सन् १८८३ मा निधन भएका दार्शनिक तथा क्रान्तिकारी नेता कार्ल मार्क्सले आफ्नो जीवनकालको झण्डै अन्तिमतिर सन् १८७९ जनवरीमा आधुनिक समाजवाद स्थापना, श्रमिक वर्गको मुक्ति र मानव समाजबाट शोषण प्रथाको अन्त्र्यबारे विचारोत्तेजक अन्तर्वार्ता दिए । अमेरिकी रिपब्लिकन अखबार ‘शिकागो ट्रिब्युन’ का लागि त्यसका सम्वाददातालाई लण्डनस्थित आफ्नै निवासमा कार्ल मार्क्सले दिएको अन्तर्वार्ता सन् १८७९ जनवरी ५ आइतबार त्यस अखबारको प्रभातकालीन संस्करणमा छापियो । अन्तर्वार्तालाई लेखनमा उतार्ने काम इलेन स्च्वाच्र्जले गरेका थिए भने सम्पादन थोमस डब्ल्यु पोर्टरले गरेका थिए । ‘द अमेरिकन इन्स्टिच्युट फर माक्र्सिस्ट स्टडिज’ मा संकलित अन्तर्वार्ताको प्रतिलिपि ‘मार्क्सिस्ट्स डट अर्ग’ बाट प्राप्त भएको हो ।
सन् १८७९ मा अमेरिकी रिपब्लिकन अखबार ‘शिकागो ट्रिब्युन’ का सम्वाददाताले कार्ल मार्क्ससँग लण्डनस्थित आफ्नै घरमा अन्तर्वार्ता लिए । धेरै वर्षसम्म ‘ट्रिब्युन’ समाजवाद र उदीयमान ट्रेड युनियन दुवैको भावनात्मक झड्काको विस्फोटन बनेको थियो (तिनीहरु समान ठानिएका र हरेक रचनाले कार्ल मार्क्सलाई विश्व षड्यन्त्रको मास्टरमाइन्डको रुपमा स्थिर रुपले चरितार्थ गर्यो ।) (‘षडयन्त्र’ तत्कालीन बुर्जुवाले प्रयोग गरेको शब्द हो ।) एउटा रुढीवादी अखबारमा कार्ल मार्क्सको यही नै एउटा लामो अन्तर्वार्ता हो, जुन उनले यस्तो कहिल्यै दिएका थिएनन् । यो आकर्षक छ, तर अझ रोचक कुरा त के रह्यो भने सन् १९६४ सम्म यसबारे मार्क्सवादी विद्वानलाई वास्तविक जानकारी भएन । मार्क्सको यो अन्तर्वार्ता सन् १८७९, जनवरी ५ आइतबार तत्कालीन समयमा ३३ हजारभन्दा बढी संख्यामा छापिने ‘ट्रिब्युन’ को प्रभातकालीन संस्करणमा पहिलो पटक देखियो । एक हप्ताभित्र त्यसलाई दुई जर्मन–अंग्रे्रेजी मजदुर अखबार ‘न्यु योर्क भोल्क्सजेतुङ’ र ‘शिकागो भोर्बोट’ ले छापे । दुबै अखबारहरुले अपूर्ण र अशुद्ध जर्मन अनुवादमा छापे, जसमा साम्प्रदायिक उद्देश्यका लागि पुनर्संयोजन र पुनर्लेखन गरिएको थियो । जनवरी ११ मा शिकागोको ‘समाजवादी मजदुर पार्टी’ को साप्ताहिक मुखपत्र ‘समाजवादी’ मा अन्तर्वार्ताको अन्तिम परिच्छेद छापियो । अन्त्यमा अप्रिलमा आएर डानिस दैनिक ‘सामाजिक जनवादी’ ले ‘शिकागो भोर्बोट’ मा छापिएको अनुदित रचनालाई पुनःप्रकाशन गर्यो ।
