–संयोग नेपाल
काठमाडौं । आइतबार चर्चित संगीतकार बिजु बज्र (बिजु बज्राचार्य) को निधन भयो । उहाँको निधनबाट संगीत क्षेत्रले एक गहन साधक गुमाएको छ । विभिन्न चर्चित गीतमा संगीत दिनुभएका बिजुको निधनले सांगीतिक क्षेत्र शोकमा छ । सांगीतिक क्षेत्रका विभिन्न व्यक्तित्वले बिजुसँगको सांगीतिक जीवन सम्झिँदै सम्मान गरेका छन् ।
संगीतकार बसन्त सापकोटा बिजु बज्रका असल मित्र हुन् । संगीतकार संघ नेपालको सस्थापनामा दुवै सँगै थिए । भन्नुहुन्छ, ‘हामी दुवै संगीतकार भएकाले हामीले व्यक्तिगत रुपमा खासै काम गरेनौँ तर संगीतकार संघ स्थापनार्थ पहिलो बैठक नै उहाँको घरमा बसेका थियौँ ।’ संगीतकारहरुको हक र हितका लागि सधैँ आवाज उठाइरहेका बिजुलाई संगीतकार सापकोटाले एक मिलनसार र नयाँ काम गर्न रुचाउने व्यक्तिका रुपमा सम्झिएका छन् ।
यस्तै, संगीतकार बिजुसँग गायक सुगम पोखरेलले पनि काम गर्नु भएको थियो । दुवैले एक आपसमा ६–७ वटा गीत रेकर्ड गरेको भए पनि ‘तिमी म भन्दा कोसौँ टाढा छौ’ले मात्र चर्चा पाउन सक्यो । सुगमका अनुसार बिजुसँगको सहकार्यमा बनेका एक–दुईवटा गीत अझै रिलिज भएका छैनन् । बिजुसँग शुरुवाती चरणमा व्यावसायिक सम्बन्ध भए पनि पछि आफूहरुको पारिवारिक सम्बन्ध स्थापना भएको पोखरेल बताउनु हुन्छ । बिजु आफ्ना गीतमा फरक शैली प्रयोग गर्न रुचाउने र उनका गीतमा लोकशैली बढी मिसिने सुगमको बुझाइ छ । ‘हाम्रो चिनजान भएको २० वर्ष भयो, हामीले डेढ वर्ष पहिला ‘जुन बनेर’ बोलको गीत रेकर्ड गराएका थियौँ,’ पोखरेल भन्नुहुन्छ, ‘केहीसाता अघि प्रदर्शनमा आएको चलचित्र ‘यात्रा’मा गाइएको गीत पनि बिजुकै स्टुडियोमा रेकर्डिङ र एरेन्जमेन्ट भएको हो ।’
त्यसैगरी, अर्का संगीतकार बसन्त थापा बिजुलाई आदर्श व्यक्तिका रुपमा सम्झनु हुन्छ । ‘उहाँ प्रयोगात्मक काम गर्न रुचाउने व्यक्ति हुनुहुन्थ्यो,’ थापा भन्नुहुन्छ, ‘हामी एउटै क्षेत्रको मान्छे भएर पनि होला उहाँ एकदमै माया गर्नुहुन्थ्यो ।’ कुमार बस्नेतको स्वर र बिजुको संगीतमा एउटा भ्रष्टाचारविरोधी गीत रेकर्डका लागि शुक्रबार मात्र सल्लाह भएको बसन्त सम्झनु हुन्छ । त्यो भेट नै बिजुसँगको अन्तिम भेट भयो । बिजुसँग अहिलेसम्म काम नगरेकाे भए पनि आफूहरु एकदमै नजिक भएको बसन्तको भनाइ छ ।
संगीत, गायन र रचना तीन विधामा सक्रिय ब्रजको आइतबार बिहान हृदयघातका कारण ४८ वर्षकै अल्पायुमा निधन भयो । हृदयाघात भएपछि उहाँलाई उपचारका लागि सिभिल अस्ताल पु¥याइएको थियो । तर त्यहाँ उपचारक्रममा उहाँको निधन भएको हो । बिजुको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो ।
२०२८ मा गुल्मीको वामी टक्सारमा जन्मिनुभएका बिजुले अहिलेसम्म १ हजार पाँच सयभन्दा बढी गीतमा संगीत भर्नुभएको छ । र थुप्रै मन छुने गीत रचना गर्नुभएको छ । २०४९ मा रेडियो नेपालमा स्वर परीक्षा पास गरेपछि संगीत क्षेत्रमा व्यावसायिक रूपले लागेका बिजुका केही यस्ता गीत छन्, जुन कालजयी गीत बनेर जनजनको ओठमा गुञ्जिरहको छ । गुञ्जिरहन्छ ।
सुगम पोखरेलको स्वरमा रहेको ‘तिमी म भन्दा कोसौँ टाढा छौ’, कर्णदासको स्वरमा रहेको ‘बिस्तारै छायो आँखामा अँध्यारो’, आगन्तुक खरेलको स्वरमा रहेको ‘कुन रंगको कमी थियो र सानु’, रेश्मा सुनुवारको स्वरमा रहेको ‘मै ठूली भइछु रे’ लगायतका गीत बिजुका चर्चित गीतमा पर्छन् । उहाँले कोलाज, कन्फ्यूज, बलेसी, सिखा ल्याप्चे, प्रेमपत्रलगायतका दशवटा एल्बम निकाल्नु भएको छ । यी एल्बममा विजुको एकल संगीत छ ।
बिजुका श्रीमती, दुई छोरा र एक छोरी छन् । २०४८ मा परिवारसहित काठमाडौं आउनु भएका विजु काठमाडौंको बबरमहलमा परिवारका साथ बस्नुहुन्थ्यो ।