आशिषबहादुर सिंह
बझाङ । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य खप्तड । अनुपम प्राकृतिक सुन्दरताका लागि अतुलनीय र विश्व बिख्यात । जडीबुटी,हरियाली जङ्गल, ताल तलैया, त्रिबेणी संगम, हिमअच्छादित ठूल्ठूला मैदानमा मखमली गलैँचा आछ्याए जस्तो । खप्तड टेक्ने जो काेहीले अलौलिक परमानन्दको अनुभूति गर्छन् ।
वसन्त ऋतु यौवनावस्थामा छ । आकाश खुलेको छ । खप्तडको फाँट र डाँडापाखाबाट साइपाल हिमालको दृश्य अबोलकनमा कुनै व्यावधान छैन । खप्तडका पाटन (रङ्गीविरङ्गी फूलले ढाकिएको ठूल्ठूला फाँट ) बाट देखिने साइपाल हिमालले मनलाई आनन्दको अतिरेकमा सलल बगाउँछ । त्रिबेणीकोे चिसो पानीमा स्नान गर्दा शरीर चङ्गा हुनेमात्र होइन् आत्मिक शुद्धता हुने धार्मिक मान्यता छ ।
२ सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्जको महत्व अपरिमीत छ । मनै हर्ने सपनासरी सुन्दरता अनुपम छ । २२ पाटन (उपवन ) र ५३ ताल रहेको खप्तड नेपालको भूस्वर्ग मानिन्छ । खप्तड निकुञ्ज क्षेत्रमा २ सय २४ प्रजातिका वनस्पति, १२ रहस्यमय गुफा, २ सय २६ प्रजातिका पंक्षी, बाघ–भालु लगायतका २० भन्दा बढी वन्यजन्तु पाइन्छ । सहस्रलिङ्ग भएर आउने सोलिङ,हिमालसँग नाभी जोडिएको डाँफेकोट र दक्षिणबाट उत्तरतिर बग्ने गुप्तरूपी सरस्वती तीन नदीको संगमस्थल त्रिवेणी भूस्थलमा बिरलाकोटि सुन्दरतम स्थान हो ।
बझाङ,बाजुरा, डोटी र अछामको बिचोबीच रहेको खप्तडमा मौसम अनुसार छटा देखापर्छ । दृश्य अलौकिक र रहस्यमय रुपमा देखा पर्छन् । बझाङको खप्तड छान्ना र थलारा गाउँपालिकाबाट खप्तड प्रवेश गर्ने पहिलो पाटन नजिक खडुली र दुदुली देवीका दुई अलग–अलग मन्दिर छन् । दुईवटा मन्दिरको बीचमा एक यज्ञमण्डप छ । चैत र असोज शुक्ल अष्टमीका दिन यहाँ पूजा, अनुष्ठान हुने गर्छ ।
खप्तडमा ठूलो चट्टानको छातिमा सिपालु मूर्तिकारले बुट्टा भरेजस्तो चित्र देख्न पाइन्छ । घोडादाउना पाटनको पूर्वमा करिब ११ हजार फिट उचाइमा खप्तड बाबाको कुटी छ । माझको ‘झुत्ती’ भन्ने ठाउँमा रहेको कुटी विक्रम सम्वत् २००३ सालमा तत्कालीन बझाङी राजा रामजंगबहादुर सिंहले खप्तड बाबाका लागि बनाइदिएका थिए ।
त्रिवेणीमा स्नान गर्दा ईच्छिाएको कामना पूरा हेने र पापमोचन हुने जनविश्वास छ । त्रिवेणीबाट सहस्त्रलिङ्ग जाने बाटोमा एउटा उँचो ढिस्को छ । त्यहाँ कालो ढुंगामा कुँदिएको प्राचीन मूर्ति छ । सहस्त्रलिङ्ग आउँदा–जाँदा यो मूर्तिको दर्शन गरेपछि मात्र खप्तडको धार्मिक यात्रा पूरा हुने मान्यता रहेकाे छ ।
महाभारत युद्धकालमा वंश विनाश र गोत्रहत्याको पापमोचनका लागि खप्तडका पाटनमा राँगा र भैंसीको भेष लिएर विचरण गरिरहेका शिवको दर्शनका लागि पाण्डव यहाँ आएको किम्बदन्ती छ ।
बसुन्धराको नन्दन वन नेपाली स्वर्गभूमि खप्तड पदयात्री पर्यटकलाई स्वागत गर्न हत्केला ओछ्याएर पर्खिरहेको छ ।