प्रकाश न्यौपाने
रुपन्देही । आठौं राष्ट्रिय पुरुष टी–ट्वान्टी क्रिकेट प्रतियोगिता बुधबारबाट भैरहवामा शुरु भएको छ । बुधबारको खेलमा विभागीय टिमहरु नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल विजयी भएका छन् । पुलिसले प्रदेश नम्बर ५ लाई ६३ रनको फराकिलो अन्तरले पराजित गर्यो भने सशस्त्रले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गर्यो ।
भैरहवास्थित सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको पुलिसले २० ओभरमा ८ विकेट क्षतिमा १ सय ७१ रन बनायो । कुशल भूर्तेलले ६ चौका, एक छक्का मद्दतमा ३१ बलमा ५५ रन बनाए । यस्तै, दीपेन्द्रसिंह ऐरीले ३८ र कप्तान मञ्जित श्रेष्ठले नटआउट २२ रन बनाए । बलिङमा प्रदेश पाँचका कृष्ण कार्की, विक्रम भुसाल र शौरभ खनालले समान २–२ विकेट लिए ।
१ सय ७२ रनको विजयी लक्ष्यसहित मैदान उत्रेको प्रदेश पाँचले ६ विकेट क्षतिमा १ सय ८ रन मात्रै बनाउन सक्यो । उसका लागि अनुपम सिंहले ३७ र कृष्ण कार्कीले नटआउट १७ रन बनाए । बलिङमा पुलिसका ललित राजवंशीले २, दीपेन्द्र सिंह ऐरी, मञ्जित श्रेष्ठ, कुशल भूर्तेल र आरिफ सेखले समान १–१ विकेट लिए । पुलिसका कुशल भूर्तेल म्यान अफ द म्याच घोषित भए ।
अर्को खेलमा जितका लागि सुदूरपश्चिमबाट पाएको ८२ रनको लक्ष्य सशस्त्रले १९ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो । उसको जितमा शरद भेष्वाकरले सर्वाधिक १८, भुवन कार्कीले १६ र सुमित महर्जनले नटआउट १५ रन बनाए । बलिङमा सुदूरपश्चिमका नरेन्द्र साउद र शेर मल्लले २–२ तथा महेश अधिकारी, विकाश ऐरी र अजय ऐरीले १–१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले १८ दशमलव ३ ओभरमा सबै विकेट गुमाई ८१ रन बनाएको थियो । उसका लागि दीपक बोहराले १७, लोकेश बमले १५ र खडक बोहराले १२ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा सशस्त्रका शरद भेष्वाकरले ५, भुवन कार्कीले २, बसन्त रेग्मी र पृथु बाँस्कोटाले १–१ विकेट लिए । शरद भेष्वाकर ‘म्यान अफ द म्याच’ घोषित भए । बिहीबार प्रदेश पाँच र सशस्त्र तथा प्रदेश सात र प्रदेश ४ बीच प्रतिस्पर्धा हुनेछ ।