नारायण थापा
भक्तपुर । २०७२ मा आएको बिनासकारी भूकम्पमा परी २२ घण्टा पुरिएका बालक सोनिश अवाल अहिले ५ बर्ष पुगिसकेका छन् । तर उनको घर भने अझै ठडिन सकेको छैन् । भूकम्प जाँदा ४ महिनाका सोनिशलाई भुकम्पले भत्काएको घरले २२ घण्टा पु¥यो । २२ घण्टापछि नेपाली सेनाको टोलीले सकुशल उद्दार गरेपछि पुनः नयाँ जीवन पाएका सोनिशलाई नचिन्ने कमै होलान् ।
भूकम्पले भत्काएको घरमा सोनिशसँगै ९ बर्षकी उनकी दिदी सोनिया पनि २ घण्टा पुरिएकी थिइन् ।
२०७२ मा आएको भूकम्पले पु¥याएको क्षतिको स्मरण गर्दै दिदी सोनियाले भनिन्, ‘हामीलाई परेको जस्तो आपत कसैलाई पनि नपरोस् र भूकम्प पनि नआओस, कहिले कहीँ आउने भुकम्पको पराकम्पले पनि निकै तर्सिने गर्छु ।’
४ बर्षअघि बैशाख १२ को भूकम्पले श्याम र रस्मिला अवालको घर पूर्णरुपमा क्षती भएको थियो । क्षति पुगेको घर मापदण्डभित्र नपरेपछि एउटा कोठा भाडामा लिएर चारै जना कोचिएर बस्नु परेको सोनिसकी आमा रशिमलाले बताउनुभयो । ७२ को भूकम्पलाई स्मरण गर्दै उहाँले भन्नुभयो, ‘भूकम्पले छोरा र छोरी दुवै पुरिएपछि बाच्ने आशा मारिसकेको थियो, तर नेपाली सेनाको टोलीले सोनिस र सोनियालाई सकुशल उद्धार गरेपछि मात्रै बल्ल बाच्ने रहर पलाएको थियो ।’
‘भूकम्पले भत्काएको घर सडकको मापदण्डभित्र परेपछि नयाँ घर बनाउन नसकेका अवाल दम्पतिले भने, ‘सरकारले केहि सहयोग गरिदिए त हो, नत्र आफै नयाँ घर बनाएर बस्न सक्ने अवस्था नै छैन ।’ पुख्यौली वा आफैले आर्जन गरेको कुनै जग्गा जमिन छैन नभएकाले राज्यले प्रदान गर्ने नीजि आवास अनुदान योजनाको मापदण्डभित्र नपरेपछि चपेटामा परेको अवाल दम्पतिले जनाएका छन् । अहिले चार जनाको परिवार भक्तपुरको व्यासीस्थित एउटा कोठामा भाडामै गुम्सिएर बस्न बाध्य छन् । भूकम्पले भत्काएको घर अझै खण्डहरको रुपमा छ ।
सोनिशका पिता श्याम अवाल भन्नुहुन्छ, ‘४ बर्ष बितिसक्दा पनि घर बनाउन सकेको छैन, भूकम्पले भत्काएको घर जस्तोको त्यस्तै छ , सरकारी तवरबाट पनि अहिलेसम्म कुनै सहयोग छैन, दुई छोराछोरीलाई भने निशुल्क पढाउन पाएकाले केही राहत महशुस भएको छ ।’
सोनिशलाई नेपाली सेनाले र सोनियालाई एक जना व्यक्तिले पढाइदिएका छन् । उनीहरुको आम्दानीको स्रोत राम्रो नभएकाले दैनिक जीवनयापन कष्टकर छ । आमा रश्मिला भन्नुहुन्छ, ‘श्रीमानको सवारी चालक भएकोले उहाँकै पेशाबाट घर खर्च चलाउन गाह्रो छ, थोरै भएपनि राहत होलकाी भनेर आफु पनि सिलाई बुनाई गर्दै गुजारा गरिरहेको छु ।’
०७२ सालको भूकम्पका कारण जिल्लाका ३३ हजार घरमा पूर्ण रुपमा क्षती पुगेको थियो । जसमध्ये २८ हजार ३ सय ८ जना भुकम्प लाभग्राहीको सुचिमा सुचीकृत छन् । हालसम्म २४ हजार ३ सय ४७ जनाले पहिलो किस्ता, ७ हजार ८ सय ६३ जनाले दोस्रो र ७ हजार २ सय ५ जनाले तेस्रो किस्ताको रकम लिएर घर निर्माण गरेका छन् । भूकम्प गएको ४ वर्ष बितिसक्दा सरकारले नीजि आवास पुर्ननिर्माण अनुदान, प्रवलीकरणका क्षेत्रमा उलेख्य कार्य गरेको भएपनि भूकम्पबाट बिस्थापितहरुका लागि पुर्नस्थापनाका लागि पहल नगरेको उनीहरुको गुनासो छ ।