अथाह पर्यटकीय सम्भावना रहेपनि कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेत जिल्लाले बाढी पीडित र अव्यवस्थित बसोबास लगायतका चूनौति झेलिरहेको छ । तर आफूले निरन्तर पहल गरिरहेकाले चाँडै यस्ता समस्याको समाधान हुने बताउनुहुन्छ, क्षेत्र नंं. २ बाट निर्वाचित सांसद नवराज रावत । प्रस्तुत छ, सत्तारुढ नेकपाको प्रदेश कमिटी सदस्य समेत रहनुभएका राउतसँग जिल्लाको विकाश निर्माण, पार्टी राजनीति र समसामयिक विषयमा केन्द्रित रहेर जनतासमाचार डटकमका समाचारदाता नरेश न्यौपानेले गर्नुभएको छोटो संवादः
आजभोलि तपाईंको बढी व्यस्तता के मा छ ?
अहिले संसदको हिउँदे अधिवेशन सम्पन्न भएर वजेट अधिवेशनको तयारी संसदले गरिरहेको छ । संसद नभएकोले जनताको बीचमा गएर काठमाडौं फर्किएको छु । विशेष गरि सुर्खेत निर्वाचन क्षेत्र नं. २ का प्रत्येक गाउँहरुमा गएर जनतासंग साक्षात्कार गरियो । त्यहाँका चारवटै स्थानिय तहका जनप्रतिनिधि र स्थानियहरुसँग विकास निर्माणका योजनाबारे विभिन्न छलफल गरियो । स्थानिय तहका कार्यपालिकाका बैठकहरुमा सहभागिता जनाइयो । यसरी जनतासँग २१ दिन अन्तक्रिया गरेर वर्षे अधिवेशनका लागि उहाँहरुका सुझाव संकलन गरेर केही दिन अघि मात्रै राजधानी आइपुगेको छु ।
सुझावहरु संकलन गरियो भन्नुभयो, के के छन् तपाइलाई जनताका सुझाव ?
कर्णाली प्रदेशको राजधानी समेत रहेको दुई नम्बर निवार्चन क्षेत्र विकटमा भएका गाउँपालिका र सुगममा भएका नगरपालिकाका आ आफ्ना खालका सुझाव छन् । पहिलो त विगतको भन्दा यो वर्ष वजेटमा वृद्धि हुनुपर्छ भन्ने सुझाव सबैतिरबाट आएको छ । स्थानिय तहले पाउनुपर्ने बजेट कमी भएको गुनासो छ । यसमा पहलकदमी लिनुपर्यो भन्नुभएको छ । दोश्राे, आगामी बजेटमा वृद्धवृद्धाहरुलाई चुनावी घोषणा बमोजिम सम्वोधन गर्नुपर्छ भन्ने सुझाव खासगरी पार्टीका कार्यकर्ता साथिहरुले दिनुभएको छ । तेश्राे, केन्द्रले सम्बोधन गर्न सकिने सडक, विद्युत, खानेपानी, शिक्षा र खासगरी यहाँको पर्यटकिय विकाशका सवालमा केन्द्रित भएर काम गर्न जनताको राय मिलेको छ । यस्तै, चौकुने सिमेन्ट उद्योग र अछाम, कैलाली र डोटी लगायतका जिल्लासँग जोड्ने कर्णाली नदीमा पक्की पुलको निर्माण गर्ने जस्ता केही ठुला कामहरुमा सबैको चासो छ ।
मैले खासगरि मेरो जिल्लाका विकास निर्माणका विषयहरु नै संसदमा उठाउने गरेको छु । कर्णाली प्रदेशको राजधानी भएपनि मेरो जिल्लामा रहेको बाढीपीडित र जग्गाको पुर्जा भएका तर जग्गा नभएका जनसमुदायको समस्या समाधान गर्नुपर्ने विषय उठाइरहेको छु ।
तपाई सांसदमा निर्वाचित भए यता जिल्लामा कुनै महत्वपूर्ण विकास निर्माणका कामहरु सम्पन्न भएका छन् ?
