अरु शुक्रबारझैँ यो साता पनि सिनेमा हलमा नेपाली चलचित्र चल्नुपर्ने थियो । तर यो साता हलमा कुनै पनि नेपाली चलचित्र प्रदर्शनमा आएनन् । कुनै शुक्रबार दुई देखि तीनवटासम्म नेपाली चलचित्र प्रदर्शनमा आउने गरेको सिनेमा हलमा यो साता भने एउटा पनि चलचित्र प्रदर्शनमा आएनन् । किन यसो भइरहेको छ ? के चलचित्र नै नबनेर प्रदर्शन नभएका हुन् त ? त्यसो फिटिक्कै होइन । नेपाली चलचित्र बन्ने क्रम वर्षैपिच्छे बढिरहेको छ । वर्षमा १ सय २० भन्दा बढी चलचित्र निर्माण भइरहेको नेपाली चलचित्र क्षेत्रमा सिनेमा नभएर प्रर्दशनमा नआएका होइनन् । त्यसो भए हो चाहिँ के त ? प्रश्न उब्जनु स्वाभाविक हो ।
यसमा प्रवेश गर्नुअघि नेपालमा हिन्दी सिनेमाका प्रभाव र यसको व्यापारबारे चर्चा गरौँ । नेपालमा नेपाली सिनेमा निर्माण नहुँदा अझ भनौँ एकदमै कम निर्माण भएको समयमा सिनेमाघरमा हिन्दी चलचित्र नै प्रदर्शन हुन्थे । उसो त अहिले पनि नेपालमा हिन्दी चलचित्र प्रदर्शनमा कमी आएको छैन, अझ बढिरहेको छ । नेपाली सिनेमाले भन्दा गज्जबको व्यापार हिन्दी सिनेमाले गरिरहेको तितो यथार्थ पनि हामीमाझ जगजाहेर नै छ । यद्यपि केही ब्यानरका यस्ता चलचित्र पनि छन्, जसले आशालाग्दो व्यापार गरिरहेका हुन्छन् ।
नेपाली चलचित्र धेरै निर्माण भइरहे पनि कुनै साता नेपाली फिल्म नै प्रदर्शन नहुनुमा चलचित्र निर्मातामा हिन्दी चलचित्रप्रतिको डर मुख्य कारण हो । हुन त आफूले लगानी गरेका चलचित्रले राम्रो व्यापार गरोस् र त्यहाँबाट केही नाफा आर्जन गरौँ भन्ने निर्माताको सोच अस्वाभाविक मान्न मिल्दैन । तर त्यसका लागि हिन्दी चलचित्रसँग प्रतिस्पर्धा गर्नै डराउनु पनि मनासिव पक्कै होइन ।
नेपाली चलचित्रको विकास र बिस्तारका लागि अन्य भाषासँग प्रतिस्पर्धा गर्ने किसिमका चलचित्र बनाएर विदेशीलाई हलबाट बिस्थापित गर्नेसम्मको आँट देखाउनु जरुरी छ
हिन्दी चलचित्रसँग प्रतिस्पर्धा गर्न सक्ने मौलिक विषयबस्तु समेटेर चलचित्र बनाइ टक्कर दिनु त कहाँ हो कहाँ, यहाँ त ठूला ब्यानरका हिन्दी चलचित्र प्रदर्शन हुँदा त्यो साता एउटा पनि नेपाली चलचित्र प्रदर्शन नहुनेसम्म अवस्था छ । अझ भनौँ, यहाँका निर्माता तथा चलचित्रकर्मी ठूला ब्यानरका हिन्दी चलचित्रको प्रदर्शन मिति हेरेर आफ्नो चलचित्रको प्रदर्शन मिति तय गर्ने गर्छन् ।
यस्तै, घटना ठ्याक्कै एकवर्ष अघि पनि भएको थियो । वर्षदिन अघि प्रदीप खड्का स्टारर चलचित्र ‘लिलिबिली’को प्रदर्शन मिति भारतीय चर्चित चलचित्र ‘२.०’ लाई आधार मानेर कहिले वर त कहिले पर सारिएको थियो ।
नेपाली चलचित्रको विकास र बिस्तारका लागि अन्य भाषाका चलचित्रसँग प्रतिस्पर्धा गर्ने किसिमका चलचित्र बनाएर त्यस्ता हलबाट बिस्थापित गर्नेसम्मको आँट देखाउनु जरुरी छ । उसो त केही ठूला ब्यानरले बनाएको चलचित्रले करोडौँको व्यापार गर्दै हिन्दी चलचित्रका शो लाई नै हलबाट हटाएका थिए ।
नेपाली मौलिक विषय समेटेर बनाइएका चलचित्रले पछिल्लो समय दर्शकको एकदमै राम्रो साथ पाएका छन् । ‘गोपी’, ‘पशुपतिप्रसाद’, ‘बुलबुल’ जस्ता सिनेमा यसका उदाहरण हुन् । मौलिक र दर्शकले रुचाउने विषयबस्तु समेटेर चलचित्र बनाउन सके, नेपाली सिनेमाको प्रदर्शन मिति निर्धारण गर्न हिन्दी चलचित्र प्रदर्शन मिति हेरेर आफ्नो चलचित्र प्रदर्शन मिति तोक्न डराउनु पर्ने अवस्था अन्त्य हुनेछ ।
याे पनि पढ्नुहाेस्