प्रदेशको नाम र राजधानीका लागि १९ गतेसम्ममा प्रस्ताव हाल्न सभामुख प्रदीपकुमार भण्डारीले आव्हान गरेसँगै दलहरुले छलफल तीव्र बनाएका छन् ।
सत्तारुढ दल नेकपाले बिहीबार बिहानैदेखि प्रदेशका पदाधिकारी तथा केन्द्रीय समिति सदस्यहरुसँगको विभिन्न चरणको छलफलबाट पनि कुनै ठोस निष्कर्ष ननिस्किएको छलफलमा सहभागी नेकपाका नेता तथा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले बताउनु भयो ।
यस्तै छलफल पछि सामान्य प्रतिक्रिया दिँदै नेकपाका नेता तथा सामाजिक विकासमन्त्री जीवन घिमिरेले शुक्रबार बिहान १० बजे सबै दलहरुसँग बैठक आव्हान गरेको र त्यसपछि निर्णय लिइने बताउनु भयो ।
नेकपाको पदाधिकारी तथा केन्द्रीय सदस्यहरुसँगको छलफल चलिरहेका बेला सोही पार्टीका कतिपय प्रदेश सांसदहरुले भने विराटनगर राजधानीको प्रस्ताव ल्याउने सरकारले तयारी गरेको भन्दै त्यसको विरुद्धमा हस्ताक्षर क्याम्पेन चलाएका छन् । नेकपाका नेता तथा भोजपुरका सांसद राजेन्द्रकुमार राईले दलका नेता तथा पार्टीको माथिल्लो निकायको ध्यानाकर्षण गराउनका लागि आफूहरुले हस्ताक्षर अभियान चलाएको बताउनु भयो ।
यद्यपि यस खालको विषय राम्रो नभएको भन्दै बैठकमा सहभागी नेकपाका केन्द्रीय सदस्य महेश रेग्मीले राज्यका संरचना विकेन्द्रीकरण गर्ने कुरा गर्नै नहुने बताउनु भयो ।
यसअघि प्रदेश सरकारले धरान, इटहरी, विराटनगरलगायतका १८ वटा स्थानीय तहलाई मिलाएर वृहत विराट क्षेत्र निर्माण गरेको थियो ।
संसदबाट उक्त विषयमा कानून समेत बनिसकेको छ ।
सांसदहरुले राजधानी वृहत विराट क्षेत्रलाई तोक्नु पर्ने माग गर्दै नेकपाका ३७ जनाभन्दा बढी सांसदहरुले हस्ताक्षर गरेको बताइएको छ । उक्त संख्या नेकपा संसदीय दलको बहुमत संख्या हो ।
नेपाली कांग्रेसले भने प्रदेशको राजधानी वृहत विराट क्षेत्र तोक्ने कुरा आफूहरुलाई अमान्य हुने बताए पनि कहाँ राख्नु पर्ने भन्ने विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन । अन्य साना दल संघीय समाजवादी फोरम नेपाल, संघीय लिम्बूवान राष्ट्रिय मञ्च, राप्रपा नेपालले पनि छलफललाई तीव्र पारे पनि स्पष्ट धारणा सार्वजनिक गरेका छैनन् ।
संविधानले प्रदेशको नामाकरण र राजधानीको टुंगो लगाउन प्रदेशसभाको दुई तिहाई मत आवश्यक पर्ने ब्यवस्था गरेको छ ।
प्रदेशसभामा नेकपा एक्लैको दुई तिहाइ मत रहेको छ ।