लनटेनिसः संरक्षकले दिलाए एनआरएनएलाई पहिलो स्वर्ण
काठमाडौं । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १५औं राष्ट्रिय लनटेनिस प्रतियोगितामा एनआरएनए (अस्ट्रेलिया)का संरक्षकभूषण वज्राचार्यले टोलीलाई सोमबार पहिलो स्वर्ण दिलाएका छन् ।
बुटवलमा भएको पुरुष सिंगल्स फाइनलमा संरक्षकले आर्मीका प्रणव खनाललाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरे । गण्डकीका प्रदीप खड्का र एपीएफका सन्तोष खत्री तेश्रो भए ।
महिला सिंगल्सको उपाधि एपीएफकी प्रेरणा कोइरालाले जितिन् । फाइनलमा प्रेरणाले नेपाल आर्मीकी अभिलाषा विष्टलाई ६–० र ६–२ को सीधा सेटमा हराइन् । आर्मीकी इरा रावत र प्रदेश ३ की रायना शाह संयुक्त रुपमा तेश्रो भए ।
हक्कीः रमनको ह्याट्रिकमा पुलिसको सहज जित
रमनको ह्याट्रिक मद्दतमा नेपाल पुलिस आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष हक्कीको सेमिफाईनलमा प्रवेश गरेको छ ।
सोमवार मंगल माबिमा भएको अन्तिम लिग खेलमा रमन रानाको चार गोलको मद्दतले पुलिसले प्रदेश २ माथि ६–० को फराकिलो जित निकालेको छ । खेलको २१औं मिनेटमा टिमलाई अग्रता दिलाएका रमनले ३६औं र ४५औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । ह्याट्रिक गरेलगत्तै ४७औं मिनेटमा चौथो गोल गरेपछि उनले टिमलाई मजबुत अवस्थामा पु¥याएका हुन् । यसैगरी टिमका लागि खेलको ३८औं मिनेटमा योगेश कुमार बालझारे र ५३औं मिनेटमा केशवराज जोशीले समान १–१ गोल थपेका थिए ।
समूह ‘ए’ मा चार अंक रहेको प्रदेश २ का लागि उपबिजेताको रुपमा सेमिफाईनल प्रवेश गर्न पुलिसलाई कम्तिमा पनि ५ गोल अन्तरले हराउनु पर्ने समिकरण बनेको थियो । सेमिफाइनल प्रवेशका लागि खेलको नतिजामा भर परेको आर्मी प्रदेश २ को हारसंगै उपविजेताको रुपमा सेमिफाइनल पुगेको छ । समूह ‘ए’ को विजेता पुलिसले समूह ‘बी’ को उपविजेता सुदूरपश्चिम प्रदेशसँग तथा समूह ‘बी’ को विजेता प्रदेश ५ ले आर्मीसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
साइक्लिङः ओकश र लक्ष्मी पहिलो
आठौंअन्तर्गत राष्ट्रिय साइक्लिङको पुरुष प्रतिस्पर्धामा आर्मीका ओकेशराज वज्राचार्य तथा महिलामा प्रदेश ३ की लक्ष्मी मगरले स्वर्ण जितेका छन् ।
गाभरमा भएको प्रतियोगितामा ४ दशमलव ६ किलोमिटरको ५ ल्याप ओकेशले १ घण्टा २५ मिनेट ०९ सेकेन्डमा पूरा गरे । आर्मीका हिमाल टमाटा (१ घण्टा २६ मिनेट ०६ सेकेन्ड) दोश्रो तथा गण्डकीका हिक्मत विक (१ घण्टा २६ मिनेट ४४ सेकेन्ड) तेश्रो भए ।
४दशमलव ६ किलोमिटरको ४ ल्याप लक्ष्मीले १ घण्टा २० मिनेट ५२ सेकेन्डमा पार गरिन् । गण्डकीकी उषा खनाल (१ घण्टा ३३ मिनेट ३८ सेकेन्ड) दोश्रो तथा प्रदेश ३ की निर्जला ताम्राकार (१ घण्टा ३५ मिनेट ५६ सेकेन्ड) तेश्रो स्थानमा रहे । एकदिने क्रस कन्ट्री साइक्लिङमा ६ प्रदेशबाट ३० पुरुष र १२ महिला खेलाडी सहभागी थिए ।
बास्केटबलः सेमिफाइनल समीकरण पूरा
आठौंअन्तर्गत १५औं राष्ट्रिय महिला बास्केटबलको सेमिफाइनल समीकरण सोमबार पूरा भएको छ । सेमिफाइनल प्रदेश ३ र आर्मी तथा सुदूरपश्चिम प्रदेश र प्रहरीबीच हुने भएको छ ।
लिगको अन्तिम दिन प्रदेश ३ ले प्रदेश ५ लाई ४७–१२, आर्मीले प्रदेश ४ लाई ५९–३१, सुदूरले प्रदेश १ लाई ३३–२९ र प्रहरीले एपीएफलाई ५७–३५ ले हराए । प्रदेश ३ कि सदिना श्रेष्ठले १३, आर्मीकी सुमन्ता खड्काले १५, प्रदेश ७ कि अनिता भण्डारीले १७ र प्रहरीकि एलिशा मल्लले १५ स्कोर गरे ।
