पुष्पराज अधिकारी
चितवन । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले स्वदेशी व्यवसायी र लगानीलाई प्रोत्साहन नगरी विदेशी लगानीकर्ता नेपाल ल्याउछु भनेर सोच्नु दिवा सपना हुने बताउनुभएको छ । अध्यक्ष दाहालले जबसम्म स्वदेशी लगानीकर्ता आकर्षित हुँदैनन् तबसम्म विदेशी लगानीकर्ता आउँछन् भन्नु गलत रहेको औंल्याउनुभयो ।
चितवनको भरतपुरमा शुरु प्रदेश नम्बर ३ को निजी क्षेत्रसँगको अन्तरकृयामा बोल्दै अध्यक्ष दाहालले नेपालमा लगानीको वातावरण बनाउन सरकारले निजीक्षेत्र मैत्री ऐन निर्माण गर्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाली उद्योगी व्यवसायी र स्वदेशी लगानीलाई प्रोत्साहन गर्न सरकारले निरन्तर प्रयास गरिरहेको छ ।’ उहाँले निजी क्षेत्रलाई विश्वासमा लिन सरकारले सक्दो प्रयास बताउनुभयो ।
सार्वजनिक क्षेत्रले निजी क्षेत्रसँग इमान्दार भएर काम नगरेसम्म देशको विकास सम्भव नभएको भन्दै उहाँले निजी क्षेत्रलाई हेर्ने नकारात्मक दृष्टिकोणको अन्त्य गर्न आग्रह गर्नुभयो । ‘अझैपनि पंचायतकालीन ऐन नियमका कारण व्यवसायी झन्झट व्यहाेर्न बाध्य छन् ।’ उहाँले भन्नुभयो, ‘लगानीको वातावरण बन्न नसकेकोले ऐन परिमार्जन गरी उद्योगीमैत्री कानुन बनाउनमा जोड दिनुपर्छ ।’ उहाँले विकास निर्माणमा प्रतिपक्ष र सत्तापक्ष कोही नभएको भन्दै आर्थिक विकासमा सबै एकै मञ्चमा बसेर काम गर्नुपर्ने धारणा राख्नुभयो ।
प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार लगानीमैत्री वातावरण निर्माणका लागि तयार रहेको बताउनुभयो । व्यवसायी ढुक्क भएर लगानी गर्न आग्रह गर्दै मु्ख्यमन्त्री पौडेलले सुरक्षाको ग्यारेन्टी सरकारले गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले नेपालमा गुणस्तरीय योजना र नीति निर्माणमा समस्या नभइ कार्यान्वयनमा समस्या रहेको बताउनुभयो । लगानीको वातावरण, शान्ति सुरक्षा, ऐन कानुनमा सरकार स्पष्ट हुनसके निजी क्षेत्र आकर्षित हुने उहाँले बताउनुभयो । निजी क्षेत्रको लगानीबाट मात्र सरकारले उचित प्रतिफल प्राप्त गर्ने डा. महतको धारणा छ । ‘विगतका सरकारले अघि सारेका कयौं केन्द्रीय योजना अलपत्र परेका छन्’, उहाँले भन्नभयो, ‘ विगतमा प्रतिवद्धता भएका र सरकारले स्वीकृत गरेका योजना समयमै सम्पन्न गर्नुपर्छ ।’
उद्घाटन समारोहमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कंडेल, सांसद तथा उद्योगपति विनोद चौधरी, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस कुमार मोर, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, उद्योग बाणिन्ज महासंघ प्रदेश नम्वर ३ का संयोजक दिनेश श्रेष्ठलगायतले आफ्नो धारणा राख्नुभएको थियो ।
प्रदेश सरकार प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष खिमलाल देवकोटाले प्रदेशको आधारपत्र प्रस्तुत गर्नुभएको थियो । आयोगको पहिलो आवधिक योजना (आर्थिक वर्ष २०७६÷७७–२०८०÷८१) आधारपत्रले पूर्वाधार, उद्योग, सेवा, कृषि र पर्यटन गरी पाँच क्षेत्रमा लगानी केन्द्रीकृत गर्ने लक्ष्य लिएको छ । मूलतः यी पाँच क्षेत्रमा केन्द्रित भएर दुई दिनसम्म चल्ने कार्यक्रममा निजी क्षेत्रलाई लगानीका लागि आह्वान गरिने आयोगका उपाध्यक्ष खिमलाल देवकोटाले बताउनुभयो ।
आधारपत्रले वार्षिक औसत आर्थिक वृद्धिदर ११ दशमलव २ प्रतिशत हुने र प्रतिव्यक्ति आय चार लाख पाँच हजार पुग्ने लक्ष्य लिएको छ । योजना अवधिका लागि कुल स्थिर लगानी ३२ खर्ब ३७ अर्ब आवश्यक हुने प्रक्षेपण गरिएको छ । उक्त लगानीमध्ये ६२ प्रतिशत निजी क्षेत्रबाट हुने अनुमान गरिएको उपाध्यक्ष देवकोटाले जानकारी दिनुभयो ।आयोगका सदस्य रामचन्द्र ढकालले आवधिक योजनाको आधारपत्रलाई टेकेर निजी क्षेत्रलाई लगानी गर्न प्रोत्साहन गरिने बताउनुभयो ।
कार्यक्रममा देशभरका विभिन्न क्षेत्रका ३ सय भन्दा बढी लगानीकर्ता, उद्योगी व्यवसायीको सहभागिता छ ।