हक्कीः प्रहरी समूह विजेता
काठमाडौं । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १८ औं राष्ट्रिय हक्कीको पुरुषमा नेपाल प्रहरी समूह ‘ए’ को विजेता हुँदै आइतबार सेमिफाइनलमा प्रवेश गरेका छ ।
हक्कीमा पहिलो पटक सहभागी प्रहरीले डिफेन्डिङ च्याम्पियन नेपाल आर्मीलाई २–१ गोलले पराजित गर्यो । विजेताका मनोज चौधरी र सागर आचार्यले गोल गरे । आर्मीका दीपेन्द्र ऐरले १ गोल फर्काए । समूह ‘बी’ बाट प्रदेश ७ उपविजेताका हैसियतले सेमिफाइनलमा पुगेको छ । प्रदेश ७ ले प्रदेश १ लाई ३–१ गोलले हरायो । विजयी टिमका लागि दीपकराज जोशीले २ तथा सुमितकुमार कामीले १ गोल गरे । प्रदेश १ का मनीष मगरले १ गोल फर्काए । गण्डकी प्रदेशले प्रदेश ३ लाई २–० ले हराउदा प्रेम विक र प्रदीप नेपालीले १–१ गोल योगदान गरे । यो समूहबाट प्रदेश ५ विजेतका रुपमा सेमिफाइनलमा पुगिसकेको छ । महिलामा गण्डकीले प्रदेश १ लाई ४–० ले पन्छायो । मिना परियारले २ तथा देवीका विक र कमला रोकाले १–१ गोल गरे । अर्को खेलमा प्रदेश ७ ले प्रदेश ३ माथि १०–० को सहज जित रच्यो । निकिता पाण्डेले ४, अनु गुरुङले ३, समरा भट्टले २ र सुनिता नेगीले १ गोल गरे ।
लङटेनिसः एपीएफलाई थप दुई स्वर्ण
रुपन्देहीमा जारी आठौं राष्ट्रिय खेलकुद अन्तर्गत लङ टेनिसमा एपीएफ क्लबले दुई स्वर्ण थपेको छ। देविनगरस्थित लङ टेनिस कोर्टमा आईतबार भएको महिला युगल र पुरुष युगलमा एपीएफले स्वर्ण जितेको हो ।
महिला युगलको फाईनल खेलमा एपीएफकी सलोनी तामाङ र अस्लेशा लिसानोविचको जोडिले प्रेरणा कोईराला र ऐनी माथेमाको जोडिलाई ६–१, ६–२ को सोझो सेटमा पराजित गर्दै स्वर्ण हात पारेको हो । यसैगरि नेपाली सेनाकी अभिलाषा विष्ट र ईरा रावत तथा क्षेत्र नम्बर ४ कि श्रेया भट्टराई र रोजिता बुद्धाचार्यको जोडी तेस्रो हुदै कास्य पदकमा चित्त बुझाएका छन ।
यसैगरि पुरुष युगलमा एपीएफका आईभन लिसानोविच र जितेन्द्र परियारको जोडीले प्रदेश नं ४ का प्रदिप खड्का र नवीन मगरको जोडिलाई ६–२, ६–४ को सोझो सेटमा पराजित गर्दै जिते हासिल गरेका हुन्। यसैगरि धर्म लामिछाने र अनिल शाही तथा छेवाङ लामा र सन्तोष खत्रीको जोडी तेस्रो हुँदै कास्य पदक पाएका छन ।
पुरुष एकलतर्फ आईतबार भएको पहिलो सेमीफाईनल खेलमा एनआरएनका संरक्षणभुषण बज्राचार्यले एपीएफका सन्तोष खत्रीलाई ६–०, ६–३ को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन । यसैगरि अर्को सेमीफाईनलमा नेपाली सेनाका प्रनव खनालले प्रदेश नम्बर ४ का प्रदिप खड्कालाई ६–३, ७–५ को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन ।
यसैगरि महिला एकलतर्फको पहिलो सेमीफाईनलमा नेपाली सेनाका अभिलाषा विष्टले प्रदेश नम्बर ३ का रायना शाहलाई ६–२, ६–० को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन । यसैगरि दोस्रो सेमीफाईनल खेलमा एपीएफकी प्रेरणा कोईरालाले नेपाली सेनाकी ईरा रावतलाई ६–०, ५–७, ६–२ को जित निकाल्दै फाईनलमा प्रवेश गरेका छन ।
स्क्वासः कृष्णाको चौथो जित
