जमुनावर्षा शर्मा, म्याग्दी ।बेनी नगरपालिका वडा नं ९ मा रहेको घतान गाउँ गुलाबी गाउँले परिचित बन्दैछ । प्रेमको प्रतीक रातो गुलाब घतानका अधिकांश घर, आँगन र बारीमा देख्न सकिन्छ ।
बेनीबजारदेखि ५ किमी पर रहेको गाउँका हरेक घरमा फक्रिएका रातो गुलाबमा जो कोहीको आँखा पुग्छ । घर अगाडि झपक्क गुलाब झुलिरहेको दृश्यले गाउँको सौन्दर्यलाई समेत बढाइरहेको छ । घतान गाउँको झण्डै ८० प्रतिशत घरमा गुलाब रोपिएको वडा महिला सञ्जालका अध्यक्ष रश्मी बानियाँले जानकारी दिनुभयो ।
'गुलाबको फूल अधिकांशले मन पराउने फूल हो । गाउँमा गुलाब असाध्यै राम्रोसँग फुल्छ । घरको शोभा पनि यस फूलबाट देखिने हुँदा अधिकांशका घरमा गुलाब रोपिएको छ', बानियाँले भन्नुभयो, 'यति बेला गुलाब फक्रने समय, गाउँ नै उज्यालो भएको छ ।' यसको महत्वको उजागर भयो भने सो गाउँमा व्यावसायिक गुलाब खेती गर्न सकिने उहाँको भनाइ छ । गाउँको केही माथितिर भने लालीगुराँसको दृश्यले लोभ्याउने बानियाँले बताउनुभयो ।
गुलाब सेतो, पहेँलो रङका पनि पाइन्छ तर प्रणय दिवसमा रातो गुलाब नै आदानप्रदान गरिन्छ । कालो गुलाब प्रेमको अन्त्य मानिन्छ ।
भारतको जयपुरका घरहरु पिन्क (गुलाबी रङ) हुन्छन् । घतान गाउँले पनि गुलाबको पहिचान दिएकामा घतानीहरु खुशी देखिन्छन् । घतान ऐतिहासिक धार्मिक एव पर्यटकीयस्थलले समेत परिचित छ ।
रघुगङ्गा र कालीगण्डकी सङ्गममा रहेको नौ रोपनी क्षेत्रफलको चक्रशिलामा अवस्थित गलेश्वर धाम विश्वकै अलौकिक शक्तिका रुपमा मानिन्छ । यसै ठाउँमा पुलस्त्य ऋषिको आश्रम रहेकाले पनि यो गाउँ धार्मिक रुपमा पनि उत्तिकै परिचित छ ।
गाउँमा आउनेहरुले गाडी रोकेर फूलसँग तस्बिर लिने गरेको इच्छा महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष स्थानीयवासी शान्ति रोकाले बताउनुभयो । 'बाटो हिँड्ने सबैले मन पराउँछन् गुलाब, फोटो खिंचेर जान्छन्', भन्नुभयो । धौलागिरि बेस क्याम्प जाने पदमार्ग समेत उक्त गाउँ हुँदै जान्छ । धौलागिरि, माछापुच्छ्र्रे, नीलगिरी र अन्नपूर्ण हिमशृङ्खलाका सुन्दर दृश्यसमेत उक्त गाउँबाट देख्न सकिने उहाँको भनाइ छ ।
घतानमा झण्डै नौ सय घरधुरी छन् । कुल जनसङ्ख्या चार हजार ८ सय १० रहेकामा महिलाको सङ्ख्या दुई हजार २ सय ९५ तथा पुरुषको सङ्ख्या एक हजार ८ सय ९४ छ ।
आकर्षक गुलाबको फूलसँगै उक्त स्थान कृषिका लागि पनि उत्तिकै प्रसिद्ध मानिन्छ । घतानमा केराउ, टिमुर, सिमी र मुला, बन्दा, काउली, प्याज, लसुन र गोलभेंडाको राम्रो उत्पादन हुने गरेको वडाध्यक्ष बेलबहादुर चोखालले जानकारी दिनुभयो ।
घतानबासीले सिस्नोको धूलो उत्पादन गरेर आयआर्जनसमेत गर्दै आएका छन् । धान, मकै, कोदो र गहुँको अन्नबाली, फलफूलमा सुन्तला, क्यूबी र केरा तथा नगदेबाली अलैँचीको पनि राम्रो उत्पादन हुने गरेको वडाध्यक्ष चोखाल बताउनुहुन्छ ।
गाउँका झण्डै ८५ प्रतिशत मानिस कृषिमा निर्भर छन् । अन्य मानिस वैदेशिक रोजगार अन्य पेशा व्यवसायमा आबद्ध छन् । 'मुक्तिनाथ प्रवेशद्वार गलेश्वर धाम, पुलाश्रम हुँदै घतान, पुलाकोट, ढोलथान, जगन्नाथ, टोड्के र बेनी–गुफा मन्दिर, कपिल आश्रम, पुलाश्रमलगायतको मार्गलाई व्यवस्थित गर्ने कार्य अगाडि बढाएका छौँ', गाउँको प्रवर्द्धनका लागि गुरुयोजना तयार गरिरहनुभएका चोखालले भन्नुभयो ।