विनु तिम्सिना
मोरङ । बैंकको ब्याजदर घटाउने पर्ने उद्योगी व्यवसायीले माग गरिरहेका बेला संघीय सरकारका अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बैंकको ब्याजदर तत्काल नघट्ने बताउनु भएको छ ।
निक्षेप बढेसँगै ब्याजदर आफैं घट्ने भन्दै अर्थमन्त्री खतिवडाले बरु उद्योगी व्यवसायीले जतिसक्दो धेरै बैंकमा निक्षेप जम्मा गर्नुपर्ने सुझाव दिनुभयो । अर्थमन्त्रालय राजस्व परामर्स समितिको आयोजनामा मोरङमा भएको आर्थिक वर्ष २०७६/०७७ को बजेट, राजस्व नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो सुझाव दिनुभएको हो । ‘बैंकले बढी नाफा कमाउनु हुँदैन भन्ने पक्षमा छु’ अर्थमन्त्री खतिवडाले भन्नुभयो, ‘राष्ट्रबैंकले १० प्रतिशतमा कर्जा प्रवाह गर्दा ४ प्रतिशतसम्म आउनुमा मेरो महत्वपुर्ण भुमिका छ ।’ ‘उद्योगी व्यवसायीले अझै २ प्रतिशतमा झार्नुपर्छ भन्नु जायज माग भएन ।’
उहाँले व्यवसायमा नाफा नभए कर तिर्न नसके जस्तै निक्षेप संकलन नभए बैंकले पनि नाफा कमाउन नसक्ने बताउनु भयो । बैंकले अत्याधिक ब्याजदर बढाएको र उद्योग व्यवसाय धरासायी भएको उद्योगीको प्रश्नमा अर्थमन्त्री खतिवडाले भन्नुभयो, ‘बैंकको ब्याजदर वार्षिक भएको तर व्यवसायीले दैनिक नाफा लिनसक्ने भएकाले अंकगणितको हिसावमा कालोबजारी ऐनको कुरा उठाए स्वीकार्य हुदैन ।’
छलफल तथा अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यवसायीको तर्फबाट मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तुत गर्दै सारडाले देशले आर्थिक समृद्धि हासिल गर्ने खालको बजेट आगामि आर्थिक वर्षमा आउनु पर्नेमा जोड दिनुभयो ।
अर्थमन्त्रीलाई विराटनगरका ३ दर्जन बढी उद्योगीले आफ्ना सुझाव राखेका थिए ।
मजदुर नेताहरुले योगदानमा आधारित सामाजिक सुरक्षा योजना अनुसार मजदुरले तलब नपाएको विषय पनि उल्लेख गरेका थिए । उद्योगीहरु ताराचन्द खेतान, पुण्य भट्टराई, शंकरलाल अग्रवाल, कृष्ण मुरारी भण्डारी, शिवशंकर अग्रवाल, किशोर धमला, अरुण राठी, सुनिल तिवडेवाललगायतले अर्थमन्त्री खतिवडालाई आर्थिक समृद्धिलाई सुहाउँदो बजेट निर्माण गर्न र स्वदेशी उद्योगको प्रवद्र्धन गर्न सुझाव दिएका थिए ।