेरिसकिएको छ । दीपक शर्माको शब्द तथा संगीतमा तयार भएको गीतमा आशिष गौतम (सचिन) र मेलिना राईको स्वर छ । गीतको भिडियोमा गायक सचिनको साथमा वर्षा राउतको अभिनय छ । यो गीतमा सामाजिक सञ्जाल टिकटकमा समेत सैयाँैँ भिडियो बनेको छ ।
३. सालको पात
छ महिनाअघि सार्वजनिक भएको लोकदोहोरी गीत ‘सालको पात’ बोलको गीतलाई युट्युबमा ३ करोड ९९ लाख भन्दा धेरैपटक हेरिएको छ । बसन्त थापाको संगीत र नवराज पन्तको शब्दमा तयार भएको गीतका कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर छ । गीतको भिडियोमा नायिका मरिस्का पोखरेल, गायक कुलेन्द्र विश्वकर्मा र संगीतकार बसन्त थापाको अभिनय छ । यो गीत लोकदोहोरी गीतमा सबैभन्दा छिटो करोड क्लबमा पुग्ने गीत हो ।
२. गोजीमा दाम छैन
चलचित्र ‘चङ्गा चेट’मा समावेश ‘गोजीमा दाम छैन’ बोलको गीतलाई युट्युबमा ४ करोड १५ लाख भन्दा धेरैपटक हेरिएको छ । ७ महिनाअघि सार्वजनिक भएको गीतमा राजनराज शिवाकोटीको शब्द तथा संगीत छ भने स्वयं शिवाकोटी, मेलिना राई र गृष्मा शिवाकोटीको आवाज छ । गीतको भिडियामा चलचित्रका कलाकारहरु आयुष्मान देशराज जोशी, प्रियंका कार्की, सन्दीप क्षेत्री, परमिता आरएल शाह, रवीद्र झा र सुरक्षा पन्त लगायतका कलाकारहरुको अभिनय छ ।
१. माया लुकी लुकी
र यो वर्षको सर्वाधिक हेरिएको गीतमा पहिलो नम्बरमा पर्न सफल गीत रहेको छ टिका प्रसाँइको ‘माया लुकी लुकी’ । १० महिनाअघि सार्वजनिक गरिएको गीतलाई ५ करोड २० लाख भन्दा धेरैपटक हेरिएको छ । आशिष अबिरलको संगीत, आनन्द अधिकारीको शब्द र टिका प्रसाँइको स्वरमा रहेको गीतको भिडियोमा नेपालको चर्चित डान्स क्रु ‘द कार्टुन्व क्रु’ का सदस्यहरुको दमदार नृत्य छ ।
केहीवर्ष पहिलेसम्म पार्टी, सभा तथा समारोहमा विभिन्न विदेशी भाषाका गीतहरु बजाउने गर्थे भने स्वदेशी गीतहरु बज्ने गर्छन् । स्वदेशी गीतहरुमा पनि युट्युबमा सबैभन्दा धेरै हेरिएका गीतहरु नै यस्ता कार्यक्रमहरुमा बज्ने गर्छन् । त्यसैगरी बालबालिका तथा विद्यालयका कार्यक्रमहरुमा नृत्यहरु प्रस्तुत गरिदाँ पनि आजकल नेपाली गीतहरुकै प्रयोग बढी गरेको पाइन्छ । यो हामी सबैका लागि खुसीको विषय हो ।