हुमाकान्त पोखरेल
गुल्मी । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले आगामी आर्थिक वर्षबाट बृद्ध र विदुवा भत्ता बृद्धि गर्ने बताउनुभएको छ । जेठ १५ गते सरकारले बजेट प्रस्तुत गर्ने र बजेटमा सामाजिक सुरक्षा भत्ता बृद्धि गर्ने निर्णय गरिएको उनले जानकारी दिनुभयो ।
गुल्मीको धुर्कोट गाउँपालिका ३ हाडहाडेस्थित स्टार युवा क्लवद्धारा आयोजित भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । ‘निर्वाचनका बेला पनि भत्ता बढाउने प्रतिवद्धा जायर गरेको बिर्सेका छैनौ ।’ उहाँले भन्नुभयो, ‘विशेष कारणबस यस आर्थिक वर्ष बढ्न सकेन, अर्को आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्तामा बृद्धि हुनेछ ।’ तर कुन शीर्षकमा कति भत्ता बढ्ने भन्नेबारे भने उहाँले केही भन्नुभएन । आर्थिक वर्ष २०७५÷७६ बाट लागू हुनेगरी सरकारले सामाजिक सुरक्षा भत्तामा बृद्धि गर्न लागिरहेको उहाँले जानकारी दिनुभयो । मन्त्री विष्टले केही समयभित्रै देशका सबै किसान तथा नागरिकसम्म पेन्सनको व्यवस्थासहित सरकारले कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभयो ।
श्रमिकहरुको लागि सामाजिक सुरक्षाअन्तर्गत बीमा कार्यक्रम शुरु गरेको सरकारले अब छिट्टै किसान हुँदै आम नागरिकसम्म भविष्यमा पेन्सन हुनेगरी बीमा कार्यक्रम शुरु गर्न लागेको उहाँले बताउनुभयो । ‘निर्माण क्षेत्रमा काम गर्ने श्रमिकहरु दुर्घटनामा पर्दा वा बिरामी हुँदा वा बृद्धअवस्थामा जिविकोपार्जका लागि पेन्सन हुनेगरी सामाजिक सुरक्षा कार्यक्रम शुरु गरेका छौ ।’ मन्त्री विष्टले भन्नुभयो, ‘अब छिट्टै किसान र सबै नागरिकसामु यस्तै प्रकारको सामाजिक सुरक्षा कार्यक्रम ल्याउने सरकारको योजना छ ।’
एक स्थानीय तहमा कम्तिमा ३०० रोजगारी
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले एउटा स्थानीय तहमा कम्तिमा १५० जनालाई रोजगार दिनेगरी सरकारले योजना बनाइरहेको बताउनुभएको छ । ‘यो बर्ष एक स्थानीय तहमा कम्तिमा १५० जनालाई रोजगारी दिनेगरी सरकारले काम अगाडि बढाएको छ ।’ उहाँले भन्नुभयो, ‘अर्को वर्षबाट यो सङ्ख्यालाई बढाएर ३०० मा पु¥र्याउनेछौँ ।’ यसको लागि प्रत्येक स्थानीय तहमा एउटा रोजगार केन्द्र स्थापना गरी बेरोजगारीहरुको फारम वडा कार्यालयमार्फत् भर्न लागिएको जानकारी दिनुभयो ।
नेपालको इतिहासमै पहिलो पटक बेरोजगार युवाहरुको पक्षमा महत्वपूर्ण काम यो सरकारले गर्न लागेको उहाँले दाबी गर्नुभयो । यसरी सबैलाई रोजगारीको व्यवस्था गरेपछि मात्र नेपालमा गरिबीको सङ्ख्या न्यूनिकरण हुने उहाँको भनाइ छ ।
देशमा महत्वपूर्ण विकासका योजना
मन्त्री विष्टले अहिलेको सरकारले देशमा महत्वपूर्ण विकासका योजना अघि सारेको दाबी गर्नुभएको छ । मेचीदेखि महाकालिसम्म, चीन र भारतको सिमानादेखि काठमाडौंसम्म रेल ल्याउन सरकार लागिपरेको पनि उहाँले बताउनुभयो । त्यस्तै नेपालमा पानीजहाज ल्याउनका लागि पनि आवश्यक धेरै काम गरिएको उहाँले बताउनुभयो । गुल्मीको सन्दर्भमा पूर्वी नेपालको इलामबाट गुल्मी हुँदै पश्चिम नेपालसम्म जोड्ने करिब एक हजार ६०० किलोमिटर सडक निर्माण गर्ने सरकारको योजना रहेको उहाँले सुनाउनुभयो । करिब एक खर्ब लाग्ने यो योजना सम्पन्न गरेमा गुल्मीलगायतका पहाडी क्षेत्रबाट बसाईसराई गरेर जाने दरमा धेरै कमी आउने मन्त्री विष्टको भनाइ छ ।