हुमाकान्त पोखरेल
गुल्मी । बिहिबार जिप दुर्घटनामा मृत्यु भएका पूर्वसांसद रुद्रमणी शर्मा भण्डारीको अन्त्येष्टि गरिएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, कांग्रेस महामन्त्री डाक्टर शसांक कोइरालाले दिवंगत भण्डारीको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनुभयो ।
त्यस्तै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट पनि सांसद भण्डारीलाई श्रद्धाञ्जली दिन पुग्नुभएको थियो । उहाँले आदर्शवादी नेता रुद्रमणीको मृत्युले कांग्रेसलाई मात्रै नभएर सिंगो जिल्लालाई क्षति पुगेको बताउनुभयो । मन्त्री बिष्टले भण्डारीको निष्ठा, सोच र आर्दशता सबै पार्टी, नेता र कार्यक्रताको लागि प्रेरणाको बिषय भएको बताउनुभयो । नेपाली कांग्रेस गुल्मीले राखेको शोक सभालाई सम्बोधन गर्दै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले यो घटना लोकतान्त्रिक इतिहासमा ज्यादै दुखद भएको बताउनुभयो ।
मृत्यु सत्य भएकाले अब भण्डारीको निष्ठा र सपनालाई पुरा गर्ने काम पार्टीको भएको उहाँले बताउनुभयो । महामन्त्री शसांक कोइरालाले पछिल्लो समयको आर्दश पुरुषको निधनले आफूहरुलाई ठुलो क्षति पुगेकाले यसको परिपुरणमा सवै मिलेर अगाडि बढ्नुको बिकल्प नभएको बताउनुभयो ।
त्यस्तै ५ नम्बर प्रदेशसभा सदस्य दिनेश पन्थीले दिवङगत भण्डारीको भौतिक उपस्थिति नभएपनि उहाँले देखाएको बाटो, विकास र विचार सम्पूर्ण गुल्मेलीमा अडिग भएर रहेको बताउनुभयो । त्यस्तै कांग्रेस केन्द्रीय सदस्य डाक्टर चन्द्र भण्डारी जिल्लाको असल अभिभावक मात्रै नभएर लोकतान्त्रिक मुल्य र मान्यतामा समेत क्षति पुगेको उल्लेख गर्नुभयो । उहाँले नियती कसैको पकडमा नभएकाले शोकलाई शक्तिमा रुपान्तरण गरेर रुद्रमणीले देखाएको बाटोमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कांग्रेस जिल्ला पार्टी सभापति भुवन प्रसाद श्रेष्ठले संगठन बिस्तार अभियानकै क्रममा ढलेका साद्गी एवं आर्दशवादी नेताको दुर्घटनाले पार्टीमा ठुलो क्षति पुगेको बताउनुभयो । त्यस्तै गुल्मीका पूर्वपार्टी सभापति त्रैलोक्य प्रताप सेनल, चन्द्र केसी, नेकपा जिल्ला सचिव बुद्धि जिसीलगायतले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो । गुल्मीको मुसिकोट नगरपालिका–१ थामको च्यानडाँडामा भएको जीप दुर्घटनामा भण्डारीसहित तीन जनाको मृत्यु भएको थियो । दुर्घटनामा मालिका गाउँपालिका २ का ८ वर्षीय ओस्कर विक र सोही स्थानकै २६ वर्षीया कौशिला थापाको ज्यान गएको थियो । घाइते सात जनाको विभिन्न स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ । नेता भण्डारीको धुर्कोट गाउँपालिका ५ वस्तुको लामीडाँडा घाटमा आजै अन्त्येष्टि गरिएको छ ।