काठमाडौं । रूपान्तरण नेपालले प्रादेशिक पुस्तकालय स्थापनाका लागि बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशको सहयोगमा शुक्रबार प्रदेश राजधानी सुर्खेतमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बहुद्देश्यिय तथा बहुआयामिक प्रादेशिक पुस्तकालय आजको आवश्यकता भएको धारणा राख्नुभयो । मन्त्री ज्वालाले पुस्तकालय स्थापनाका लागि प्रदेश सरकारबाट पूर्ण रूपमा सहयोग हुने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । प्रहरी प्रदेश प्रमुख एवम् पुस्तकालय अभियन्ता मेहेश विक्रम शाहले पढ्नका लागि कैदीहरूलाई सबैभन्दा बढि फुर्सद हुने भएकाले उनीहरूलाई सुधार्नका लागि १० वटै जिल्ला कारागारमा पुस्तकालय शुरूवात गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कारागारलाई वास्तवमै सुधार गृहका रूपमा विकास गर्न लागिपरेको छु ।’
चामुण्डाविन्द्रासैनी नगरपालिकाका उप–प्रमुख तारा शाही खत्रीले स्थानिय तहमा पनि पुस्तकालय स्थापनाको खाँचो रहेको औंल्याउदै प्रादेशिक पुस्तकालयको अवधारणा स्वागतयोग्य रहेको बताउनुभयो । सामाजिक विकास मन्त्रालयका शिक्षा महाशाखा प्रमुख दामोदर फुयाँलले प्रादेशिक पुस्तकालय स्थापनाका लागि मन्त्रालयबाट यथोचित सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा कर्णाली प्रदेशमा पुस्तकालय स्थापनाका लागि नेपाल राष्ट्रिय पुस्तकालयका पूर्व प्रमुख तथा पुस्तकालयसम्बन्धी विज्ञ यादवचन्द्र निरौलाले अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । विज्ञ निरौलाले प्रस्तुत गर्नुभएको अवधारणामाथि शिक्षा विकास निर्देशनालयका कायम मुकायम निर्देशक भक्तबहादुर भण्डारी, वीरेन्द्रनगर नगरपालिकाका पूर्व मेयर एवम् पुस्तकालय अभियन्ता वालाराम शर्मा, सार्वजनिक पुस्तकालय अभियन्ता भक्तबहादुर खड्का, युवा अनुसन्धानकर्ता राजेन्द्र विष्ट, हिमाली पुस्तकालयका सचिव दिव्यराज खड्का, कारागारका लागि पुस्तकालय अभियानका सह–संयोजक सुशिला श्रेष्ठ, कर्णाली अनुसन्धान केन्द्रका संयोजक कुमारविक्रम शाही, प्रगतिशिल लेखक संघका उपाध्यक्ष सीता ऐरी, सुर्खेत शिक्षा क्याम्पसका लाइवेरियन डम्बर ढकाललगायतले टिप्पणी गर्नुभएको थियो ।
रूपान्तरण नेपालका अध्यक्ष मोहन शाहीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण उपप्राध्यापक विष्णुकुमार खड्काले गर्नु भएको थियो ।