सुखिलाल चौधरी
उदयपुर । मंगलबार रातभरि आएको भीषण हावाहुरी र चट्याङको कारण उदयपुरमा एक जनाको मृत्यु भएको छ । रातको १० बजेदेखि १२ बजेसम्म दुई घण्टा आएको भीषण हावाहुरी र चट्याङबाट कटारी नगरपालिका ८ बबलाका ३७ वर्षिय कालीमाया आले मगरको मृत्यु भएको हो ।
मगर घरमा नै बसिरहेको अवस्थामा हावाहुरीसँगै आएको चट्याङले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख (एसपी) चन्द्रदेव राईले बताउनुभयो । मगरको शव परिक्षणको लागि कटारी अस्पताल लगिएको प्रहरी प्रमुख राईले बताउनुभयो ।
![](https://45.77.241.73/wp-content/uploads/2019/04/Huri_Editedd.jpg)
हावाहुरीका कारण जिल्लाको त्रियुगा नगरपालिका, कटारी, चौदण्डी तथा बेलकाका विभिन्न स्थानमा आधा दर्जन भन्दा बढी घरको छानो उडाएको प्रारम्भिक सूचना आएको प्रहरीले जानकारी दिएको छ । हावा हुरीले त्रियुगा नगरपालिका ३ स्थित चाँपका कोकाई दास चौधरीको घरको छानो, अन्नपात्त उडाएको छ । हावाहुरीबाट करिव अढाई लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।
यस्तै त्रियुगा बस पार्कमा निर्माण भएको बस काउण्टरको छानो समेत हुरिले उडाएको छ । पाँच वर्ष अगाडी शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सप्तरीद्वारा निर्मित टिकट काउण्टरको भवनको छानो उडाएर ५० मिटर टाढा पुर्याएको मजदुर नेता दिल बहादुर तामाङले बताउनुभयो । उनका अनुसार छानो उडाउँदा तीन वटा मजदुर संगठनहरुको कागजपत्र समेत भिजेर नष्ट भएका छन् ।
![](https://45.77.241.73/wp-content/uploads/2019/04/Huri_Edited.jpg)
हावाहुरीले त्रियुगा बस पार्क, जलजले र मुर्कुचीमा विद्युतको पोल ढलेर विद्युत अवरुद्ध भएको थियो । खैजनपुर, जोगिदह, हडिया, मुर्कुची लगायतका स्थानीयहरुको घरमा क्षति पुर्याएको प्रारम्भिक तथ्याङ्क आएको प्रहरीले जानाएको छ ।
हावाहुरीका कारण जिल्लाको त्रियुगा नगरपालिका, कटारी, चौदण्डी तथा बेलकाका विभिन्न स्थानमा फल लाग्दै गरेको करोडौँको लिची र आँप क्षति भएको स्थानीयवासीले बताएका छन् । चौदण्डी नगरपालिकाको हँडिया, सुन्दरपुर तथा बेलका नगरपालिकाको तपेश्वरी भागलपुर क्षेत्रमा समेत लिची तथा आँपका फल खसालेको चौदण्डी नगरपालिका–५ सुन्दरपुरका जगतराम चौधरीले बताउनुभयो ।
हावाहुरीका कारण झण्डै ४० प्रतिशत आँप र लिचीमा क्षति पुगेको छ । कटारी नगरपालिकाको रिस्कु क्षेत्रमा पनि हावाहुरीले आँपमा क्षति पुगेको स्थानिय मानबहादुर दनुवारले बताउनुभयो ।