जन्म मृत्यु कसैको हातमा हुँदैन, दैवले कतिबेला कसलाई चुड्छ ठेगान हुँदैन । दैवको यही लीलाको कारण २०७५ सालमा नेपालले केही विशिष्ट व्यक्ति गुमाएको छ ।
गोपाल पाठक
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन भयो । श्वासप्रश्वास, निमोनिया लगायतका स्वास्थ्य समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । उहाँको उपचारको क्रममा निधन भएको हो । १५ वर्षको उमेरमै राजनीतिमा प्रवेश गर्नुभएका अधिकारीले आधा शताब्दीभन्दा बढी समय नेपालको कम्युनिस्ट आन्दोलनमा सक्रियता साथ योगदान पु¥याउनु भयो । आन्दोलनका क्रममा चार वर्ष भूमिगत, तीन वर्ष निर्वासन र तीन वर्ष बन्दी जीवन बिताउनुभएको थियो । ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ र वृद्धभत्ताजस्ता लोकप्रिय आर्थिक तथा सामाजिक कार्यक्रमका सूत्रधार अधिकारीको ८२ बर्षको उमेरमा निधन भएको हो । अधिकारीका नेपालमा औद्योगिकीकरणका समस्या, मेरो जीवनयात्रा, मेरो जीवनयात्रा–भाग २ लगायत लेखरचना प्रकाशित छन्। ।
२०७५ फागुन १५ गते हेलिकोप्टर दुर्घटना पर्यटनमन्त्री रबिन्द्र अधिकारीसहित ७ जनाको निधन भयो । उहाँको पाथीभरा दर्शन गरेर फर्कनेक्रममा निधन भएको हो । दुर्घटनामा मन्त्री रवीन्द्र अधिकारीसँगै यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका स्वकीय सचिव अर्जुन दाहाल, मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुनकुमार घिमिरे, नेपाल नागरिक उड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, इन्जिनियर धुब्रदास भोछिभया र क्याप्टेन प्रभाकर केसीले जीवन गुमाउनु भयो ।
२०७५ असार ४ गते वरिष्ठ न्युरोसर्जन डाक्टर उपेन्द्र देवकोटाको निधन भयो । डा देवकोटा पित्तथैलीको क्यान्सरको बेलायतमा उपचार गर्दा पनि निको नभएपछि स्वदेशमा नै देहत्याग गर्ने इच्छाले जटिल अवस्थामै फर्कनु भएको थियो । स्वदेश फर्किएदेखि उहाँलाई आफैले स्थापना गरेको न्युरो अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सा क्षेत्रमा उहाँको योगदान अतुलनीय र स्मरणीय छ ।
पुस ३ गते पूर्वप्रधानमन्त्री तथा मन्त्रिपरिषद्का वरिष्ठ उपाध्यक्ष डा तुलसी गिरीको ९३ वर्षको उमेरमा निधन भयो । २०१७ सालमा राजाले जननिर्वाचित संसद र सरकारलाई भङ्ग गरी पञ्चायती व्यवस्था लागू गरेपछि नेपाली कांग्रेसका नेता गिरीलाई मन्त्रिपरिषद्को उपाध्यक्ष बनाइएको थियो । उहाँ पार्टी परित्याग गरी मन्त्रिपरिषदको उपाध्यक्ष बन्नुभएको थियो । उहाँ प्रधानमन्त्री समेत बन्नुभयो । २०४६ सालमा मुलुकमा बहुदलीय व्यवस्था आएपछि उहाँले केही दशक विदेशमा सुखसयलयुक्त जीवन बिताउनु भयो । २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले मुलुकको कार्यकारी अधिकार लिएपछि उहाँलाई विदेशबाट बोलाएर फेरि मन्त्रिपरिषद्को वरिष्ठ उपाध्यक्ष बनाइएको थियो । लामोसमय राजनीतिमा सक्रिय गिरी पछिल्लो समय कलेजोको क्यान्सर र हृदय रोगबाट पीडित हुनुहुन्थ्यो ।
२०७५ असोज २८ कांग्रेस नेता चक्र बास्तोलाको निधन भयो । २०६९ सालमा मोरङमा भएको कार्यक्रममा सहभागी हुँदा बास्तोलालाई मस्तिष्कघात भएको थियो । मस्तिष्कघात भएपछि उहाँलाई उपचारको लागि भारतका विभिन्न अस्पताल लगियो । तर निको भएन । लामोसमय अचेत अवस्थामा रहनु भयो । उहाँको अचेत अवस्थामै निधन भएको हो ।
२०७५ माघ १० गते मदन पुरस्कार बिजेता साहित्यकार मोहनराज शर्माको निधन भयो । ७८ वर्षीय प्राध्यापक तथा साहित्यकार शर्माकोे पहिलो प्रकाशित रचना २०१६ सालमा बिलू निबन्ध छ । शर्माका नाटक, समालोचना, कथा, व्याकरण लगायतका कृति प्रकाशित छन्। । नेपाली साहित्य उहाँको संक्षिप्त इतिहास समालोचना, जेमन्त र यमा, बैकुण्ठ एक्सप्रेस नाटक, कोर्रा कथा संग्रह लगायत कृति छन्। । शर्माले २०४२ सालमा मदन पुरस्कार प्राप्त गर्नुभएको थियो ।
