काठमाडौं । अति भयंकर समुन्द्री आँधी ‘फानी’ भारतको ओडिसाको तटीय क्षेत्रमा शुक्रबार बिहान प्रवेश गरेको छ । बङ्गालको खाडीबाट उत्पति भएको फानी नामक आँधी प्रतिघण्टा २ सय किलोमिटरको गतिमा अगाडि बढिरहेको छ । यसको प्रभाव नेपालका तराई क्षेत्रमा परेको छ ।
कुन जिल्लामा के भइरहेकाे छ ?
दाङ
हावाहुरीसँगै परेको पानीले निकै क्षति पुर्याएको छ । राजपुर गाउँपालिका वडा नम्बर ६ खांग्रा नाकामा रहेको सामुदायिक स्वास्थ्य चौकीको छानो उडाएको छ । स्थानीय गीता शार्की, चन्द्रकला बि.सी, बिष्णुबहादुर बुढाको घर भत्किएको छ । सोही ठाउँका बासुदेव डाँगीको भान्साघरको जस्तापाता उडाएको छ ।
ज्योति आधारभुत विद्यालयको दुईवटा कोठाको जस्तापाता उडाएको छ । यस्तै, लमही नगरपालिका –६ देउपुर निवासी गेदप्रसाद भट्टराईको घरको छानो उडाएको छ । मटेरिया बस्ने झुमलाल कँवरको भान्सा घर भत्किएको छ ।
घोराही उपमहानगरपालिका वडा नं. ५ सितलपुर निवासी रामकुमार थापाकाको घरको छानो उडाएको छ । पहल सिंह वलीको कुखुरा फर्म, बिनोद बस्नेतको गोठको छानो, मुक्तबहादुर केसीको टिनले छाएको गोठ ढलेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
नवलपुर
हुरी बताससहित भारी वर्षापछि नवलपुरको जनजीवन प्रभावित भएको छ । हुरीबतासकै डरले जिल्लाका अधिकांश विद्यालय बन्द गरिएका छन् ।
कावासोतीलगायत जिल्लाका अधिकाँश स्थानमा आज बिहानैदेखि हावाहुरीसँगै वर्षा भइरहेको छ । मौसम पूर्वानुमान शाखाका अनुसार, कावासोती आसपास क्षेत्रमा ११ किलोमिटर प्रतिघण्टाको दरले हावाहुरी चलेको छ ।
बारा
बारामा हावाहुरीसहित अहिले वर्षा भइरहेको छ । हावाहुरीसहितको वर्षाका कारण मानिसको जनजीवन कष्टकर भएको छ ।
मकवानवपुर
मकवानपुरमा बिहानदेखि मेघ गर्जनसहितको वर्षा भइरहेको छ ।
भिडियाे हेर्नुहाेस्