स्याङ्जा । ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । बिरुवा गाउँपालिका–४ घर भई हाल पुतलीबजार नगरपालिका–३ बस्ने ३९ वर्षीया सुनिता थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले बताउनु भयो ।
सुनिता थापा र उनका पति हुमबहादुर थापाले विभिन्न समयमा जग्गा उपलब्ध गराइदिने भन्दै ३३ लाख ३९ हजार ठगी गरेको भनी पीडितले दिएको उजुरीका आधारमा थापालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
सुनिता थापाको नाममा पुतलिबजार नगरपालिका –३ आमबोटमा बाटोले छोएको, मूल्यवान घरसहितको जग्गा दिने भन्दै ठगी गरेको पीडितले आरोप लगाएका छन् ।
प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीका अनुसार पुतलिबजार–८ की कल्पना थापाबाट ५ लाख ३६ हजार, वडा नम्बर १३ की धनमाया आलेबाट २ लाख ५० हजार, वडा नम्बर–३ का रामबन्धु शर्माबाट १ लाख २३ हजार, पोखराका कमला नेपाल ढकालबाट २ लाख, पुतलीबजार – ३ की यामकुमारी जिटिबाट ८० हजार, सोही स्थानकी संगिता गुरुङबाट २ लाख, श्रीकृष्ण नेपालबाट १ लाख, भोलानाथ शर्माबाट १ लाख, फेदिखोला –३ की नानु चापागाईबाट ९० हजार, पुतलीबजार –३ की सोममाया श्रेष्ठबाट ३ लाख, सोही ठाउँका रश्मी भन्ने राममाया श्रेष्ठबाट ८ लाख, भाजे कामीबाट १ लाख, तेजनाथ कुमालबाट ४५ हजार, डिलकुमारी हमालबाट १५ हजार र पुतलीबजार –९ की पार्वती गिरीबाट ४ लाख गरी ३३ लाख ३९ हजार ठगी गरेको पीडितहरुले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।