डा. कार्ल मार्क्स आफ्नो पुस्तकालयमा एउटा हातमा किताब र अर्को हातमा चुरोट लिएर काम गरिरहेको बेला भेटिन्थे । उहाँको उमेर ७० वर्षभन्दा बेसी होला । (यो साक्षात्कारको बेला १८ डिसेम्बर, १८७९ मा मार्क्सको उमेर ६०–६१ वर्षबीचमा मात्र थियो । किनकी मार्क्सको जन्म ५ मे, १८१८ मा भएको थियो । उहाँ सुगठित, शानदार र सीधा जीउ–डाल भएको प्रभावशाली व्यक्ति हुनुहुन्थ्यो । उहाँको शिर एउटा दार्शनिकको जस्तो छ र उहाँको अनुहार एउटा सुसंस्कृत यहुदीको जस्तो छ । उहाँको शिर र दाह्रीको रौँ लामो र खैरो रंगको छ । घना आँखीभौँले ढाकिएका उहाँका आँखा काला, तेजिला र चम्किला छन् ।
संवाददाताः डेविसको रिपोर्ट अुनसार १२ वटा मागमध्ये अन्तिम माग चाहिँ होः ‘प्रजातान्त्रिक तरिकाबाट औद्योगिक संस्थालाई सरकारी सहायता र ऋण दिनुपर्दछ ।’ मार्क्सले चर्चाक्रममा यो अन्तिम मागलाई छाड्नुभएको थियो, किनकी यो एउटा बुर्जुवा माग हो । डेविसको रिपोर्टका बाह्रौँ माग चर्चा गर्दै मार्क्र्ससँग सोधियो, यो माग किन छाड्नुभयो ?
मार्क्सः १८७५ मा जब गोथामा समाजवादी सम्मेलन भएको थियो, त्यसबेला सोशल डेमोक्रेट्सका समर्थक इन्टरनेसनलका कार्यक्रमलाई सामान्यतः स्वीकार त गर्दथे, उनीहरुलाई आइजेनेक पार्टी पनि भनिन्थ्यो । बाह्रौँ माग सम्मेलनको सभाले स्वीकार गरेको थिएन, बरु त्यसलाई केही मानिसको सन्तोषका लागि राखिएको थियो । त्यसपछि यो मागबारे कहिले पनि चर्चा भएन । तर, डेविस यसलाई मनको सन्तोषका लागि कार्यक्रममा राखिएको हो भन्ने कुरा स्वीकार्दैनन्, बरु उनी यसलाई कार्यक्रमको मूलभूत सिद्धान्तमध्ये एउटा पक्षको रुपमा प्रस्तुत गर्दछन् ।
संवाददाताः तर समाजवादीहरुको आन्दोलनको अन्तिम उद्देश्य श्रमका साधनलाई समाजको सार्वजनिक सम्पत्तिका रुपमा फेर्नु नै त हो नि ?
मार्क्सः हो, पक्कै हो, हामी के भन्छौँ भने आन्दोलनको परिणाम यस्तै हुनेछ । तर त्यसको लागि समय, शिक्षा र उच्चस्तर भएका सामाजिक संस्थाको जरुरत हुनेछ ।
संवाददाताः तपाईंहरुको यो घोषणापत्र र मोर्चा केबल जर्मनी वा केही त्यस्तै एक–दुईटा देशका लागि मात्र उपयोगी हुनेछन् ।
मार्क्सः यदि तपाईं यही घोषणापत्र मात्रै पढेर हाम्रो बारे नतिजा निकाल्ने प्रयास गर्नुहुन्छ भने म भन्छु– तपाईं हाम्रो संगठनका गतिविधिबारे केही पनि जान्न सक्नुहुन्न । स्पष्ट छ– यस घोषणापत्रका कैयौँ कुराको जर्मनीभन्दा बाहिर कुनै महत्व छैन । स्पेन, रुस, बेलायत र अमेरिकामा ती देशका आआफ्ना विशेष कठिनाइ अनुरुप मोर्चा र संगठन बनेका छन् । ती सबै संगठनबीच समानता भनेको केबल उद्देश्य मात्रै हो, जुन हामी सबै प्राप्त गर्न चाहन्छौँ ।
संवाददाताः त्यो उद्देश्य भनेको के मजदुर वर्गको प्रभुत्व कायम गर्नु हो ?
