झापा । कुनै बेला अपराध अनुसन्धानमा दक्षिण एसियामै नाम कमाएको नेपाल प्रहरी केही समय अघिबाट विभिन्न विवाद तथा अपराधका घटनामा तानिँदै आएको छ । हुन पनि समाजमा अपराध नियन्त्रण गर्ने जिम्मेवारी लिएर बसेको प्रहरीले नै कहिले सुन तस्करी, कहिले अबैध असुली त कहिले बलात्कार र हत्याजस्तो जघन्य अपराधमा प्रमाण लुकाउने कामको आरोप लाग्नुले संगठनका साखमै धक्का पुग्ने नै भयो । त्यतिमात्र होइन, प्रहरीले सरकारी बर्दी र शक्तिका आडमा गरेका कयौँ कार्यको उदाहरण चर्चामा छन् यतिखेर ।
यस्तै शक्तिको चरम दुरुपयोग गर्दै इलाका प्रहरी कार्यालय बिर्तामोडले एउटा गैरकानुनी काम गरेको सार्वजनिक भएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा रहेका एक किशोरको रहस्यमय मृत्युपछि र त्यसलाई गुपचुप गराउन खोजेपछि प्रहरीको काम कारबाही शंकाको घेरामा परेको छ ।
अझ, कुनै घटनापश्चात त्यसको प्रमाणको सुरक्षा गर्नुपर्नेमा उल्टै घटनासँग सम्बन्धित प्रमाण प्रहरीले नै नष्ट गर्नुले कतै न कतै घटनामा प्रहरीकै संलग्नता त छैन, शंका छ । २०७५ चैत २८ गते १० हजार रुपैयाँ चोरी अभियोगमा इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेका मेचीनगर–६ का १६ वर्षीय किरण कार्की ढोलीको हिरासतमै शंकास्पद मृत्यु भएको घटना गुपचुप गराइएको र प्रमाण नष्ट गरेको पाइएको छ ।
वैशाख १ गते राति २ बजे मेचीनगर निवासी कार्कीले हिरासतको शौचालयमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले दाबी गरेको छ । प्रहरीले हिरासतमा झुण्डिएको भनिएका कार्की ढोलीको शव परिवार र आफन्तलाई समेत सुइँको नदिइ सोही राति ३ बजे पोष्टमार्टम गर्न भन्दै मेची अञ्चल अस्पताल पठाइएको छ । त्यस्तै, प्रहरीले बिहान ११ बजेमात्रै मृतकका बाबुलाई छोराले आत्महत्या गरेकाले अञ्चल अस्पताल गएर शव बुझ्न भनेको बुबा रमेश कार्की ढोलीले बताउनुभयो । भन्नुभयो, ‘काँकरभिट्टाबाट बिर्तामोड आउन्जेल केही भनेनन्, इलाकामा ल्याएर फ्रुटी ख्वाए, अनि भने तपाईंको छोराले आत्माहत्या गर्यो ।’ छोराको मृत्युको खबरले केही कुरा सोच्न नसेकोको र प्रहरीले केही नभनी मुचुल्कामा सही गराएको ढोलीले बताउनुभयो ।
कानुनः कसैले आत्महत्या गरे घटना प्रकृति मुचुल्का गर्नुपर्ने र त्यसमा परिवारका सदस्यलाई समेत साक्षी राख्नुपर्नेमा प्रहरीले बाबुलाई समेत जानकारी नदिई रातारात घटना गुपचुप गराउने गतिविधि गरेको हो । प्रहरीले जिन्सको पाइन्टको पासो लगाई आत्महत्या गरेको भनिएका कार्की ढोली २ बजे राति झुण्डिएको र यो कुरा कसैलाई नभन्न भन्दै हिरासतमा रहेका अन्य थुनुवालाई त्रास देखाएको उनीसँगै हिरासतमा बसेर छुटेका एक व्यक्तिले बताए ।
