काठमाडौं । अज्ञात रोगले हुम्लाको ताँजाकोट गाउँपालिकामा ८ जनाको मृत्यु भएको छ ।
अज्ञात रोगका कारण एक दर्जनभन्दा बढी बिरामी परेका छन् । एक सातासम्म फैलिएको अज्ञात रोगका कारण शुक्रबारसम्म मर्नेको संख्या ८ पुगेको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले बताउनुभयो । बिरामीको उचित उपचार र रोगको पहिचान नभएका कारण रोग फैलिँदै गएको छ ।
रोगबाट मृत्यु हुनेमा ताँजाकोट गाउँपालिका–१ का ७० वर्षीय कुशुमा रिठाल ६० वर्षीय सुरजित खड्का, वडा नम्बर २ का ५५ वर्षीय रङ्गे कोली, पाँच वर्षकी सुनकेसा सुनार, वडा नम्बर ३ का ७० वर्षीय अम्मकली मल्ल, ७५ वर्षीय बज्जीरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महिनाका बालक सञ्जिव थापा रहेको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जानकरी दिनुभयो ।
रोगबाट गाउँपालिका मैला, मदानलगायतका गाउँका मानिस बिरामी परेको स्थानीय बासिन्दाले बताएका छन् । शुरुमा बिरामीको टाउको दुख्ने, वाकवाकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने र अन्त्यमा मृत्यु हुने गरेको छ ।
ग्रामीण भेगमा रहेका स्वास्थ्य संस्थामा औषधि नहुनुका साथै स्वाथ्यकर्मी नबस्नुकै कारण उपचारमा समस्या हुँदै आएको स्थानीयवासीले बताएका छन् । एक हप्ताअघि पानी परेसँगै रोग फैलिएपछि मृत्यु हुनेको संख्या बढेको हो ।
स्वास्थ्यचौकीमा पर्याप्त मात्रामा औषधि नभएको र स्वाथ्यकर्मी नबसेकाले बिरामीको संख्या बढेको गाउँपालिका अध्यक्ष बागचल छन्त्याल मल्लले बताउनुभयो । मृत्यु हुनेको श्वासप्रश्वास र दमसम्बन्धी समस्या रहेको बताइएको छ ।