खेम बम
काठमाडौं । वर्षभरीको मेहनत र घरपरिवारको माया संगालेर दैनिक साहुको चपेटामा रातदिन काम गरिरहेका परदेशी फर्किने बेला हो यो । नयाँ वर्ष नजिकिएसँगै भारतमा काम गरिरहेका परदेशी नेपालीहरु स्वदेश फर्किने क्रम बढ्दो छ पश्चिम नेपालका नाकाहरुमा । केही समय कमाएर परिवारसँगै नयाँ वर्ष मनाउन बैशाख अगावै परदेशी घर फर्किन्छन् । कतिपय चैते दशैँअघि स्वदेश भित्रिसकेका छन् । सानोतिनो काम गरेर थुपारेको केही रकमले घरखर्च चलाउन र बालबालिकालाई नयाँ लुगा किन्न ठिक्क हुन्छ । धेरै ठूलो आशा समेत मनमा हुँदैन उनीहरुको ।
गहुँबाली छरेर भारत छिरेका युवा, वयस्कहरुको यतिबेला स्वदेश फर्किने समय पनि हो । मानो छरेर मुरी भित्र्याउने समयमा घरका बुढा बुवाआमा र श्रीमतीलाई सघाउन समेत उनीहरुलाई नयाँ वर्षको आगमनसँगै स्वदेश फर्किन्छन् । ढेडु, बाँदर र अन्य जंगली जनावरबाट बचाएको केही भाग अन्न भित्र्याउछन् उनीहरु । नयाँ वर्षको रौनक गाउँघरतिर आइसकेको छ । गाउँमा नयाँ अनुहार देखिन थालेका छन् । करिब ६ महिना बाटो हेर्दै गरेका आँखामा खुसी छाएको छ । तर, बिडम्बना यसैबेला सीमा नाकामा चुस्त सुरक्षा संयन्त्र नहुँदा धेरै नेपाली लुटिन बाध्य भएका छन् ।
सीमामा नेपालीलाई समस्याः
अक्सर नेपाली यतिबेला सीमामा लुटिएका खबर आउन थालेका छन् । हिजैमात्र भारत उत्तराखण्ड अल्मोडाबाट मजदुरी गरेर नयाँं वर्ष मनाउन घर फर्किन लागेका मुगुको सोह्रकोट गाउँपालिका–२ फोतुका ५० वर्षीय लालबहादुर शाही, १९ वर्षीय राजेश शाही र १८ वर्षीय नवीन बुढा लुटिएको खबर सार्वजनिक भएको छ । हल्द्वानीबाट उनीहरूसंँगै आएका २ जना दैलेख घर बताउने नेपालीहरूले नै नशालु पदार्थ मिलाइएको चिसो पेय खुवाएर लुटेका थिए । यी प्रतिनिधि घटनामात्रै हुन् । पश्चिम नेपालका जिल्लामा यस्ता घटना धेरै मात्रामा घटिरहेका हुन्छन् ।
भारतीय सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले पनि नेपालीलाई सास्ती दिने गरेका खबर प्रायः नयाँ होईनन् । उनीहरुले नेपालीलाई विभिन्न बाहानामा लुटिरहेका हुन्छन् । डर, धम्की र अन्य बहाना बनाएर भारतीय सीमामा खटिएका प्रहरीले सानो–सानो रकम समेत लुट्ने गरेको पीडित नेपालीको भनाइ छ । समस्या देखाएर रकम मागिन्छ दिन आलटाल गरे सामान जफत गरिन्छ र त्रास देखाइन्छ ।
समस्या समाधानका लागि गरिएको प्रयास निरर्थकः
दुवै देशका सीमा सुरक्षा फौजले गरेका वार्ताले समेत अवैध असुलीलाई कम पार्न सकेको छैन । वार्ताका माध्यमबाट सीमामा कसैलाई सास्ती नदिने सम्झौता भएतापनि व्यवहारमा लागू हुन सकेको छैन । अचम्म त यो छ की नेपालकै सीमामा समेत नेपाली ठगिएका घटना बाहिरिरहन्छन् । अहिले मुलुक संघीयतामा प्रवेश गरेको छ । नियम कानुन बन्दैछन् कति बनिसकेका छन् । तर, समस्या जस्ताको त्यस्तै देखिन्छ ।