क्रमागत रुपमा काम भइरहेका धेरै योजनाहरु छन् । खासगरी विद्युतको काम टेण्डर प्रक्रियामा गएको छ । चोकुने र बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकामा पहिलोपटक गतसालको बजेटले सम्बोधन गरेको छ । ठेकेदारका लापर्वाहीका कारण केही ढिलाई भएपनि यसको काम अघि बढेको छ । राकेश अग्रवाललगायतका ठेकेदारलाई त मैले काममा ढिलाई नगर्न धेरैपटक सचेत पनि गराएको छु । अहिले काम रोकिएको र ४० प्रतिशत मात्र काम भएको तर ठेकेदारको अवधि सकिएको भन्ने बुझिएको छ । यस्तो अनियमितता गर्ने ठेकेदारमाथि कार्वाहीको प्रक्रिया नै अघि बढाउने कि भन्ने लागिरहेको छ । सम्बन्धित विभाग र मन्त्रालयमा पनि मैले ध्यानाकर्षण गराइसकेको छु ।
विकास निर्माणको सवालमा आफ्नो निवार्चन क्षेत्रमा तपाईंका चुनावअघिका प्रतिवद्धता के के थिए ? ति योजनाहरुमा कत्तिको काम भएको छ ?
प्राथमिकताका मुख्य सवालहरु जनताले माथी दिएका रायहरु नै थिए । केहीमा काम अघि बढेको छ । मैले जनताको बीचमा खासगरी काँक्रेविहार, बुलबुले ताल लगायतका पर्यटकिय क्षेत्रको विकाश, पश्चिम सडकको निर्माण, विद्युत लगायतका विषयहरु आफ्नो प्राथमिकताका रहेको बताएको थिएँ । यि चारै क्षेत्रको विकासको काम अघि बढेको छ । मैले चुनाव अघि भनेजस्तै बाङ्गेसिमल उताको सडक पहिलोपटक केन्द्रिय योजनामा समावेश गराइएको छ र त्यसको ९४ कि.मी सडक आगामी १२ गते खुल्दैछ ।
नेकपाका सांसदहरुले विकासका सवालमा देशैभरि प्रतिपक्षी कांग्रेससँग परामर्श नगरेको भन्ने आरोप सुनिन्छ, तपाइको हकमा पनि यस्तै हो ?
विकास निर्माणमा पक्ष वा प्रतिपक्ष भन्ने हुँदैन । हिजो कुनै बेला हामी पनि प्रतिपक्षमा थियौं । म हाम्रो निर्वाचन क्षेत्रका सबैको प्रतिनिधिको रुपमा कम गरिरहेको छु । हाम्रो निर्वाचन क्षेत्रमा ३ वटा स्थानिय तह कांग्रेसले र एउटा मात्र नेकपाले जितेको छ । मैले जहिले पनि विकास सबैको साझा सवाल हो भनेर सबैसँग सहकार्य गर्दै आइरहेको छु । बरु हाम्रोमा स्थानिय तहमा रहेका कांग्रेसका साथिहरुले हामीसँग परामर्श नगर्ने, टाढा टाढा हुन खोज्ने गर्नुभएको छ र यही कारण उहाँहरुलाई नै घाटा भएको छ । त्यसैले विकासका सवालमा देशभरका सांसदहरुमध्ये प्रतिपक्षसँग धेरै परामर्श गर्ने सकभर म नै हुँला ।
तपाई लामो समय सुर्खेतको पार्टी प्रमुखको भूमिका निर्वाह गरिसकेको प्रदेशको जिम्मेवार नेता पनि हुनुहुन्छ, एकतामा भइरहेको ढिलाईले त्यहाँको पार्टी संगठनमा कस्तो असर परेको देख्नुहुन्छ ?