मृतक कार्कीसँगै हिरासत बसेर वैशाख २ गते छुटेका उनका अनुसार, सबै घटना आफूले प्रत्यक्ष देखेको बताए । उनले कार्कीलाई प्रहरीले कुटपिट समेत गरेको बताए । ती प्रत्यक्षदर्शीका अनुसार, राति ३ बजे आफन्तविनै शव पोष्टमार्टम गर्न प्रहरीले लगेको हो ।
प्रत्यक्षदर्शीको भनाइमा शव उठाएपछि बिहानै प्रहरीले शौचालयको ढोका र झुण्डिएको भनिएको धारा समेत मिस्त्री बोलाएर काट्न लगाएको छ । त्यहाँ सिसीक्यामेरा समेत सोही दिन जडान गरिएको छ । यसले प्रहरीले आफ्नो कमजोरी लुकाउन प्रमाण नष्ट गरेको शंका छ ।
कानुन विपरीत प्रहरीको काम
प्रहरीले प्रचलित कानुन विपरित बालबालिकालाई हिरासतमा लिने समेत गरेको यो घटनाले पुष्टि गरेको छ । सबै घटना प्रत्यक्ष देखेका एकजना १४ वर्षका छन् । मृतक कार्की १६ वर्षका । उनीहरुलाई हिरासतमा लिन नमिल्ने मृतकको जन्मदर्ता प्रमाणपत्रबाट देखिएको छ । कानुनतः १८ वर्ष मुनिका बालबालिकालाई अन्य अभियुक्त राख्ने हिरासतमा लिएर अनुसन्धान गर्न नपाइने कानुनी प्रावधान रहेको मानव अधिकार सञ्जाल झापाका अध्यक्ष बिष्णु खरेलले बताउनु भयो । खरेलले प्रहरीले मृतकका बाबुलाई ललाइफकाइ घटना गुपचुप गराउन खोजेको सूचना पाइएको बताउनु भयो । घटना सम्बन्धमा मानवअधिकार सञ्जाल झापाले समेत अनुसन्धान थालिएको खरेलले बताउनु भयो । उनले १८ वर्षमुनिका बालबालिकालाई हिरासतमा लिनु र आत्महत्या गर्नेसम्म पुर्याइनु गम्भीर भएको बताउँदै सम्बन्धित प्रहरीलाई कारबाहीको दायरामा ल्याइनुपर्ने बताए ।
शक्तिहीन परिवार अन्यायमा
‘शक्तिहीन परिवार भएकाले प्रहरीले भनेअनुरुप शव बुझेँ,’ मृतकका बुबा रमेश कार्कीले भन्नुभयो, ‘हिरासतमा झुण्डिएको भनिएको शवको प्रकृति नदेखाई हतारमा पोष्टमार्टम गर्न लैजानुले प्रहरीको नियतमाथि शंका उत्पन्न भएको छ ।’
प्रक्रिया पूरा गरेका हौँः प्रहरी
प्रहरीले हिरासतमा भएको घटना स्वीकार गर्दै आफूहरुले कानुन बमोजिम सबै प्रक्रिया पूरा गररे मृतकका आफन्तलाई शव जिम्मा लगाएको अपत्यारिलो जवाफ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी महेन्द्रकुमार श्रेष्ठले दिनु भयो । प्रहरीले मृतक कार्की १८ वर्ष नपुगेको किशोर भए पनि १९ वर्षको भएको दाबी गर्दै आएको छ । यस सम्बन्धमा विभागिय छानबिन चलिरहेको श्रेष्ठको भनाइ छ ।
पत्रकारको पनि चलखेल
प्रहरीले गुपचुप मिलाएको घटना सार्वजनिक हुन थालेपछि केही सञ्चारकर्मीलाई विभिन्न व्यक्ति प्रयोग गरी समाचार रोक्न अनुनय विनय आउन थालेको छ । घटना सार्वजनिक भएपछि १८ वर्ष मुनिकालाई हिरासतमा लिएको, यातना दिएको र प्रमाण नष्ट गरेको सबै पोल खुल्ने र त्यसको असर बिर्तामोडका डिएसपी सुवास खड्कालाइ पर्ने भन्दै घटना सार्वजनिक नगर्न दबाब दिइएको जानकारहरुको भनाइ छ ।