काठमाडौं । चलचित्र ‘यात्रा’ युनिटले आफ्ना दर्शकहलाई लक्षित गर्दै प्रस्तुत गरेको प्रतियोगितामा मिलन श्रेष्ठले एक लाख पुरस्कार जितेका छन् । चलचित्र यात्राका कलाकारहरु सलिनमान बानियाँ, मलिका महत, रेयर राईलगायतले लक्की ड्रमार्फत् मिलन श्रेष्ठलाई शुक्रबार भाग्यशाली विजेता घोषणा गरेका हुन् ।
चैत २९ गते रिलिज भएको चलचित्र ‘यात्रा’को एक पात्र तपस्याले कसरी दृष्टि गुमाइन् भन्ने प्रश्नको ७ उत्तरमध्ये एक सही उत्तर दर्शकले मिलाए एक लाख पुरस्कार दिने घोषणा गरिएको थियो ।
प्रतियोगितामा झण्डै तीन हजार जनाले सहभागिता जनाए पनि ६१६ जनाले मात्र सही उत्तर रोजेको मकै एप्सका चीजकुमार श्रेष्ठले जानकारी दिए ।
लक्की ड्र कार्यक्रममा उपस्थित चलचित्रका निर्देशक सम्राट शाक्यले भने, ‘फिल्मले प्राप्त गरेको प्रतिक्रियाले निकै उत्साहित छौं । यात्राले नेपाली चलचित्र हेर्ने दर्शकलाई हलसम्म ल्याउने क्रमलाई उत्साहजनक ढंगले बढाएको छ ।’ चलचित्रमा सलिनले भ्लगमार्फत् समाजमा ल्याउन सकिने परिवर्तनलाई प्रस्तुत गरेका छन् ।
फिल्ममा सलिनसँगै सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मालगायतको अभिनय हेर्न सकिन्छ।
यही चलचित्रमार्फत् डेब्यू गरेकी मलिका महतको अभिनयले प्रसंशा पाइरहेको छ । चलचित्रमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको छ ।