झापा । जिल्लामा एचआइभी सङ्क्रमण(एड्स)बाट एक दशकमा ३५ जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका कुलबहादुर पौडेलले एचआइभीबाट मृत्यु हुने ३५ पुगेको जानकारी दिनुभयो ।
पौडेलका अनुसार एचआइभीबाट २०६५ देखि २०७० सम्ममा १८ जनाले जीवन गुमाएका छन् । २०७१ सालमा मा ४ जनाको मृत्यु भएको छ । २०७२, २०७३ र २०७४ मा एक, एक जनाले जीवन गुमाएका छन् । २०७५ सालमा एचआइभीकै कारण मर्नेको संख्या बढेर १० पुगेको छ ।
जिल्लामा ६ सय १६ एचआइभी सङ्क्रमितले सरकारका तर्फबाट वितरित औषधि नियमित सेवन गरिरहेका छन् । एचआइभी सङ्क्रमणको मुख्य कारण असुरक्षित यौन सम्पर्क रहेको विभिन्न गैरसरकारी संस्थाको अध्ययनले देखाएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय, लवकुश आश्रम भद्रपुर, सहारा नेपाल विर्तामोड, आम्दा नेपाल दमक र नाइट चेस क्लब काँकरभिट्टाले एचआइभी सङ्क्रमितको परीक्षण, उपचार र हेरचाह गरिरहेका छन् ।
मेची अञ्चल अस्पताल भद्रपुरमा सिडीफोर परीक्षण गर्ने मेसिन राखिएको छ । भाइरल लोड परीक्षणका लागि नमूना सङ्कलन, ड्राइब्लड स्पट कलेक्सन, पिएमटिसिटी सेवा ‘प्रसूतिबाहेक’ जस्ता अति आवश्यक सेवा सङ्क्रमितले जिल्लामै पाउँदै आएको पौडेलले बताउनु भयो ।
लवकुश आश्रम भद्रपुरकी संस्थापक अध्यक्ष रञ्जु शर्माले जिल्लामा सन् २०१७ देखि २०१९ सम्ममा सङ्क्रमित महिलाबाट जन्मेका बच्चामा ३० नेगेटिभ र एक पोजेटिभ भेटिएको जानकारी दिनुभयो ।