कृति भट्टराई
काठमाडौं । बंगलादेशमा १९ वर्षीया युवतीलाई जिउँदै जलाइएको छ । नुसरत जहाँ रफीले आफू पढ्ने विद्यालयकै प्रधानाध्यापकबाट बारम्बार यौन दुव्र्यवहार भोग्नु परेको उजुरी स्थानीय प्रहरीमा दिएकी थिइन् । उनलाई उजुरी फिर्ता लिन लगातार दबाव आउँदा मानेकी थिइनन् । ६ अप्रिलमा विद्यालय हाताभित्रै उनको शरीरमा मट्टितेल छर्केर आगो लगाइएको हो ।
नुसरहत रफीमाथि भएको आततायी घटनाले दक्षिण एसियामा यौन दुव्र्यवहार र महिलाको संकटाभिमुख अवस्था फेरि उजागर भएको छ । नुसरत बंगलादेशको राजधानी ढाकादेखि १ सय ५० किलोमिटर दक्षिणस्थित फेनी गाउँमा बस्थिन् । उनी एक परम्परावादी परिवारकी सदस्य थिइन् र स्थानीय एक इस्लामिक विद्यालय (मदर्सा) मा अध्ययनरत् थिइन् । विद्यालयका प्रधानाध्यापकले उनलाई पटकपटक कार्यालयमै शरीरका संवेदनशील अंग छुने गरेका थिए । नुसरत आफूलाई जोगाउन अनेक प्रयत्न गरेर उम्किन्थिन् ।
बंगलादेशमा धेरै महिलामाथि यौन दुव्र्यवहार हुने गरे पनि परिवारको प्रतिष्ठा र समाजमा बदनाम हुने भयले पीडित मौनता साँधेर बस्छन् । तर नुसरतले मौखिक प्रतिवाद मात्र गरिनन्, उनले स्थानीय प्रहरीमा पुगेर उजुरी दर्ता गराइन् । उजुरी दर्ता गराउन नुसरतलाई परिवारको पनि साथ थियो ।
प्रहरी कार्यालयमा पनि नुसरतमाथि सम्मानजनक व्यवहार भएन । उनको पीडामा सान्त्वना दिँदै सुरक्षित वातावरण प्रदान गर्नु त परै जाओस्, उल्टै प्रहरी अधिकारीले नै नुसरतले आफूमाथि गरिएको यौन दुव्र्यवहारको बयान सुनाउँदा भिडियो रेकर्ड पो गरे ।
नुसरतले प्रधानाध्यापकबाट आफूमाथि भएको कुकृत्य खुलासाको भिडियो रेकर्डपछि थप असहज भयो । प्रधानाध्यापकको कुकृत्य बयान गर्दा नै मानसिक पीडा महसुस भइरहेको थियो । झन् प्रहरीले भिडियो खिच्न थालेपछि मर्माहत भइन् । तर नुसरतमा अपराधीलाई कठघरामा पु¥याउने अठोट र न्याय पाउने आशा तथा विश्वास जीवितै थियो । दुवै हत्केलाले अनुहार छोपेर पहिचान लुकाउने प्रयास गर्दै उनले बयान दिइरहिन् प्रहरी अधिकारीले न्युनतम कानुनी कर्तव्य र मानवता बिर्सिए पनि ।
भिडियो खिच्ने प्रहरी अधिकारी ‘ठूलो घटना नभएको’ भन्दै पीडितलाई सम्झाउन थाले । यतिमै रोकिएन प्रकरण । प्रहरीले स्थानीय मिडियामा भिडियो बयान पठायो । नुसरतमाथि समाजमा अनेक आक्षेप लगाइयो । सामाजिक सञ्जालमा अवहेलनादेखि भौतिक आक्रमणसम्मका विभिन्न परिस्थिति सामना गर्दै उनी न्यायका लागि डटिरहेकी थिइन् । परिवारले पनि हिम्मत हारेन ।
प्र्रहरीमा उजुरीलगत्तै प्रधानाध्यापक पक्राउ त परे । तर नुसरत र उनको परिवारका लागि भने संकट झन् चुलियो । प्रधानाध्यापकलाई मुक्त गरियोस् भन्दै सडकमा प्रदर्शन शुरु भयो । नुसरतलाई नै गलत केटीको संज्ञा दिँदै विद्यार्थी र स्थानीयको नेतृत्वमा उनको घरमा ढुंगामुढा भयो । नुसरत र उनको परिवार असुरक्षित भए ।
यसैबीच, घटनाको ११ दिनपछि अप्रिल ६ मा नुसरत परीक्षामा सामेल हुन विद्यालय गइन् । उनका दाजु महब्दुल हसन साथमा थिए । नुसरतलाई परीक्षा कोठामा छिर्न दिइयो तर दाजुलाई बाहिरै रोकियो । बहिनीको सुरक्षाका लागि दाजु चिन्तित थिए तर ज्यानै जाला भन्ने जोखिम हेक्का भएन ।
नुसरत परीक्षा भवनमा प्रवेश गरेपछि सहपाठीले बहाना गरेर उनलाई भवनको छतमा पु¥याए । छतमाथि ४–५ जना बुर्काधारी उपस्थित थिए । उनीहरुले प्रधानाध्यापकविरुद्ध बयान फिर्ता लिन दबाब दिए । नुसरतले इन्कार गरिन् र न्यायका लागि लड्ने अठोट गरिन् । त्यतिकैमा केही व्यक्तिले उनलाई पछाडिबाट उम्किन नसक्ने गरी समाए । नुसरतको शरीरमा मट्टितेल खन्याए र आगो झोसिदिए । नुसरत जिउँदै अग्निदाहमा परिन् । आफूमाथि भएको यौन हिंसाबारे उजुरी दिँदा उनले प्राण गुमाउनु प¥यो । आततायीहरुले आफ्नो अपराध लुकाउन अर्को नृशंस अपराध गरे ।
नुसरतलाई उद्धार गरी अस्पताल लगियो । उनको शरीरको ८० प्रतिशत भाग जलिसकेको थियो । मृत्युशैयामा पुगेकी नुसरतले अदम्य साहस देखाइन् ।
उनले दाजु महब्दुल हसनको मोबाइलमा आफ्नो बयान रेकर्ड गराइन् । प्रधानाध्यापकले गरेको यौन दुव्र्यवहारविरुद्ध अन्तिम क्षणसम्म लडछु भन्न भ्याइन् । मट्टितेल खन्याएर आगो लगाउनेको पहिचान खुलाइन् । अप्रिल १० मा नुसरतको अस्पतालमै प्राण गयो । अपराधविरुद्ध उठेकी एक किशोरीको जीवन समाप्त भयो ।
नुसरतको हत्यालाई स्थानीय प्रहरी र अपराधीले मिलेर आत्महत्या सावित गर्ने प्रयत्न गरेर अर्को बदमासी ग¥यो । तर नुसरतको मरणासन्न अवस्थाको बयानले अपराधीहरुको पोल खोलिदियो । नुसरतको अन्त्येष्टिमा हजारौँ जनसमुदाय श्रद्धाञ्जली दिन एकत्रित भए । भीडको सान्त्वनाको बाबजुद दाजु महब्दुल हसन र परिवारको आँखा रसाउन छाडेका छैनन् । श्रद्धाञ्जलीका लागि एकत्रित भएको भीड नुसरतले न्यायका लागि लडिरहँदा जम्मा भइदिएको भए सायद नुसरत जित्थिन् । बंगलादेशमा प्रहरी, प्रधानाध्यापक यति हिंस्रक छ भन्ने सन्देश पनि विश्वभर जाने थिएन ।