पुष्पराज अधिकारी
हेटौंडा । प्रदेश ३ को प्रदेशसभा बैठकले संशोधनसहितको २ वटा विधेयक पारित गरेको छ । बिहीबार बसेको प्रदेशसभा बैठकबाट समितिमा दफावार छलफलपछि संशोधन गरी सभामा पेश भएको प्रतिवेदन सहितको एउटा विधेयक सर्वसम्मत अर्को विधेयक बहुमतले पारित भएको हो ।
बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले प्रस्तुत गर्नुभएको प्रदेशका पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधा सम्बन्धी ऐनको पहिलो संशोधन विधेयक सर्वसम्मत पारित भएको छ । त्यसैगरी, भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले प्रस्तुत गर्नुभएकोे प्रदेश सरकारी सम्बन्धी विधेयक भने बहुमतले पारित भएको छ ।
विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सभामुख सानुकुमार श्रेष्ठले निर्णायार्थ प्रस्तुत गर्दा विवेकशीलका सांसद विराजभक्त श्रेष्ठले हुन्न भन्ने आवाज उठाएपछि विधेयक बहुमतले पारित भएको हो । यसअघि विधेयकमाथि विवेकशीलकै सांसद रमेश पौड्यालले धारणा राखेका थिए । बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।
शून्य समयमा बोलेको कुरालाई शून्यमै नराखियोस् : राजेन्द्र पाण्डे
प्रदेश ३ को प्रदेश सभामा शुन्य समयमा प्रदेश सभा सदस्यहरुले बोलेका कुराहरुलाई कार्यान्वयनमा ल्याउन माग गरेकाछन् । बिहीबारको बैठकमा साँसद राजेन्द्र पाण्डेले सांसदहरुले शुन्य समयमा बोलेका कुराहरलाई शुन्यान्तरमै नराख्न आग्रह गर्नुभयो । साँसदहरुले बोलेका कुरा र सरकारको बारेमा सोधिएका प्रश्नहरुको सरकारले जवाफ दिने बानि बसाल्न सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । बैठकमा प्रदेश सभा सदस्यहरु रत्नप्रसाद ढकाल, लक्ष्मण लम्साल र रिना गुरुङले स्थायी राजधानी र नामाकरणको बिषयलाई धेरै अलमल नगर्न सरकारलाई आग्रह गर्नुभयो । प्रदेशसभा भित्रको बिषयलाई आलटाल गरेर अस्थायी मानसिकतामा नपार्न उनीहरुले जोड दिए ।
यस्तै प्रदेश सभा सदस्य राधा घलेले प्रदेशसभा भित्र सदस्यहरुले बोलेका कुराहरु केन्द्र सरकारसम्म पु¥याउने व्यवस्था मिलाउन प्रदेश सचिवालयलाई आग्रह गर्नुभयो । यसैगरी सदस्य राजेन्द्र प्रसाद पौडेलले प्रदेशको बजेट निर्माणको क्रममा सांसदहरुलाई सक्रिय सहभागी गराउन आग्रह गर्नुभयो । यस्तै साँसद शोभा शाक्यले सरकारले प्रदेश भित्रको सडक मर्मतमा ढिलाई गरिरहेको भन्दै असार लागेपछि बाटो बनाउने र मर्मत नगर्न आग्रह गर्नुभयो । साथै काठमाण्डौबाट हेटौंडा आउने वातावण्रण सहज बनाउन कान्तीलोकपथ सडकखण्डलाई छिटो सुचारु गराउन समेत आग्रह गर्नुभयो । साँसद मिना ज्ञवालीले सरकारले घोषणा गरे अनुसार पूर्वाधार निर्माणको काम गर्न नसकेको र बजेट कार्यान्वयनमा ल्याउन नसकेको गुनासो गर्नुभयो ।
आज बसेको बैठकमा २९ जना प्रदेश सभा सदस्यहरुले शुन्य समयमा आफ्ना धारणा राखेका थिए । शुन्यसमयमा बोल्ने साँसदहरुले भक्तपुरमा खानेपानीको समस्या रहेको, हेटौंडा–काठमाण्डौ जाने छोटो मार्ग छिटो मर्मत गर्नुपर्ने, पूननिर्माण कार्यमा ऐलानी जग्गाले समस्या, ढुङ्गा गिटी बालुवाको अबैध उत्खनन नियन्त्रण र साँसदहरलाई इ–लाईब्रेरीको व्यवस्था लगाएतको बिषयमा आफ्नो धारणा राखेका थिए ।