बाँके । कोहलपुर अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको पुरुष क्रिकेट प्रतियोगिताको यूवा तथा खेलकुद मन्त्रि जगत बहादुर बिश्वकर्माले उद्घाटन गर्नुभएको छ । कार्यक्रममा बोल्दै मन्त्री बिश्वकर्माले क्रिकेट खेलले देशको नाम बिश्वसामु चिनाउन सफल भएको बताउनुभयो ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट विधातर्फको खेलमा ३ नम्बर प्रदेशले विजयी शुरुवात गरेको छ ।
बुधबारदेखि बाँकेको कोहलपुर अन्तराष्ट्रिय क्रिकेट मैदानमा शुरु भएको प्रतियोगिताको पहिलो खेलमा कर्णाली प्रदेशलाई ९ रनले पछि पार्दै ३ नम्बर प्रदेश विजयी भएको हो । टस हारेर ब्याटिङको निम्ता पाएको ३ नम्बर प्रदेशले सबै विकेट गुमाउँदै १ सय २५ रन जोड्न सफल भएको थियो । सुरुवाती ब्याट्सम्यानद्वय दिपेन्द्रसिंह ठकुरी र रबिन जोशी सस्तैमा पवेलीयन फर्किए पनि अन्य खेलाडीले टिमलाई सम्मानजनक स्कोरतर्फ डोर्याएका थिए । पहिलो हाफको १९औं ओभरमा सबै विकेट गुमाएको ३ नम्बर प्रदेशकालागि शुभ कंशाकारले सर्वाधिक ३९ रन जोडेका थिए । अदिल खान र सोनु देवकोटाले क्रमशः ३० र १३ रन जोड्नु बाहेक अन्य खेलाडीहरुले दोहोरो अंक जोड्न सकेनन् । त्यसैगरी बलिङतर्फ कर्णाली प्रदेशका प्रकाश जैशीले घातक बलिङ गर्दै ५ विकेट रदिनेश अधिकारीले १ विकेट लिएका थिए ।
१ सय २६ रनको लक्ष्य पाएर मैदानमा उत्रिएको कर्णाली प्रदेश १ सय १६ रनमै समेटियो । कर्णाली प्रदेशका ब्याट्सम्यान रबिन्द्र जंग शाहीले ४ चौका प्रहार गर्दै सर्वाधिक ३५ रन जोडेका थिए भने प्रकाश जैशी २३ र टेक सलामी मगर २२ बाहेक अन्य खेलाडीले उल्लेखनिय प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ प्रदेश नम्बर ३ का नन्दन यादवले २ तथा जितेन्द्र सिंह ठकुरी र सोनु तामाङले समान १ र १ विकेट लिएका थिए । उक्त खेलको प्लेयर अफ द म्याच ५ विकेट लिएका कर्णाली प्रदेशका प्रकाश जैशी घोषित भए ।
दोस्रो खेलमा विभागीय टोली आर्मी विजयी
प्रतियोगिता अन्तर्गत बुधबार नै सम्पन्न दोस्रो खेलमा त्रिभुवन आर्मी क्लव विजयी भएको छ । विभागीय टिमका रुपमा प्रतियोगितामा सहभागी भएको आर्मीले प्रदेश नम्बर २ लाई डकवर्थ लुईस पद्धतीद्वारा ८ विकेटले पराजित गरेको हो । निर्धारित २० ओभरको खेलमा प्रदेश नम्बर २ ले १९ ओभर सकिँदा ६ विकेटको क्षतीमा ७४ रन बनायो । मौसम खराव भएपछि खेललाई १९ ओभरमा घटाइएको थियो । ओभर घटाइएको खेलमा आर्मीले ७७ रनको लक्ष्य पाएको थियो । रन जोड्ने क्रममा प्रदेश नम्बर २ का मेहबुब आलमले २९ तथा राहुल प्रताप सिंहले १७ रन बनाएका थिए ।
बलिङतर्फ आर्मीका सुशान भारीले ३ विकेट, जितेन्द्र मुखीयाले २ र सोमपाल कामीले १ विकेट लिएका थिए । ७७ रनको लक्ष्य पाएर मैदानमा उत्रिएको आर्मी १४ दशमलव ३ ओभरमै लक्ष्य भेट्टाएको थियो । जसका लागि कप्तान बिनोद भण्डारीले ४२ तथा राम कृष्ण झाले ३३ रन जोडेका थिए । बलिङतर्फ सफुल्ला अन्सारीले २ विकेट लिएका थिए ।
खेलको प्लेयर अफ द म्याच ३ विकेट लिएका आर्मीका सुशान भारी घोषित भए ।
प्रतियोगिता अन्तर्गत भोली पहिलो खेल कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लवबिच र दोस्रो खेल प्रदेश नम्बर १ र प्रदेश नम्बर २ बिच हुने भएको छ ।