२०७५ पुष १३ गते चर्चित लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन भयो । लोकप्रिय गायक लामिछानेको ६० वर्षको उमेरमा निधन भएको हो । लामिछानेको घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर, गाई त बाँध्ने पाटको दाम्लो, बाखरी बाखरी बाँध्ने डोरीले मैले के गर्नु, पिँडीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेरलगायतका गीत चर्चित छन् ।
फागुन ८ गते वरिष्ठ साहित्यकार एवं अन्वेषक शिव रेग्मीको ७८ वर्षको उमेरमा निधन भयो ।‘ नेपालमा आम सञ्चारको विकास ,२०५८’ नामक कृति प्रकाशित छन् । ‘भूपि शेरचनका कविता’, ‘गोरखापत्र सय वर्षका १०१ कथा’, ‘शारदाका सम्पादकीय विचारहरु’, ‘नेपाली क्रान्तिको भूमिकै भूमिका’, ‘शंकर लामिछानेका निबन्ध’, ‘कमल दीक्षितको दुष्टिः दृष्टिकोण’ लगायतका उहाँद्वारा सम्पादित कृति प्रकाशित छन । रेग्मी, गोरखादक्षिण बाहु र त्रिशक्ति पटबाट विभूषित हुनुहुन्छ ।
२०७५ कार्तिक १८ पूर्वमन्त्री एवं वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भयो । ७८ बर्र्षीय तुलाधर पछिल्लो समय मानवअधिकारको क्षेत्रमा क्रियासिल हुनुहुन्थ्यो ।
२०७५ साउन ६ गते विश्व हिन्दू महासंघका अन्तर्राष्ट्रिय अध्यक्ष भरतकेशर सिंहको निधन भयो । हृदयघात भएपछि सिंहलाई उपचारका लागि अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा निधन भएको हो ।
चैत्र २७ गते पूर्वसांसद उद्योगपति दिवाकर गोल्छाको ६७ वर्षको उमेरमा निधन भयो । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत भइसक्नु भएका गोल्छाले दुई दर्जन बढी उद्योग स्थापना गर्नुभएको छ ।
२०७५ भदौ १५गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन भयो । रेडियो नेपालका पहिलो गायक समेत रहेका रिमालको ‘फगत एक नजरमा कसैले लियो मन’ लगायत गीत सदाबहार छन् । उहाँ नेपाली नाटक र चलचित्र जगतका प्रख्यात अभिनेता तथा निर्देशक हुनुहुन्थ्यो । उहाँले ‘आमा’, ‘मनको बाँध’, ‘के घर के डेरा’, ‘सन्तान’, ‘मुकुन्द इन्दिरा’ जस्ता ऐतिहासिक नाटकमा अभिनय गर्नुभएको छ । रिमालको ९३ बर्षमा निधन भएको हो ।
माघ १८ गते नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बिएस राणाको ७९ वर्षको उमेरमा निधन भयो । २०४१ देखि नेपाली चलचित्रमा पनि अभिनय शुरु गर्नुभएका राणा, दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छायाँ–२, सेतो बाघ, हबल्दार, सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, दासढुङ्गा, बसन्तीगलगायतका चलचित्र तथा दर्जनौँ टेलिचलचित्रमा अभिनय गर्नुभएको छ ।
माघ ७ कलाकार गणेश मुनालको निधन भयो ।एक पल’, ‘सेतो बाघ’, ‘शिरीषको फूल’, ‘लभ लभ लभ’, ‘दिदीभाइ’ ‘मिस्टर डनड लगायतका चलचित्र र थुप्रे टेलिचलचित्रमा उहाँको अभिनय छ ।
साउन २५ गते साहित्यकार एवं रेडियोकर्मी दाहाल यज्ञनिधिको निधन भयो । मिर्गौला रोगबाट पीडित साहित्यकार यज्ञनिधिको उपचारको क्रममा निधन भएको हो ।
२०७५ जेठ ३० वरिष्ठ कलाकार भीमबहादुर थापाको ९३औँ वर्षका उमेरमा निधन भयो । थुप्रै चलचित्र, टेलिचलचित्र र रेडियो नाटकमा समेत अभिनय गर्नुभयो छन । दुई वर्ष बेलायती सेनामा काम गरेपछि नेपाली सेनामा समेत काम गरेका थापा पछिल्लो समय छाती, फोक्सो लगायत समस्याबाट ग्रसित हुनुहुन्थ्यो ।
२०७५ असोज २८ गते मिडिया संचालक हेमराज ज्ञवालीको निधन भयो । कान्तिपुर पब्लिकेशन्स ज्ञवालीकै अध्यक्षतामा मुलुककै उत्कृष्ट बन्न पुगेको हो । कान्तिपुरबाट आफ्नो सम्पूर्ण शेयर लिएर बाहिरिनु भएका ज्ञवालीले त्यसपछि नागरिक दैनिक तथा रिपब्लिका खोल्नु भयो ।