पुरुषतर्फ प्रदेश ३, आर्मी, प्रहरी र गण्डकी सेमिफाइनलमा पुगे । प्रदेश ३ ले एपीएफलाई ६०–५१, आर्मीले प्रदेश १ लाई ७६–५५, प्रहरीले प्रदेश ५ लाई ६८–४२ र गण्डकीले सुदूर पश्चिम प्रदेशलाई ७७–४४ ले हराए । प्रदेश ३ का सदिश प्रधानले १९, आर्मीका आयुश सिंहले १६, प्रहरीका रितेश मगरले १७ र गण्डकीका सुदीप कार्कीले २१ अंक जोडे । सेमिफाइनलमा प्रहरीको भेट आर्मीसँग हुनेछ भने प्रदेश ३ ले गण्डकी विरुद्ध खेल्नेछ ।
स्क्वासः कृष्णाद्वारा भावना पराजित
आठौंअन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको महिला सिंगल्समा गण्डकी प्रदेशकी कृष्णा थापाले स्वर्ण जितेकी छन् ।
ललितपुरको सातदोबाटोस्थित स्क्वास एकेडेमीमा भएको राउन्ड रोविन लिगको फाइनल सरह प्रतिस्पर्धामा कृष्णाले डिफेन्डिङ च्याम्पियन प्रदेश ३ की भावना सुनुवारलाई ७–११, ११–५, १३–११, ७–११ र ११–७ को सेटमा पराजित गरिन् । ६ खेलाडी सहभागी लिगमा यो खेलअघि कृष्ण र भावनले समान ४–४ खेल जितेका थिए ।
पुरुष सिंगल्समा कृष्णाका भाइ अमृत थापा मगर च्याम्पियन बनिसकेका छन् । विपना ब्लोन र स्वास्थानी श्रेष्ठ तेश्रो भए । दुवै प्रदेश ३ का हुन् । पुरुष टिममा प्रदेश ३ पहिलो भयो । फाइनलमा प्रदेश ३ ले गण्डकीलाई २–१ ले हरायो । प्रदेश १ र एपीएफ संयुक्त रुपमा तेश्रो भए ।
जुडोः दोश्रो दिन आर्मीलाई पाँच स्वर्ण
आठौंअन्तर्गत १६ औं राष्ट्रिय जुडोको दोश्रो दिन आर्मीले ४ स्वर्ण जितेको छ । दोश्रो दिन ७ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा प्रहरीले २ तथा एपीएफले १ स्वर्ण जिते ।
पुरुष ७३ केजीमुनि प्रहरीका सन्जित डंगोल पहिलो भए । सन्जितले फाइनलमा आर्मीका जंगबहादुर सारुलाई पराजित गरे । ९० केजीमुनि प्रहरीका श्रीराम मकाजुलाई हराउदै आर्मीका सूर्यमान लामाले स्वर्ण जिते । १०० केजीमुनि फाइनलमा प्रहरीका रविन श्रेष्ठले आर्मीका रमेशबहादुर चन्दलाई पाखा लगाउदै स्वर्ण जिते ।
महिला ७८ केजीमुनि आर्मीकी आकृति जोशी, ५२ केजीमुनि एपीएफकी देविका खड्का, ६३ केजीमुनि आर्मीकी निर्मला घर्ती मगर र ७८ केजीमुनि आर्मीकी पुनम श्रेष्ठ पहिलो भए । फाइनलमा आकृतिले प्रदेश ५ की दीपा गुरुङ, देविकाले प्रहरीकी दिलकुमारी छन्त्याल, निर्मलाले प्रहरीकी रेणुका थापा र पुनमले प्रदेश ५ की सम्झना चौधरीलाई पाखा लगाए ।
गल्फः
आठौं राष्ट्रिय अन्तर्गत राष्ट्रिय गल्फ प्रतियोगिता गोकर्ण गल्फ क्लबमा आजदेखि शुरू भएको छ । व्यक्तिगततर्फ टंकबहादुर कार्की ३ स्ट्रोकको अग्रतासहित शीर्षस्थानमा रहेका छन् । उनले सानदार सुरुवात गर्ने क्रममा ५ अन्डर ६७ अंक जोडी दाबेदार शुक्र बहादुर राईलाई ३ स्ट्रोकलेपछि पारेका हुन् । टंकले फ्रन्ट नाइन ३ अन्डर ३३ र बयाक नाइन २ अन्डर ३४ मा पुरा गरे । शुक्र २ अन्डर ७० को नतिजामा दोस्रो स्थानमा रहेका छन् । युवा खेलाडी सुबाष तामाङ र अजित बिके १ ओभर ७३ अंककासाथ संयुक्तरुपमा तेस्रो स्थानमा रहे ।
महिलातर्फ १६ ओभर ८८ अंककासाथ प्रतिभा राई शीर्षस्थानमा रहदा कश्मिरा शाहलाई ५ स्ट्रोकले पछि पारिन । टिम ईभेन्ट्समा प्रदेश एक १४४ अंकसहित पहिलो स्थानमा र सेना १५० अंककासाथ दोस्रोस्थानमा रहेका छन । तीन दिनदम्म चल्ने प्रतियोगितामा ३४ पुरूष र ६ महिलागरी कुल ४८ खेलाडीको सहभागिता रहेको छ । दुई महिला खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन् ।