आठौंअन्तर्गत ११औं राष्ट्रिय स्क्वासको महिला राउन्ड रोविन लिगमा गण्डकी प्रदेशकी कृष्णा थापाले लगातार चौथो जित हात पारेकी छन् ।
कृष्णाले प्रदेश ३ की विपना ब्लोनलाई ३–११, ११–६, ११–७, ७–११ र ११–६ को सेटमा पराजित गरिन् । ६ खेलाडी सहभागी राउन्ड रोविन लिगमा डिफेन्डिङ च्याम्पियन प्रदेश ३ की भावना सुनुवारले चारै खेल जितेकी छन् । अब सोमबार हुने कृष्णा र भावनाबीचको खेलले उपाधि विजेताको टुंगो लाग्ने छ ।
पुरुष टिममा प्रदेश ३ ले एपीएफ तथा गण्डकीले प्रदेश १ लाई समान २–० को सोझो सेटमा पाखा लगाउदै उपाधि भेट पक्का गरे । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।
जुडोः मनीतालाई स्वर्ण
आठौंअन्तर्गत १६औं राष्ट्रिय जुडोको पहिलो दिन प्रहरीकी मनीता श्रेष्ठ प्रधानले स्वर्ण जितेकी छन् ।
महिला ५७ केजीमुनि फाइनलमा मनीताले प्रदेश ३ की कविता नेपालीलाई पराजित गरिन् । प्रदेश ३ की देवकीमाया श्रेष्ठ र गण्डकीकी सुमी थापा तेश्रो भए ।
महिला ४८ केजीमुनि प्रदेश ५ की सोनिया भट्टले एपीएफकी धनदेवी रोकायालाई हराउदै पहिलो भइन् । प्रदेश ५ की सारदाकुमारी खत्री र प्रहरीकी रत्ना तामाङ तेश्रो भए । ७० केजीमुनि प्रहरीकी निशा चौधरी पहिलो भइन् । फाइनलमा निशाले आर्मीकी विनिता मगर खत्रीको चुनौती पन्छाइन् । प्रदेश ३ की रञ्जना खड्का तथा आर्मीकी रचना श्रेष्ठ संयुक्त रुपमा तेश्रो बने ।
पुरुष ६० केजीमुनि प्रहरीका उमेर मगरले बाजी मारे । उनले फाइनलमा आर्मीका कर्मा तामाङलाई पन्छाए । एनआरएनका मोहन बम तथा प्रहरीका सुदेश दोङले तेश्रो स्थानमा चित्त बुझाए । ६६ केजीमुनि फाइनलमा प्रहरीका इन्द्रबहादुर श्रेष्ठले प्रदेश ३ का सुनील नगरकोटीमाथि जित दर्ता गर्दै स्वर्ण जिते । एपीएफका निर्दोष चलाउने तेश्रोमा सीमित भए ।
पुरुष ८१ केजीमुनि आर्मीका पवनकुमर श्रेष्ठ तथा १०० केजीमाथि प्रहरीका राजन जोशीले पहिलो स्थान कब्जा गरे । फाइनलमा पवनले प्ररहीका मनीष महतो तथा राजनले प्रणितसिंह ठकुरीलाई पाखा लगाए । ८१ केजीमा एपीएफका लेलिन डंगोल र प्रदेश २ का गुड्डुकुमार सकानु तथा १०० केजीमाथि सुदूरपश्चिम प्रदेशका आशिष ओझा तेश्रो स्थानमा रहे ।
बास्केटबलः प्रदेश ५ लाई सफलता
आठौंअन्तर्गत १५औं राष्ट्रिय महिला बास्केटबलमा प्रदेश ५ ले जित हात पारेको छ ।
प्रदेश नम्बर ५ ले प्रदेश १ लाई २७–२४ को झीनो अन्तरले पराजित ग¥यो । विजयी टिमका लागि अस्मिता भुजेलले ८ अंक जोडिन् ।
अन्य लिगमा प्रदेश ३ ले सुदूरपश्चिम प्रदेशलाई ५७–३३, प्रहरीले प्रदेश ४ लाई ६८–४३ र आर्मीले एपीएफलाई ४४–३७ ले हराए । प्रदेश ३ की सदीना श्रेष्ठले १७, प्रहरीकी अनुषा मल्लले १६ र आर्मीकी मिना गुरुङले ९ अंक जोडे ।
पुरुषमा प्रदेश नम्बर ५ ले प्रदेश ६ लाई ६७–२८, प्रदेश ४ ले प्रदेश २ लाई १०४–२९, प्रदेश ३ ले प्रहरीलाई ७७–६६ र प्रदेश १ ले प्रदेश ७ लाई ७०–४० ले पाखा लगाए । प्रदेश ५ का रोहित बरालले २३, प्रदेश ४ का जिमेन पुनले २४, प्रदेश ३ का राजीव जोशीले १९ र प्रदेश १ का विवेकमणि श्रेष्ठले १९ स्कोर गरे ।