काठमाडौं । पूर्वी पहाडी जिल्ला भोजपुरकी स्रष्टा कविता राई आफ्नो पहिलो कविताकृति ‘आमा र जून’ सार्वजनिक भएको छ । राईको कविता कृति ‘आमा र जून’ शनिबार राजधानिमा भोजपुरका सङ्घीय सांसद सुदन किरातले लोकार्पण गर्नुभयो । सांसद कारीतको साथमा नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख प्राज्ञ डा. हेमनाथ पौडेल, प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य सचिव एवम् प्रगतिशील लेखक सङ्घका नवनिर्वाचित अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरी, प्राज्ञ एवम् वाङ्मय परिषद्का अध्यक्ष शशी लुमुम्बूलगायतले कृतिका् लोकार्पण गर्नुभएको हो ।
नेपाली वाङ्मय परिषद्द्वारा आयोजित समारोहमा कृति विमोचनपछि बोल्दै सांसद राईले साहित्यले राजनीतिलाई मार्गदर्शन गर्ने बताउनुभयो । ‘मेक्सिम गोर्कीले ‘आमा’ उपन्यास लेखेकै कारण रुसमा राजनीतिक परिदृश्य कायापलट भयो ।’ उहाँले भन्नुभयो, ‘लुसुनको साहित्य र माओको क्रान्ति एकआपसमा अन्तरसम्बन्धित भएकाले समाज परिवर्तन र राष्ट्रको समृद्धिमा साहित्यको महत्वपूर्ण भूमिका रहदै आएको छ ।’ सांसद किरातले राईको ‘आमा र जुन’ मा संग्रहित कतिपय कविताहरू आफ्नै जीवनका बारेमा लेखिएको जस्तो लाग्ने बताउनुभयो ।
प्राज्ञ डा. होमनाथ पौडेलले लोकार्पित कृतिभित्र ग्रामीण जीवन र परिवेशको सघनता पाइने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कविताहरूले मानिसका सपना बोकेका छन् । लोकभावना र लोकसंवेदनालाई सरल ढङ्गबाट प्रस्तुत गरिएको छ ।’
समालोचक डा. नारायण गड्तौलाले लोकार्पित कृतिबारे समिक्षात्मक टिप्पणी गर्दै कविले आफ्नो अन्तरले भोगेको स्वर्गलाई बुनेर यथार्थ र कल्पनाको सुन्दर कला बुनेको बताउनुभयो । कृतिभित्रका कविताहरू अब्बल रहेको गड्तौलाको ठम्याई थियो ।
प्रा.डा. गिरी, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका श्याम तमोट, प्रदेश सभा सांसद राजेन्द्र राई, पूर्व सांसद जयन्ती राई र गीतकार टीका चाम्लिङले कवि राईका कविताहरू सरल र सम्प्रेषणीय हुनुका साथै अब्बल भएको बताउनुभयो । कार्यक्रममा कविता लेखनको अनुभूतिसहित कृतिकी स्रष्टा राईले ‘बाबा’, ‘रुवाइ’, ‘आमा र जून’ शीर्षकका तीन कविता वाचनसमेत गर्नुभएको थियो ।