भिम चौधरी
डोटी । ‘पानी देखिँदैमा फोहोर छ तर के गर्नु विकल्प छैन,’ कर्णबहादुर बमले भन्नुभयो, ‘मूलमा रहेको कीरा माछाले खान्छ भनेर मूलमा माछा हालेर पानी पिउँदै आएका छौँ ।’ कर्णबहादुर गाउँमा रहेको एउटा मात्रै मुहानमा गाईभैँसी, बाख्रा, कुकुरदेखि मान्छेले समेत पानी पिउनु पर्ने बाध्यता सुनाउनु हुन्छ । पानीको अन्य स्रोत नहुँदा फोहोर भए पनि पानी पिउनु पर्ने बाध्यता छ । ‘पूर्खाले यही पानी पिएर बाँचे हामी पनि यही पानी पिउँदै बाँचिरहेका छौँ,’ बमले भन्नुभयो, ‘गाउँका सबै यही मुहानको पानीले बाँचिरहेका छन् ।’
यो पानी अभाव कथा हो डोटीको बडीकेदार गाउँपालिका–३, घाङलबाट झण्डै तीन घण्टा पैदल यात्रापछि पुग्न सकिन्छ बगडाको । झट्ट हेर्दा देखिने सुन्दर गाउँ बगडा बुझ्दै जाँदा समस्या नै समस्याको चंगुलमा जकडिएको छ ।
यातायात सुविधाबाट टाढा रहेका बगडाबासीले थुप्रै समस्याका बाबजुद आफ्नो दैनिकी कटाइरहेका छन् । यातायात, स्वास्थ्य, शिक्षाबाट वञ्चित रहेका बगडाका स्थानीयको सबैभन्दा ठूलो समस्या हो स्वस्थ पिउने पानी ।
१९ घरधुरी रहेको बगडामा पानीको एउटा मात्र मूल छ । गाउँबाट झण्डै एक घण्टा उकाली ओराली पैदल यात्रापछि पुग्न सकिन्छ मूल भएको थलो । पानी अभावका कारण धेरैजसो बगडाबासी कृषिभन्दा पशुपालनमा रमाइरहेका छन् । अधिकांश बगडाबासीको घरमा कुखुरा, खसी, भैँसी छ । घरमा पालिएका पशु बेचेर आधारभूत आवश्यकता पूरा गर्छन् । तर पानीको जोहो भने सधैँ हम्मेहम्मे ।
गाउँमै रहेको एउटा मात्र मुहानको पानी पिउँदै आएका बगडाबासी सोही मुहानकै पानी पशुलाई पिलाउने गर्छन् । गाउँभन्दा टाढा रहेको मुहानमा बगडा बासी मात्र निर्भर छैनन् गाउँभरको पशुचौपायाको प्यास मेटाउने पानीको स्रोत पनि त्यही हो ।
पिउने पानी घरसम्म ल्याउन केटीकेटीलाई डेढ घण्टा र वयस्कलाई एक घण्टा प्रदल हिँड्नु पर्ने स्थानीय सेतुराम ओलीले बताउनुभयो । ‘बिहान ४ बजेदेखि लाइन बसेर पानीको जोहो गर्छौँ,’ ओलीले भन्नुभयो, ‘बिहान छिटो पुगे अलि राम्रो पानी भेटिन्छ नत्र माटो नै माटो मिसिएको धमिलो पानी ।’ हरेक पटक निर्वाचनमा नेताहरुले स्वच्छ पिउने पानी व्यवस्था गर्छु भने पनि निर्वाचन जितिसकेपछि फर्केर नआउने गुनासो स्थानीयको छ । ओलीले भन्नुभयो, ‘नेताबाट ठगिएको गाउँ हो यो ।’
बडीकेदार गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष लीलाधर सापकोटाले बजेट अभावका कारण समस्या समाधान गर्न नसकिएको बताउनुभयो । ‘समस्याबारे हामीलाई थाहा छ,’ सापकोटाले भन्नुभयो, ‘अब चाँडो खानेपानी पु¥याउँछौँ ।’
तीन घण्टा पैदल यात्रापछि स्वास्थ्य चौकी
पिउने पानीको चरण अभाव भोगिरहेका बगडाबासीका लागि अर्को ठूलो समस्या हो स्वास्थ्य उपचार । गाउँमा कुनै व्यक्ति विरामी हुँदा तीन घण्टा पैदल हिँडेर घाङल स्वास्थ्य चौकी पुग्नुपर्ने हुन्छ । पैदल यात्रापछि स्वास्थ्य चौकी पुगे पनि कहिलेकाहिँ स्वास्थ्यकर्मी नहुँदा त्यत्तिकै फर्कनु पर्ने बाध्यता छ ।
तीन कक्षामै रोकिन्छ पढाइ
समस्या नै समस्याले जकडिएको गाउँ हो बगडा । डोटीको बडीकेदार गाउँपालिका–३, बगडा गाउँबाट झण्टै एक किलोमिटर टाढा छ बग्र आधारभूत विद्यालय । कक्षा ३ सम्मको पढाइ अनुमति दिएको छ सरकारले ।
समाचार संकलन सिलसिलामा वैशाख १७ गते विद्यालय पुग्दा कक्षा १ मा एक जना, कक्षा २ मा एक जना र कक्षा ३ मा तीन जना विद्यार्थी थिए । विद्यालयका प्रधानाध्यापक रमेश बुढामगर कहिले तालिम त कहिले विद्यालयको काम भन्दै तराईतिरै बस्ने र बाल कक्षामा पढाउने शिक्षिका घरको काम समेर फुर्सदमा मात्रै आउँने हुँदा विद्यालयको सम्पूर्ण जिम्मेवारी आफैले सम्हाल्दै आएको कार्यालय सहयोगी तेजेन्द्र बुढामगरले बताउनु भयो ।
कक्षा ४ भन्दा माथि पढाइका लागि दुईदेखि तीन घण्टाको पैदल यात्रा गरेर घाङलस्थित वीरेन्द्र माध्यमिक विद्यालय मूलेचौरस्थित विष्णु माध्यमिक विद्यालयमा र ओखलढुङ्गामा रहेको अमरघट्टी निमावि पुग्नुपर्ने बाध्यता छ ।