रामभरोसी यादव
सिरहा । सिरहाकाे बीचोबिच एक उपवन छ । जसको नाम हो सल्हेश फूलवारी । नयाँ वर्ष आरम्भ भएको दिन वैशाख १ गते यहाँ धुमधाम मेला लाग्छ । मेलामा लाखौं लाख मानिस एकत्रित हुन्छन् ।
उपवनका बृक्षहरुमा लत्रिएका सुनाखरी फूल हेर्न मानिसको घुइँचो लाग्छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको यो बगैंचा लहान नगरपालिका १२ र २२ मा पर्छ । १४ औं शताब्दीका दलित समुदायका सल्हेश यस क्षेत्रमा राजा भएका थिए । उनकै नामबाट बगैंचाको नामाकरण भएको छ । बगैंचाभित्र राजा सल्हेशको मन्दिर छ ।
किम्वदन्ती अनुसार राजा सल्हेश पहिले राजा पुराद्वित्तिक सिंहका सेनापति थिए । उनी ख्याति कमाएका कुस्तीबाज थिए । सक्षमता र सवलताको बलमा सल्हेश राजा बनेका थिए । मोरङका राजा हिनपैत मालीकी छोरी दानाबतीले राजा सल्हेशसँग बिबाह प्रस्ताव राखिन् तर सल्हेशले अस्वीकार गरे । प्रेम प्रस्तावको उपेक्षाले दानाबती आहत भइन् । दानाबतीले राजा सल्हेसको नाममा एउटा बगैंचा लगाइन् । दानावतीले बगैंचालाई सजिसजाउ झकिझकाउ उपवन बनाइन् । त्यसपछि राजा सल्हेश र दानावतीको विवाह भयो । दानाबतीले प्रेम सफल पार्न लगाएको मनमोहक बगैंचा नै अहिले सल्हेस पूmलबारी नामबाट प्रचलित रहेको किम्बदन्ती छ ।
सल्हेश फूलबारीमा रहेको रुखमा सुनाखरी फूल फुल्छ । प्रत्येक वर्ष वैशाख १ गते मात्र त्यो फूल फुल्ने र भोलिपल्ट अलप हुने किम्बदन्ती छ । सुनाखरी पूmल सल्हेश पूmलबारी मेलाको प्रमुख आकर्षण बन्छ । अन्तत्वगत्वा राजा सल्हेशले दानाबतीसँग वैवाहिक बन्धनमा बाँधिएपछि तराईमा अन्तरजातीय विवाह शुरु भएको किम्बदन्ती छ । मुसहर समुदायको ईष्ट देवता मानिने दिानाराम र भद्री दाजुभाई पनि उतिबेलाका बलशाली पहलवान थिए । राजा सल्हेशले गरिब र कथित तल्लो जातिका दिनाराम र भद्रीसंग मित्रता गाँसेका थिए । केही इतिहासकारले राजा पुराद्वित्तिक सिंहले आफ्नी रानीको मन बहलाउन बगैंचा लगाएको दावी गरेका छन् ।
तिनताका पकरियागढमा राजा थिए कुल्हेस्वर सिंह । उनकी छोरी चन्द्राबतीसँग राजा सल्हेशको मायाप्रिति बस्यो । तर उच्च जातिका राजा कुल्हेस्वरले सल्हेशलाई छोरी दिन मानेनन् । राजा सल्हेश परिचय लुकाएर राजा कुल्हेस्वरको दरवारमा नोकर बसे । चोहरमल नाम गरेका चोरको सहयोग लिएर राजदरबारबाट गंगा नदीको तटसम्म सुरुङ खनेर सल्ेहशले चन्द्रावतीलाई भगाएको किम्बदन्ती छ । चोहरमलले खनेको सुरुङको भग्नावशेष पकरियागढमा अझै छ । पकरियागढमा पनि वैशाख २ गते मेला लाग्छ । नयाँ वर्षको उपलक्ष्यमा सिरहाको मानिकदहमा जात्रा लाग्छ । जनश्रुति अनुसार राजा सल्हेशले मानिकदहमा दैनिक स्नान गर्थे । मानिकदहमा दहमा स्नान गर्दा चर्मरोग निको हुने जनविश्वास छ ।
वैशाख २ गते सिरहाको पताइर पोखरीमा पनि धुमधाम जात्रा लाग्छ । यो पोखरीको डीलमा राजा सल्हेशले कुस्ती खेल्ने अखाडा रहेको किम्बदन्ती छ । पताईर पोखरीमा निस्न्तान महिलाले वैशाख २ गते नुहाए सन्तानप्राप्ती हुने जनविश्वास छ । जात्राको दिन सैयौं निसन्तान महिला पताइर पोखरीमा नुहाउन आउँछन् ।
सदरमुकामस्थित सिरहा नगरपालिकामा पनि राजा सल्हेशको मन्दिर छ । राजा सल्हेशको राजदरबार सिरहा नगरपालिकास्थित महिसोथामा रहेको किमबदन्ती छ । महिसोथमा राजा सल्हेशको कूलदेवताको मन्दिर पनि छ । महिसोथमा नेपाल र भारतका श्रद्धालुहरु पूजा गर्न आउँछन् । सिरहा सदरमुकाममा वैशाख २ गते जात्रा लाग्छ । राजा सल्हेशको वीरगाथा झल्किने गीति नाटक प्रदर्शन गरिन्छ । रातभरी जाग्राम बस्ने परम्परा पनि छ ।
राजा सल्हेश मानिकदहमा स्नान गर्थे, सल्हेश फूलबारीबाट फूल टिप्थे, पताईर पोखरीमा पूजा गरी कुस्ती खेल्थे र महिसोथा दरबार पुग्थे । यी सबै स्थानमा वैशाख १ र २ गते भव्य मेला लाग्छ । राजा सल्हेशको गाथासँग जोडिएका स्थानमा उनको मन्दिर छ । ती मन्दिरमा पासवान पूजारी रहने परम्परा अझै कायम छ । वैशाख १ र २ गते पूजामा सहभागी सबैले दलित पुजारीको हातबाट प्रसाद थापेर खान्छन् । नयाँ वर्षे विशाल र भव्य जात्रामा छुवाछुत हट्छ ।