मार्क्सः होइन हजुर । त्यो उद्देश्य होः मजदुरवर्गको मुक्ति ।
संवाददाताः के युरोपका समाजवादी अमेरिकी मजदुर आन्दोलनलाई महत्वपूर्ण मान्दछन् ?
मार्क्सः हो हजुर । अमेरिकी मजदुर आन्दोलन त्यो देशको विकासको स्वाभाविक परिणाम हो । के पनि भनिन्छ भने त्यहाँ विदेशीद्वारा बाहिरबाट आन्दोलन ल्याइएको हो । आजभन्दा ५० वर्षअगाडि जब बेलायतमा मजदुर आन्दोलनको रुप जुझारु हुन थालेको थियो, तब यहाँ पनि त्यस्तै भनिएको थियो र यो कुरा समाजवादको चर्चा हुन थाल्नुभन्दा अगावैको कुरा हो । अमेरिकामा सन् १८५७ देखि नै मजदुर आन्दोलन प्रभावशाली हुन लागेको हो । त्यसपछि मजदुर युनियनहरु फल्न–फुल्न थाले । त्यसपछि त्यस्ता मजदुरसभा निर्माण हुन थाल्यो, जसबाट विभिन्न उद्योगमा काम गर्ने मजदुरबीच एकता कायम भयो । र, अन्त्यमा राष्ट्रिय मजदुर संघ स्थापना भयो । यदि तपाईंले यो क्रमिक विकासमाथि ध्यान दिनुभयो भने तपाईंलाई थाहा हुनेछः विदेशीको मद्दतविना नै अमेरिकामा समाजवाद पैदा भयो र त्यो पुँजीको केन्द्रीकरण तथा मजदुर एवम् मालिकको बदलिँदो सम्बन्धका कारण सम्भव भयो ।
संवाददाताः अब तपाईं के बताउनुस् भने तपाईंको समाजवादले अहिलेसम्म के–के गर्यो ?
मार्क्सः दुईवटै कुरा भएका छन् । समाजवादीले पुँजी र श्रमको व्यापक संघर्षको बाटो देखाएका छन् । अर्थात् त्यसलाई विश्वव्यापी बनाएका छन् । यसैको फलस्वरुप संसारभरका मजदुरहरुबीच एकताको विचार जन्मिएको छ । र, विचार अहिले अरु बेसी आवश्यक भएको छ, किनकी पुँजीपतिहरुले मजदुरको बहालीका लागि संसारभरका मजदुरमाथि आँखा लाउन थालेका छन् । अमेरिकामा मात्रै होइन, बेलायत, फ्रान्स र जर्मनीका पुँजीपतिले समेत स्वदेशी मजदुरविरुद्ध विदेशी मजदुरलाई उपयोग गर्न थालेका छन् । यसबाट के सावित भयो भने समाजवाद कुनै स्थानीय समस्या होइन रहेछ । र, यसको समाधान त संसारभरका मजदुर एक भएर गर्नुपर्ने रहेछ । मजदुर वर्ग आफ्नो आन्दोलनका उद्देश्यबारे ज्ञान नहुँदा नहुँदै पनि आफ्सेआफ लगातार अगाडि बढिरहेको छ । समाजवादीले त आन्दोलनको चरित्र र उद्देश्य बताउने काम गरेका हुन् ।
संवाददाताः मेरो विचारमा यसको मतलब होः वर्तमान समाज व्यवस्थालाई उखेलेर फ्याँक्नु ।
