प्रकाश न्यौपाने
रुपन्देही । आठौं राष्ट्रिय पुरुष टी–ट्वन्टी क्रिकेट प्रतियोगितामा लगातार तीन–तीन खेल जित्दै विभागीय टिम नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल(एपीएफ) सेमिफाइनलमा पुगेका छन् । शनिबार भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई ५ र पुलिसले सुदूरपश्चिम प्रदेशलाई ४ विकेटल पराजित गरेका हुन् ।
जितका लागि गण्डकीबाट पाएको ७५ रनको लक्ष्य एपीएफले १४ ओभरमा ५ विकेट क्षतिमा पुरा गर्यो । उसका लागि शंकर रानाले ८ चौकाको मद्दतमा ३५ रन बनाए । यस्तै, प्रदीपसिंह ऐरीले २१ रनको योगदान गरे । बलिङमा गण्डकीका करण केसीले ३, विपिन खत्री र किशोर महतोले १–१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकीले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ७४ रन बनाएको थियो । उसका लागि आकाश थापाले २०, गोविन्द प्रधानले १२ र किशोर महतोले १० रन बनाए । बलिङमा एपीएफका भुवन कार्कीले ३, यज्ञमान कुमालले २, अमरसिंह रौतेल, बसन्त रेग्मी र शरद भेषावकरले १–१ विकेट लिए । एपीएफका भुवन कार्की ‘म्यान अफ द म्याच’ घोषि भए ।
अर्को खेलमा जितका लागि सुदूरपश्चिमबाट पाएको १ सय ७ रनको लक्ष्य पुलिसले १७ दशमलव ३ ओभरमा ६ विकेट क्षतिमा पुरा गर्यो । उसका लागि अमित श्रेष्ठले ३५ तथा सुनिल धमलाले ३२ रन बनाए । बलिङमा सुदूरपश्चिमका नरेन्द्र साउद र शेर मल्लले २–२ तथा महेश अधिकारी र विकास अगारीले १–१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले ५ विकेटको क्षतिमा १ सय ६ रन बनाएको थियो । उसका लागि खडक बोहोराले ४८ र शेर मल्लले नटआउट ३७ रन बनाए । बलिङमा पुलिसका ललित राजभण्डारी, रामनरेश गिरी र आरिफ सेखले १–१ विकेट लिए । पुलिसका अमित श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए । समूह चरणको अन्तिम खेलमा आइतबार प्रदेश पाँच र गण्डकी प्रदेश तथा विभागीय टीम पुलिस र एपीएफ भिड्नेछन् ।