काठमाडौं । वरिष्ठ जनगायक प्रचण्डबहादुर बुढाथोकी मगरको निधन भएको छ ।
निमोनिया र जण्डिसबाट ग्रसित बुढाथोकीको ८३ वर्षको उमेरमा आइतबार भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो ।
जनसांस्कृतिक महासङ्घका संंस्थापक सदस्य तथा कम्युनिष्ट आन्दोलनका योद्धा जनगायक बुढाथोकीको पार्थिव शरीरलाई आज त्रिवेणीघाट नवलपरासीमा दाहसंस्कार गरिएको छ ।
नेपाली कला र साहित्य क्षेत्रका वरिष्ठ सर्जक बुढाथोकीका दुई श्रीमती, ६ छोरी र चार छोरा हुनुहुन्छ । कवि, लोकसाहित्यकार, व्याकरणकार एवं गीतकार बुढाथोकी पूर्वसांसद तथा कलाकार सिन्धु जलेसाका पिता हुुनुुहुन्थ्यो । नेपाली मौलिक कला र साहित्य क्षेत्रमा उहाँको विशिष्ट योगदान रहेको छ । उहाँका एक दर्जन बढी गीत तथा कविता प्रकाशित छन् ।
यो देशको हालचाल कस्तो छ, छाति पिटि रोइरहने जस्तो छ, नेपाली बिरै हो भने बोक्दैन भाडाको बन्दुक, मरे पनि हजुर गाउने छू, नेल पहिरे पहिरुलानि आमा, यो देशमा नलडी छोड्दिन, कहाँ गयो गैराको साइलो, यो देशमा हुदैछ रमाइलोलगायतका राष्ट्र बोकेका गीतका सर्जक हुनुहन्थ्यो प्रचण्डबहादुर बुढाथोकी ।
याे पनि सुन्नुहाेस्ः
रेडियो जनता ८९.१ मेगाहर्जमा हरेक बिहीबार राति ८ बजे प्रसारण हुने कार्यक्रम ‘सिमली छाया’मा अघिल्लो हप्ता प्रसारित शृंखलामा प्रस्तोता रामकुमार एलनले जनगायक प्रचण्डबहादुर बुढाथोकीसँग गर्नु भएको कुराकानी ।