तपाइले संकेत गरेजस्तो पार्टी कार्यकर्तामा केही नैराश्यता मैले पनि पाएको छु । म पनि पार्टीकै सदस्य भएको हुनाले यो महशुस नहुने कुरै भएन । अस्ती वैशाख ३ गते पार्टी एकता घोषणा भएको एक वर्ष नै भइसक्यो । तर ठुलो पार्टी भएको हुनाले जिल्लाको सन्दर्भमा मात्रै यस्तो देखिएको हो । निरन्तर नेताहरुको बीचमा छलफल भइरहेको हुनाले राम्ररी नै एकता टुंग्याउने गरि तयारी हुँदा ढिलाई हुन गएको हो भन्ने लाग्छ । पार्टीका कमिटीहरु नभएका कारण केही असहजता भएको छ । तर अब त्यो लामो जाँदैन । नेताहरु पनि यसमा संवेदनशील नै छन् भन्ने लाग्छ ।
नेकपाको सरकारले आफैले घोषणा गरेका कामहरु पनि गर्न नसकेको भनेर व्यापक आलोचना भइरहेको सुनिन्छ, यहाँले कसरी मुल्याङ्कन गर्नुभएको छ ?
यो त्यती अस्वभाविक हो जस्तो मलाई लाग्दैन । २०१५ सालको कांग्रेसको दुइतिहाई प्राप्त सरकार पछि यो नै शक्तिशाली सरकार बनेको छ । यस्तो बलियो सरकारसँग जनताका अत्याधिक अपेक्षाहरु हुनु अन्यथा पनि होइन । तर वास्तविकता के हो भने, आज देश नयाँ व्यवस्थामा आइपुगेको छ । एकातिर कयौं नयाँ कानुनहरु निर्माण गर्नुपर्ने र अर्कोतिर विकासको जग बसाल्नुपर्ने बाध्यतामा सरकार छ । यस्तो बेलामा मानिसहरुले तत्कालिन नेकपा एकालेको नौं महिने सरकारले गरेको जस्तो परिणामको अपेक्षा गरिरहेका छन् । तर यो केवल विकास मात्रै नभई नयाँ व्यवस्था पनि संस्थागत गर्नुपर्ने बेला हो भन्ने तथ्य बुझ्न जरुरी छ । हाम्रै पार्टीका पनि कयौं नेताहरुले बुझेर बुझ पचाइराखेको देख्छु ।
तपाईंले संसदमा प्राथमिकताका साथ उठाउने गरेका सवालहरु के के हुन ?
मैले खासगरि मेरो जिल्लाका विकास निर्माणका विषयहरु नै संसदमा उठाउने गरेको छु । कर्णाली प्रदेशको राजधानी भएपनि मेरो जिल्लामा रहेको बाढीपीडित र जग्गाको पुर्जा भएका तर जग्गा नभएका जनसमुदायको समस्या समाधान गर्नुपर्ने विषय उठाइरहेको छु । प्रधानमन्त्रीले बाढीपीडितको समस्या सम्बोधन गर्ने पनि बताउनुभएको छ । जिल्लामा ९७४ जना बाढीपीडित रहेका छन् र यो समस्या सकभर असार मसान्तभीत्र समाधान हुँदैछ । ६० प्रतिशत केन्द्रले, ३० प्रतिशत प्रदेशले र १० प्रतिशत स्थानिय तहले बजेट बेहोर्ने गरि एउटा कार्यविधी बनिसकेको छ । त्यस्तै, मेरो निर्वाचन क्षेत्रमा ४० देखि ४५ प्रतिशत अव्यवस्थित बसोबास छ र यो छिट्टै समाधान गर्नुपर्यो भनेर संसदमा धेरै बोलेको छु । कर्णाली नदीका विभिन्न स्थानमा पक्की पुलको निर्माण, पर्यटन र सडक निर्माणमा मेरो मुख्य जोड त छँदैछ ।