विमल खड्का
काठमाडौं । बागलुङको ढोरपाटन मुलुककै एक मात्र शिकार आरक्ष क्षेत्र । नाउर र झारल लगायतका दुर्लभ वन्य जन्तु मारे जेल जानुपर्छ । तर ढोरपाटनमा भने ती वन्यजन्तु मार्न पाइन्छ , त्यो पनि लुकिछिपी होइन खुलेआम नै । तर त्यस राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तोकेको रकम तिर्नुपर्छ । शिकार खेल्न चाहने साहसिक पर्यटकलाई आर्कषित पार्ने उदेश्यले ढोरपाटनमा हरेक वर्ष शिकार आव्हान गर्दै आएको छ ।
शिकार खेल्न अमेरिका, रुस, स्पेन, हंगेरी, साउथ अमेरिका, नर्वे लगायत मुलुकबाट पेशेवर शिकारी ढोरपाटन जाने गर्छन् । आरक्ष क्षेत्रको फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी ६ ‘ब्लक’मा शिकार खेलाउने गरिएको छ । वन्यजन्तु संरक्षण विभागको आव्हानपछि विभिन्न मुलुकका पर्यटक गोली गठ्ठासहित आउँछन् । तोकिएको समयमा शिकार खेल्छन् । शिकार खेल्नेक्रममा मारेका नाउर–झारल उनीहरुले लिएरै जान्छन् ।
वन्यजन्तु संरक्षण विभागले यस वर्ष १० नाउर र ४ झारल मार्नको लागि फागुनको अन्यदेखि वैशाखको पहिलो सातासम्मका शिकार आव्हान गरेको थियो । विभागले आर्थिक वर्ष २०७५/७६ को दोस्रो सिजनमा शिकारको लागि नाउरको प्रति वटा १३ लाख ५१ हजार र झारलको १३ लाख ५० हजार रुपैयाँ तोकेको थियो । ढोरपाटन क्षेत्रमा शिकार गराउँदै आएका कम्पनी नेपाल वाइल्ड लाइफ सफारिज, हिमालयन सफारिज, ग्लोबल सफारिज, ट्र्याक एण्ड ट्रेडर्ल प्रालि, नेपाल वाइल्ड लाइफ एडभेन्चर, र नेपाल वाइल्ड लाइफ आट फिटसमार्फत शिकारी ढोरपाटन पुगे ।
१० नाउर ४ झारल मार्नको लागि २ सय ६५ राउण्ड गोली छुट्याइएको थियो । त्यस मध्ये २५ गोली बन्दुक परीक्षणमा प्रयोग गरियो । शिकार क्षेत्रमा १० नाउरको शिकारका लागि २० गोली र ३ झारलका लागि ३ गोली खर्च भयो ।
ढोरपाटन आरक्षण आसपासमा शिकारका लागि आएका ६ शिकारीलाई ४० वटाको दरले २ सय ४० गोली दिइएको थियो । तर एक शिकारीले भने २५ गोली मात्र पाए । गोली पाएपछि शिकारी नाउर झारल मार्न तम्सिए । उनीहहरुले आफूले पाएको गोली नाउर तथा झारललाई प्रहार गर्न थाले । १ महिना १५ दिनको अवधिमा शिकारीले ६ नाउर र ३ झारल मारे । तर मार्ने कोटामा राखिएको ४ नाउर एक झारल भने जीवितै रहे ।
नाउर तथा झारल मार्ने उदेश्यले आएका हिमालयन सफारिज, नेपाल वाइल्ड लाइफ आट फिटमार्पत गएका अमेरिकी शिकारीको धोको अधुरै रह्यो । शिकारका लागि ढाेरपाटन पुगेका शिकारीहरु नाउर तथा झारल मार्न नसकेपछि उनीहरु रितो हात फर्किएका छन् । विगतमा शिकारका लागि धाइरहने हंगेरी र बेलारुसका शिकारी भने यस पटक आएनन् ।
शिकारको लागि छुट्याइएको २ सय ५६ मध्ये ४८ राउण्ड गोली खर्च भएको छ । २ सय १७ राउण्ड गोली भने शिकारीले फिर्ता लगेका छन् । वन्यजन्तु संरक्षण विभागले ढोरपाटन शिकार आरक्ष क्षेत्रको शिकारबाट वर्षेनी करोड भन्दा बढी राजश्व उठाउँदै आएको छ ।
आरक्षण अधिकृत तथा सूचना अधिकारी विष्णु रोकायाले दोस्रो सिजनमा शिकार वापत १ करोड ८९ लाख १० हजार रुपैयाँ राजश्व संकलन भएको जानकारी दिनुभयो । यस अघि असोज–मंसिर सिजनमा रोकायका अनुसार यस वर्ष पहिलो सिजनमा १ करोड ५० हजार रुपैयाँ संकलन भएको थियो ।