प्रेम बुढा
बर्दिया । ४ वर्षअघि मधुवनकी भीमसरा भूषाल खाना खाएर घरकै काममा व्यस्त हुनुहन्थ्यो । उज्यालो अनुहार, मनमा उमंग उस्तै थियो । काममा जाँगरिली, मेहनतमा इमान्दारिता । यी गुण आज पनि उस्तै छन् उहाँसँग । तर ओठको मुस्कान हरायो । सँगै सुख दुःख गरेर जीवन चलाउला, मिठो मसिनो खाउँला, परेको बेहोरौँला भन्दै आफ्नो जीवन उहाँले भुपेन्द्रलाई जिम्मा लगाउनुभएको थियो । हासी खुशी दुःख सुख जसोतसो चलेकै थियो । २ सन्तान भए ।
जिम्मेवारीले थिच्न थालेपछि भुपेन्द्र चीनको खासा जानुभयो । वैशाख १२ गते नेपालका आएको भूकम्पले चीनको खासामा कमाउन गएका श्रीमानलाई सम्पर्कविहीन बनायो ।
‘तिमीलाई कस्तो, बाबुनानी अनि आमाबुवालाई सञ्चै छ ?’ वैशाख ११ गते ३५ वर्षीय श्रीमानले भिमसरालाई सोधेका थिए । महिना दिनको छुट्टी मनाएर काममा फर्किए १८ दिनपछि श्रीमानको अन्तिम बोली सुन्नुभएकी भिमसराको जीवनमा प्रलय आयो । ‘मेरा श्रीमान अझै पनि फर्किएर आउनुहुन्छ जस्तो लाग्छ ।’ आँखाबाट बरर आँशु झरे अनि आफूलाई सम्हालिँदै भिमसराले दैनिक उज्यालोसँग दुख बाँड्दै भन्नुभयो ‘नेपालमै रोजगारी भएको भए मेरा श्रीमानको यो अवस्था हुने थिएन , जे जस्तो भए पनि मरेको बाँचेको थाहा हुने थियो ।’
मोबाइलमा श्रीमानको फोटो हेर्दै मन बहलाउने भिमसरा शिरमा श्रीमानले दिएको सिन्दुर अझै पनि लगाउनुहुन्छ ।
खासामा घरमा रंग लगाउने काम गर्ने श्रीमान भूकम्प आएको दिन काममा थिए । पानी परेका कारण उनका केही साथी काममा गएनन् । तिनै बाँचेका साथीले भुपेन्द्रको घरमा खबर पठाए । ‘भुपेन्द्र काम गर्ने घर भत्कियो तर अवस्था के छ भन्न सक्ने अवस्था छैन ।’ ४ वर्ष भयो श्रीमान सम्पर्कविहीन भएको आजसम्म भिमसराका श्रीमानको अवस्था थाहा छैन ।
‘ज्यान गएको भनेर बिर्सिउँ भने लास छैन ।’ रुँदै भिमसरा भन्नुहुन्छ ‘फर्केर आउँछन कि जस्तो लाग्छ तर आजसम्म कुनै खबर छैन ।’ श्रीमान फर्केर आउने आशामा बाटो हेर्दै संघर्ष गरिरहनुभएकी भिमसरा ९ कक्षामा पढ्ने छोरी र ७ कक्षा पढ्ने छोराको मुख हेर्दै घर व्यवहार गर्दै आउनुभएको छ । खर्च चलाउन उहाँ हाल एक सामुदायिक विद्यालयमा कार्यालय सहयोगीको रुपमा काम गरिरहनुभएको छ ।
भूकम्पको दिनबाट वेपत्ता हुनुभएका भुपेन्द्र भुरिगाउँका एक ठेकेदारमार्फत वानडे पास लिएर खासा जानुभएको थियो । परराष्ट्र मन्त्रालयदेखि गृह मन्त्रालयमा खोजी कार्यका लागि निवेदन दिएपछि पनि उहाँको वास्तविक अवस्था पत्ता लगाउन सरकारले कुनै चासो नदिएको परिवारको गुनासो छ