मार्क्सः हाम्रो विचार के छ भने वर्तमान व्यवस्थामा एकातिर पुँजीपतिको हातमा पुँजी र भूमि छ अनि अर्कातिर मजदुरसँग एउटा बजारको बस्तुको रुपमा बेच्न श्रमशक्ति मात्रै छ । यो व्यवस्था पनि एउटा त्यस्तो ऐतिहासिक अवस्था हो, जुन समाप्त हुनैपर्छ र त्यसको ठाउँमा योभन्दा बेसी उन्नत सामाजिक व्यवस्था कायम हुनैपर्छ । हामीलाई थाहा छ– सबै ठाउँमा समाज वर्गमा विभाजित छ । आधुनिक औद्योगिक देशमा औद्योगिक साधनको विकाससँगै पुँजीपति र मजदुर वर्गबीच आपसी वैमनस्य पनि बढिरहेको छ । समाजवादीको दृष्टिकोणमा वर्तमान ऐतिहासिक अवस्थामा क्रान्तिको तत्व विद्यमान छ । कैयौँ देशमा मजदुर युनियनका आधारमा राजनीतिक संगठन पनि निर्माण भएका छन् । अमेरिकामा पनि मजदुर वर्गको आफ्नै एउटा पार्टी बनाउन जरुरी छ । मजदुरले अब पेशेवर राजनीतिज्ञमाथि अरु बेसी भरोसा गर्न सक्दैनन् । सांसद गुटबाजीको शिकार भएका छन् र संसद त्यस्तैको अखडा भएको छ । राजनीति व्यवसाय भएको छ । यो दशा अमेरिकामा मात्र होइन, बरु युरोपको पनि यस्तै हाल छ । फरक के मात्रै हो भने युरोपबासीको तुलनामा अमेरिकी जनता केही बेसी सावधान र दृढ निश्चय भएका मानिस हुन् । अमेरिकामा सबैको रहस्य तुरुन्तै खुल्छ । महासागरको वारी जति शब्द–आडम्बर र मारकाट छ, त्यति उता पारितिर छैन ।
संवाददाताः जर्मनीमा समाजवादी पार्टीको तीब्रतापूर्वक भएको विकासको कारण के हो ?
मार्क्सः जर्मनीको वर्तमान समाजवादी पार्टी धेरै नै नयाँ पार्टी हो । बेलायत र फ्रान्समा झैँ जर्मनीमा काल्पनिक समाजवादीको विचारधाराको कुनै प्रभाव पहिलेदेखि विद्यमान थिएन । जर्मनीवाला सिद्धान्त रचना गर्ने कार्यमा अरुभन्दा अलि बेसी नै कुशल छन् । विगतका अनुभवबाट सिकेर जर्मनीवालाले केही निर्णय गरे । तपाईंलाई थाहा छ होला– युरोपका अरु देशको तुलनामा यो पूँजीवादी व्यवस्था जर्मनीको लागि धेरै नै नयाँ व्यवस्था हो । जब जर्मनीका मजदुरहरुले समाजवादी विचारलाई अंगीकार गरे, तब बेलायत र फ्रान्समा पुराना भइसकेका प्रश्न जर्मनीमा नयाँ रुपमा उठ्न थाले । अनि ती देशमा उत्पन्न भएका राजनीतिक प्रभावको असर जर्मनीका मजदुरको जीवनमाथि पनि पर्यो । त्यसैले आधुनिक औद्योगिक विकासको शुरुवातसँगै त्यहाँका मजदुरले आफ्नै स्वतन्त्र राजनीतिक पार्टी बनाए । जर्मनीको संसदमा उनीहरुका आफ्नै प्रतिनिधि थिए । सरकारका नीति विरोध गर्ने अर्को कुनै दल थिएन, त्यसैले त्यो जिम्मेवारी पनि मजदुरकै प्रतिनिधिको काँधमाथि आइपरेको थियो । यस पार्टीको रुपरेखाबारे बताउन धेरै समय लाग्नेछ, तर म यति चाहिँ भन्नसक्छुः यदि जर्मनीको मध्यमवर्गमा घनघोर कायरता नभएको भए उनीहरु बेलायत र अमेरिकाको मध्यमवर्गको समान भएका भए सरकारविरुद्ध गर्नुपर्ने सबै राजनीतिक काम उनीहरुले नै गर्नुपर्दथ्यो ।
संवाददाताः इन्टरनेसनलवादीहरुबीच लासालवादीहरुको संख्या कति होला ?
