हुमाकान्त पोखरेल
गुल्मी । आगमी दश वर्षसम्म युवाहरु विदेश जाने बाध्यताको अन्त्य गर्ने लक्ष्य लिएको सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीकै जिल्लाबाट युवाहरुलाई रोजगार बनाउने कामको शुरुवात गरेको छ । श्रममन्त्री गोकर्ण विष्टले गुल्मीको मुसिकोट नगरपालिकाका ९० जना व्यक्तिहरुलाई गाउँमै स्वरोजगार भएको नियुक्ति पत्र दिएर अभियानको शुरु गर्नुभयो । नगरपालिकाले नगर भित्रका सडकहरुलाई बाह्रै महिना संचालन गर्ने र नागरिकहरुको जिविकोपार्जमा टेवा पुराउने उदेश्यले ९० जना लेन्थवर्कर नियुक्ती गरेको छ ।
नगरपालिकाले ९० जनालाई गाउँमै रोजगारी प्रदान गरेकोमा खुसी व्यक्त गर्दै मन्त्री बिष्टले काम सानो ठुलो नहुने बताउनुभयो । उहाँले अवको केहि समयमा प्रत्येक स्थानीय तहमा चार सय युवाहरुलाई कुनै न कुनै रोजगारी सृजना गर्ने बताउनुभयो । ‘स्थानीय संभावनाका आधारमा गाउँमै रोजगार सृजना गर्न खोजिरहेका छौ’ मन्त्री बिष्टले भन्नुभयो, ‘सवैका आशा र सपना बिस्तारै पुरा हुनेछन् ।’
मुसिकोट नगरपालिकाले लेन्थ वर्कर व्यावस्थापन कार्यबिधी–२०७५ निर्माण गरिएको नगरपालिकाका प्रवक्ता प्रकाश काफ्लेले बताउनुभयो । कार्यबिधीको आधारमा लेन्थ वर्कर व्यावस्थापन समितिले उनीहरुको परिचालन गर्ने काफ्लेले बताउनुभयो । एक जना लेन्थ वर्करको मासिक पारिश्रमिक १३ हजार चार सय ५० तोकिएको छ । उनीहरुले बर्षभर मोटरबाटो खन्ने, झाडी सरसफाई गर्ने, साना पहिराहरु पन्छ्याउने, नाली खन्ने र साना गाडी समेत हिड्न मिल्ने बनाउनुपर्ने छ ।
मुसिकोट नगरपालिकाका ९ वडामा १० जनाका दरले ९० जना लेन्थ वर्कर भएपनि सडकको दुरीको आधारमा खटाइने निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले बताउनुभयो ।
मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले सडक सफा गर्दा डोजरभन्दा लेन्थ वर्कर महङ्गो भए पनि स्वरोजगार सृजना भएको बताउनुभयो । उहाँले डोजरमार्फत काम गर्दा सिमित व्यक्तिसँग काम र पैसा हुने भएकाले अहिले कम्तिमा ९० जनाको परिवार व्यावस्थापन गरिएकोमा खुशी व्यक्त गर्नुभयो ।
मेयर सापकोटाले काम चोर प्रवृतिको भने अन्त्य गरिने बताउनुभयो । ‘पहिले काम पाइएन भनेर चौतारोमा कुरा काट्ने, काम पाएपछि ठग्ने प्रवृति देखिएको छ,‘लेन्थ वर्करलाई निर्देशन दिर्दै सापकोटाले भन्नुभयो, ‘काममा तलमाथी हुँदैन् ।’ उहाँले गत बर्ष लेन्थ वर्कर जनप्रतिनिधीप्रति बढि उत्तरदायी बनाउँदा समस्या देखिएकाले अहिले कार्यालय प्रति उत्तरदायी बनाएको बताउनुभयो । जनप्रतिनिधीले उनीहरुको अनुगमन तथा निरिक्षण भने गर्नेछन । केहि दिनमै सेवा सर्त र अन्य सैद्धान्तिक बिषय र प्रयोगात्मक प्रशिक्षण पछि काममा लगाइने मेयर सापकोटाले बताउनुभयो । लेन्थ वर्करको रुपमा आफुहरुलाई काम गरेर खाने अवसर दिएकोमा मुसिकोट नगरपालिका १ पौदीकी जुना सार्कीले खुशी व्यक्त गरिन् ।