जाेसेफ शाही
काठमाडौं । जनताका दुख, पीडा सपाटसँग गीतमा उतार्दै अन्याय अत्याचारविरुद्ध आवाज बुलन्द गर्ने वरिष्ठ जनगायक प्रचण्डबहादुर बुढाथोकीको निधन भएको छ ।
बुढाथोकीले गीत गाउन थालेपछि बस्ती जागृत हुन्थ्यो । समकालीन युवा राजनीतिमा आउनुमा बुढाथोकीको जोशिलो गीत र रागले काम गथ्र्यो । आवाज रहुन्जेल जनताका अधिकार स्थापनार्थ सक्रिय बुढाथोकीले जनताको त अथाह माया पाए । राज्यका तर्फबाट भने उनको हात, काँध र शिरमा कुनै सम्मानको सिन्दुर परेन ।
केही समयअघि दिवंगत वरिष्ठ लोकगायक बुद्धिकृष्ण लामिछानेकाे उपचार नपाएर प्राणपखेरु उड्यो । लोकगायकले गाउने गीत र नेताले गर्ने भाषणमा नेताकै महत्ता देख्ने राज्यले जनकलाकारलाई गर्ने व्यवहारमा आचरण सुधार्न नसकेको प्रष्टै देखिन्छ ।
सिलसिला वरिष्ठ जनगायक बुढाथोकीसँग पनि जोडिन्छ । उहाँका गीतले जागरण, प्रगति र क्रान्तिको रक्तसञ्चार गथ्र्यो । राज्यसत्ताविरुद्ध बुढाथोकीका स्वर शब्दले समाजवाद अभियन्ताहरुलाई अजेय शक्ति दिन्थ्यो ।
को हुन् जनगायक प्रचण्ड ?
वरिष्ठ जनगायक प्रचण्डबहादुर बुढाथोकी १९९४ मा लुम्बिनीको अर्घाखाँचीमा भएको हो । बुवा छबिलाल र आमा तुलसीको पहिलो सन्तान प्रचण्ड बसाइँसराइक्रममा २०३४ देखि नवलपरासीको बर्दघाट–२ मा बस्नु हुन्थ्यो । उहाँका दुई श्रीमतीमध्ये जेठी कौशिलादेवी र कान्छी पुण्यकलाबाट ४ छोरा र ६ छोरी छन् । २६ नातिनातिनी छन् ।
जनसांस्कृतिक महासंघका संस्थापक सदस्य तथा कम्युनिस्ट आन्दोलनका योद्धा बुढाथोकीको नेपाली मौलिक कला र साहित्यमा उल्लेख्य योगदान छ । कवि, लोकसाहित्यकार एवम् गीतकार बुढाथोकीका एक दर्जन भन्दा बढी गीत तथा कविता प्रकाशित छन् ।
यो देशको हालचाल कस्तो छ, छाति पिटी रोइरहने जस्तो छ, नेपाली वीरै हो भने बोक्दैन भाडाको बन्दुक, मरे पनि हजुर गाउनेछु, नेल पहिरे पहिरुँलानि आमा, यो देशमा नलडी छाड्दिनँ, कहाँ गयो गैराको साइलो, यो देशमा हँुदैछ रमाइलो, कमाइ खान्छन् ज्युँदा हाम्रा देउताले, हाम्री सासु अलच्छिनी दिन भरी बसेर, रातिको १२ बजे भान्सा पसेरलगायतका राष्ट्र बोकेका गीतका सर्जक हुनुहुन्छ बुढाथोकी ।
पञ्चायतदेखि २०६२/६३ को जनआन्दोलनमा घोक्रो सुकाएर जनताका आवाज बुलन्द पार्ने जनगायक अझै पनि जनताकै खातिर सिर्जनामा अहोरात्र जुटेका छन् । रामेश, रायन, मञ्जुल, जेबी टुहुरे, श्याम तमोट, जीवन शर्मा, शम्भु राई, जीवन राईलगायतका जनवादी गायक, साहित्यकारलाई राज्यले सम्मान गर्न सकेको छैन । एउटा अग्रज जनवादी स्रष्टा प्रचण्ड बुढाथोकीको जीवन जनताका लागि गायरै बित्यो । सुकुम्बासी बस्तीमा बित्यो । कलाकारप्रति राज्य कहिले जिम्मेवार बन्ला ?