भगीरथ भण्डारी
इलाम । इलामको रोङ गाउँपालिकामा कर्मचारीका लागि स्वीकृत दरबन्दी सङ्ख्यामध्येको ७१ प्रतिशत दरबन्दीमा कर्मचारी रिक्त रहेको छ । वडा कार्यालयहरूसहित गाउँपालिकामा श्रेणीबिहीन बाहेक जम्मा ३१ जना कर्मचारीको दरबन्दी रहेपनि नौजना कर्मचारी मात्र कार्यरत रहेका छन् ।
दरबन्दी अनुसार रोङमा आठौँ तहका प्रमुख प्रशासकीय अधिकृत एकजना र सातौँ वा आठौँ तहका अधिकृतहरू तीनजना, छैटौँ तहका अधिकृत दुईजना, पाँचौँ तहका आन्तरिक लेखापरीक्षक, प्रशासनमा सहायक, कम्प्यूटर अपरेटर, लेखा सहायक, प्राविधिक सहायक, हेल्थ असिस्टेन्ट र सब इन्जिनियर दशजना, चौथो तहका असिस्टेन्ट सब इन्जिनियर, सहायक महिला विकास निरीक्षक र खानेपानी सहायक टेक्निसियन तीनजनासहित १९ जना तथा वडा कार्यालयहरूतर्फ पाँचौ तहका सहायक र सब इन्जिनियर दुई/दुईजना र चौथो तहका सहायक र असिष्टेन्ट सब इन्जिनियर चार/चारजना तोकिएको छ ।
तर दरबन्दी अनुसारका कर्मचारीमध्ये हाल प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर एकजना, प्रशासनका अधिकृत दुईजना, सब इन्जिनियर एकजना, सहायक महिला विकास निरीक्षक एकजना गरि ६ जना कर्मचारी मात्र कार्यालयमा रहेका छन् । बाँकी १३ जनाको दरबन्दी खाली नै रहेको छ ।
रोङ गाउँपालिकामा कर्मचारी थोरै भएका कारण एकजना कर्मचारीले तीनवटासम्म जिम्मेवारी बहन गर्नु परिरहेकोे छ । प्रशासनको जिम्मेवारी सम्हालिरहेका अधिकृत नेत्र पोखरेलका अनुसार उहाँले कार्यालयभित्र दुईवटा फाँट र दुईवटा वडाको काम गरिरहनु परेको छ । कार्यालयभित्र जिन्सी र प्रशासन फाँट हेर्दैछन् भने दुईवटा वडाको सचिवको काम गर्दैछन् । कर्मचारीको अभाव भएका कारण पटकपटक कर्मचारीको विवरण पठाउने र कर्मचारी माग गर्ने काम भइरहेकाे गाउँपालिका प्रमुख शम्शेर राईले जानकारी दिनुभयो ।
पछिल्लोपटक गाउँपालिकाले ३१ जनाको दरबन्दीमा २२ जना कर्मचारी नभएको विवरणसहित कर्मचारी माग गर्दै सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरेको छ । मन्त्रालयले कर्मचारीको अवस्था बुझ्न र स्थानीय तहहरूलाई पटकपटक विवरण माग गरिसकेको भएपनि कर्मचारी पठाउन भने सकिरहेको छैन ।