मन्दिरको सिंढीमा बसेर मुख ढाकेकी तर गुन्यूँको एउटा टुप्पो अलिकति फिंजारेर बसिरहेकी थिइन्।
भक्तहरूको बाक्लो भिंड थियो।
कोही कोहीे यसो हेरेर पाँच दश रुपैयाँ फ्यात्त फाल्दै ठूलै धर्म कमाएर दुखीको सेवा गरेकोमा प्रफूिल्लत हुँदै ओहोरदोहोर गरिरहेका थिए।
गुन्यूँको छेउ मुखबाट थोरै सारेर चियाउँथिन फेरि कुन्नी के सोचेर फेरि मुख ढाक्थिंन्।
मैले माथिल्लो सिंढीबाट नजानिंदो गरी उनैलाई नियाँल्दै थिएँ। उनलाई सायद पत्तै थिएन, म उनैलाई नियाँल्दै छु भनेर।
भक्तालुहरू अलि कम हुँदै गए । मभित्र अनेकन जिज्ञासा थिए । अझ ऊनीसँग बसेर धेरै कुराकानी गरुँ ता की मलाई पनि मेरी आमाको आभास होस्।
म अब धेरै समय प्रतिक्षा गर्न सक्ने अवस्थामा थिईन अब त उनले पनि म तिर छड्के नजरले हेरीसकेकी थिईंन्।
म मौका छोपेर उनको नजिक गएँ ।आमा, आमा बोलाएँ झल्याँस्स भएर मतिर पुलुक्क हेरिन्। तर उनले हजुर भन्नै सकिनन् किन किन मलाई पनि अप्ठेरो लाग्यो मैले कतै गलत नाता पो लगाएँ कि ? जे पर्ला पर्ला भनेर फेरी एक पल्ट बोलाएँ । आमा ?अब त्यतिबेला भने उनको गला अवरुद्ध बनिसकेको थियो।
मेरो आँखाको आँशु आँखामै विलाउन म कोसिस गर्दै थिएँ । एक्कासी झिनो स्वरमा ‘हजुर’ शब्द मेरो कानमा गुन्जियो। पुलुक्क हेरें न्यास्रा आँखा, फुस्रो कान्ति विनाको उराठिलो अनुहार । निधार र आंखामा अनगिन्ती थाकेका धर्सा मात्रै एउटा आशा बोकेको निरश मन देखें ।
झटपट सोधें आमा हजुर यो चिसो सिंढीमा किन ?
हिंड्नुस् न तल तातो चिया पिउँला।
आमा हजुरको घर कहाँ हो?
हजुरको घरमा छोराछोरी कोही हुनुहुन्न र ?
बा खोई आमा ?
मेरा निरन्तरका प्रश्नले उनलाई धेरै कठिन बनाएछ क्यारे । मात्रै आँखा नम्र थिए तर अनुरुत्तरीत।
मैले फेरी चिया खान जाने प्रस्ताव राखें तर उहाँ टसको मस हुनुभएन। अवस्था अति दर्दनाक देखें ।अब मैले भने आमा मलाई माफ गर्नु है ? मैले हजुरमा मेरो आमाको आकृति देखेर बोल्न खोजें।
बल्ल उनको बोली फुट्यो आमा,आमा नभन छोरी म सुन्न सक्दिन म आमा होइन म त बोक्सिनी पो हो अरे त ! मैले चिया पसलका गिलासमा चिया खान हुन्न । मैले कसैलाई हेर्न हुन्न। म कसैसित बोल्न हुन्न।अब तिमी पनि नबोल म बोक्सी हो अरे ! मैले तिम्लाई पनि मार्छु अरे !
ऊफ् ! एकै सासमा मनभित्रका पिडाका पोटरी खोलिन् आमाले।
म अवाक् थिएं । म भित्र अब द्वन्द चर्कन लागेको थियो।
फेरी आमालाई झक्झकाउँदै सोधें, आखिर कसले भन्यो आमा हजुरलाई यस्तो ?
मेरो मुटु फुलेको थियो जवाफमा के पो सुन्नु पर्ने हो सोचिरहेकी थिएँ । नभन्दै आकाश कालो बादलले ढाक्यो बोली फुटेन कान डम्मै भयो मेरो। आमाले भारी मनले भन्नु भो मेरो छोरा बुहारीले।
फनफन्ती चक्कर आउला जस्तो भयो।
कुन मुखले सम्झाउँ म । आमा तिमी त सृष्टि हौ । पृथ्वी हौ । जननी हौ । कसरी बोक्सी हुन सक्छेउ ?
जसलाई नौ महिना गर्भमा राखेर जीवन मरणको दोसाँध पार गरेर यस सुन्दर धर्तीमा अवतरण गरायौ । जसलाई आफु नसुतेर आफू भोको बसेर दशधारा दुधले सेचन गर्यौ । आज उसैलाई खाने बोक्सी कसरी बन्यौ आमा ?
धिक्कार छ ति छोरालाई । जसले आफ्नी जन्मदातालाई बोक्सी देख्छ धिक्कार छ ति बुहारीलाई । जसले उसैले जन्माएको छोरो आफ्नो जीन्दगी बन्छ आमा बोक्सी देख्छे।
जुन आमाले छोराछोरीलाई खुवाउँदा भोकै बसेर पटुकाले पेट कसेर लुरी हुन्छे, छोराछोरीलाई तेल घसेर कपाल लरक्क कोरिदिंदा आफ्नो कपाल कोर्न नभ्याएर जगल्टे बन्छे । छोराछोरीलाई राम्रा लुगा लगाईदिंदा आफू फाटेटालेको लाउने झुत्रे भई अनि तिनै छोराछोरीको नजरमा आज आमा बोक्सी ? थुक्क हाम्रो संस्कार।
आमालाई सान्तवना दिने शब्द पनि थिएन म संग । मेरा आँखा अवोध बालकले झैं आमाको मुख हेरीरहें । एक्कासी आमाले मलाई अंगालो मारेर छोरी
भन्दै कसक्क कस्नु भयो मैले स्वर्गीय आनन्द महसुस गरेर आमाको काखमा लुपुक्क टाँसिएँ।