झापा । मेचीनगर नगरपालिका ६ का १६ वर्षीय किशोर किरण कार्की ढोली (दर्जी) को रहस्यमयी मृत्यु भएको विषयमा छानबिन गर्न माग गरिएको छ । अनारमणी ईलाका प्रहरी कार्यालय बिर्तामोडमा रहस्यसय मृत्यु भएका ढोलीको विषयमा अधिकारकर्मीहरुले सत्यतथ्य छानबिनको माग गरेका हुन् ।
उनीहरुले विभिन्न ५ बुँदे माग अघि सार्दै तीन दिनभित्र घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गरेका हुन् । शुक्रबार साँझ झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै बिभिन्न क्षेत्रका अधिकारकर्मीहरुले घटना शंकास्पद भएकाले तत्काल छानबिन गर्न सरकारसँग माग गरेका छन् ।
ढोलीलाई गत चैत्र २९ गते १० हजार रुपैयाँ चोरीको अभियोगमा ईलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको थियो । ढोलीले बैशाख २ गते बिहान २ बजे आत्महत्या गरेको प्रहरीको भनाइ छ । तर अधिकारकर्मीहरुले भने घटनाको प्रकृति हेर्दा किरणले आत्महत्या गरेको हुुनै नसक्ने दाबी गरेका छन् ।
पत्रकार सम्मेलन मार्फत अधिकारकर्मीहरुले घटनाका बिषयमा बिभिन्न ५ बुँदे माग अघि सारेका छन् । उनीहरुले ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी सुवास खड्कालाई निलम्बन, अधिकारकर्मी सहितको छानबिन आयोग गठन, दोषीलाई कडा कारबाही र मृतकका परिवारलाई उचित क्षतिपूर्ती दिनुपर्ने माग गरेका हुन् ।
अधिकारकर्मीहरुले किरणलाई पक्राउपूर्व अदालतको स्वीकृति नलिएको, पक्राउ पश्चात अभिभावकलाई खबर नगरी मृत्युपछि मात्रै खबर गरेको, मृतक बालकको उमेर गलत उल्लेख गरेको, आत्महत्या भएको स्थानको स्थलगत अवस्था पत्याउनै नसक्ने रहेको लगायतका विषयलाई पत्रकार सम्मेलनमा समेटेका थिए । आफुहरुले राखेको माग तीनदिन भित्र पूरा गर्न समयसीमा दिएको उत्पीडित अधिकार मञ्च झापाका अध्यक्ष टिकाराम मंग्रातीले जानकारी दिनुभयो ।
घटनाका विषयमा जारी विज्ञप्तीमा उत्पीडित अधिकार मञ्च झापाका अध्यक्ष टिकाराम मंग्राती, मुक्त्ति समाज १ नम्बर प्रदेश कमिटी सदस्य छविलाल विश्वकर्मा, नेपाल दलित संघका केन्द्रीय सदस्य नगेन्द्र शंकर, मुक्त्ति समाज झापाका अध्यक्ष भोला परियार, मुक्त्ति मोर्चाका जिल्ला सदस्य मोहन पौडेललगायतका अधिकारकर्मीहरुले संयुक्त हस्ताक्षर गरेका छन् ।