काठमाडौं । ‘केही दिनअघिको घटना हो, राति साढे ९ जति बजेको थियो होला । बहिनी र म गफ गर्दै सुतिरहेका थियौं । एक्कासि कसैले ढोका ढक्ढक्यायो । हामी आत्तियौं । मैले डराई–डराई ‘को हो’ भनें । बाहिरबाट केटा मान्छेले ‘म हो, रक्सी खान आएको’ भन्यो । ‘हाम्रो त रक्सी बेच्ने घर होइन’, भनें । ‘माथिल्लो घरको दाइ हो क्या म, ढोका खोल्’ भन्यो ।
अनि मैले बिस्तारै ढोका खोलेर हेरेको मात्र थिएँ, क्य्राक गाउँको केटा रहेछ । घरभित्र छिर्यो र मेरी बहिनीलाई जबरजस्ती तानेर बाहिर लग्यो । बाहिर उसको गाउँका केटा टन्नै रहेछन् । त्यसपछि मैले आमा र भाइलाई बोलाएँ । हामीले यतातिर, उनीहरूले उतातिर, एकछिनसम्म बहिनीलाई तानातान भयो । भर्खरसम्म सँगै सुतिरहेकी बहिनीलाई उनीहरूले तानेर लगे । आमा र भाइ धेरै टाढासम्म पछिपछि गएर केके समझदारी गरेर बहिनीलाई छुटाएर ल्याए । अहिले बहिनी भागेर काठमाडौं गएकी छ । उतै काम खोज्दै होली ।’
ह्यास ट्याग मीटु प्रयोग गर्ने दुनियाँलाई यो एकादेशको कथा जस्तो लाग्न सक्छ । तर, यो राजधानीबाट १४२ किलोमिटर पर गोरखाका ५० देखि ५५ कोस टाढा रहेका हिमाली गाउँको ताजा घटना हो ।
लामो समय लेबनान बसेर फर्केकी सोही ठाउँकी अर्की किशोरीलाई पनि केही समयअघि यसैगरी स्थानीय एक युवाले तानेर लगे । उनी उम्केर भाग्न सकिनन् । केही दिनसम्म घरभित्रै थुनिएर बस्नुपर्यो । अनि दाजुभाइको साझा दुलही भइन् । घरबाट भाग्ने मौका पाएपछि काठमाडौं गइन् । उतैबाट विदेश लागिन् ।
उनीहरूको मात्र पनि होइन, उत्तरी गोरखाका दुई दर्जन गाउँबस्तीका चेलीसँग यस्ता दर्दनाक कथाव्यथा छन् । चुमनुब्री गाउँपालिकाअन्तर्गत साबिकका बिही, प्रोक, ल्हो, सामागाउँ, सिर्दिबास क्षेत्रमा जबरजस्ती तानेर बिहे गर्ने परम्परा पुस्तौंदेखि कायम छ ।
चिनेको होस् वा नचिनेको होस्, मन परेको होस् वा नपरेको होस्, केटाले मन पराएपछि जबरजस्ती तानेर दुलही बनाउने चलन रहेको वडा नम्बर ४ का अध्यक्ष पेमाडुण्डुप लामा बताउँछन् । ‘यस्तो चलन बिहीमा अल्लि बढी छ । प्रोकमा पनि छ । अलिअलि त ल्हो, सामागाउँ र सिर्दिबासमा पनि छ’, उनले भने, ‘यो राम्रो चलन होइन, हटाउनुपर्छ ।’ यसबारे आफूले जनचेतना जगाउने उनको भनाइ छ ।
युवाहरूले तानेर जबरजस्ती दुलही बनाउने (कु) प्रथाका कारण यस भेगका किशोरी असुरक्षित महशुस गर्छन् । मञ्जुरीबिना जबरजस्ती तानेर लाने र त्यसलाई ‘मौलिक परम्परा’ ठानेर नयाँ पुस्ताले पनि चुपचाप सहिदिँदा महिलाहरू आफ्नै घर, बाटो, पानीघट्ट, खेतबारीलगायत जहाँतहीं असुरक्षित रहेको शिक्षिका छिरिङ याङ्जोम बताउँछिन् । ‘घरमा बसिरहेको बेला होस् वा खेतबारीमा काममा जाँदा, पानीघट्टमा जाँदा, गुम्बामा जाँदा, मेलाजात्रातिर जाँदा जहाँबाट, जतिबेला पनि तान्न सक्छन्’, उनी भन्छिन्, ‘देशको नियमकानुन पनि लाग्दैन । त्यसैले हाम्रो गाउँका छोरीचेलीलाई कहीं पनि सुरक्षा छैन ।’ समाचार अन्नपूर्ण पोस्ट दैनिकले प्रकाशित गरेको छ ।