मार्क्सः लासालको कुनै पार्टी छैन । हाम्रो संगठनमा लासालको सिद्धान्तमाथि विश्वास गर्ने केही मानिस छन्न्, तर उनीहरुको संख्या कम छ । लासाललाई हाम्रा सामान्य सिद्धान्तको अनुमान थियो । त्यसैले जब उनले सन् १८४८ का घटनापछि जगैदेखि आफ्ना गतिविधि शुरु गर्दा कल्पना गरेका थिएः औद्योगिक प्रतिष्ठानमा मजदुरको सहयोगको वकालत गरेर आफ्नो आन्दोलनलाई फेरि एकपटक धेरै सफलतापूर्वक चलाउन सकिनेछ । यो चाहिँ मजदुरलाई फेरि सक्रिय पार्ने उनको कोसिस थियो । यसलाई उनी आन्दोलनको वास्तविक उद्देश्य पूरा गर्ने साधन नै सम्झन्थे । उनको यस्तो आसयको चिठ्ठी मसँग छ ।
संवाददाताः के तपाईं यसलाई उनको रामवाण भन्न चाहनुहुन्छ ?
मार्क्सः निश्चित रुपले । उनले बिस्मार्कसँग भेटे, आफ्नो योजनाबारे उनीसँग चर्चा गरे । अनि बिस्मार्कले त्यसबेला हरतरहले लासालका गतिविधिलाई बढावा दिए ।
संवाददाताः यस्तो गर्नुको पछाडि बिस्मार्कको उद्देश्य के थियो ?
मार्क्सः उनी १८४८ को विद्रोह भड्काउने मध्यमवर्गविरुद्ध मजदुरवर्गलाई प्रयोग गर्न चाहन्थे ।
संवाददाताः के भनिन्छ भने तपाईं समाजवादका अध्यक्ष र नेता हुनुहुन्छ र तपाईं यहाँबाट, आफ्नो घरबाट, आजभोलिका सबै प्रकारका संगठन र क्रान्ति सञ्चालन गर्नुहुन्छ । यस सम्वन्धमा तपाईं केही भन्न चाहनुहुन्छ कि ?
मार्क्सः (हलुका मुस्कानसहित) यो विषयमा जानकार छु । लाग्छः यो एकदम अर्थहीन कुरा हो, तर यसमा एउटा मनोरञ्जक पक्ष पनि छ । होदेतको प्रयासभन्दा दुई महिनाअगाडि बिस्मार्कले आफ्नो पत्रिका ‘नर्थ जर्मन गजेट’ मा मेरो विरुद्ध गुनासो गरेका थिए । मैले जेसुइट आन्दोलनका नेता फादर बैंकसँग मिलिभगत गरेरहेको छु । अनि हामी दुवैले मिलेर समाजवादी आन्दोलनलाई यस्तो रुप दिइरहेका हौँ, ताकि बिस्मार्कले यो आन्दोलनसँग कुनै सम्बन्ध राख्न नसकून् ।
संवाददाताः तर लण्डनबाट तपाईंको अन्तर्राष्ट्रिय समाजले आन्दोलन त सञ्चालन गरिरहेकै छ नि ?
मार्क्सः अन्तर्राष्ट्रिय समाजको उपयोगिता अब समाप्त भइसकेको छ र अब त्यसको कुनै अस्तित्व छैन । पहिले त्यसको अस्तित्व थियो र त्यसको माध्यमबाट आन्दोलनको सञ्चालन पनि हुन्थ्यो । तर, हालका केही वर्षमा समाजवादको विकास यति धेरै भइसकेको छ कि अब इन्टरनेसनलको कुनै जरुरत नै रहेन । अहिले विभिन्न देशमा अखबार प्रकाशित भइरहेका छन् । तिनीहरुबीच आपसमा आदानप्रदान पनि भइरहेका छन् । विभिन्न देशमा काम गरिरहेका पार्टीहरुबीच आपसी सम्बन्धको यही नै एकमात्र माध्यम हो । अन्तर्राष्ट्रिय समाज स्थापना के का लागि गरिएको थियो भने मजदुरलाई संगठित गर्न सकियोस् र विभिन्न राष्ट्रका मजदुरका संगठनमा आपसी एकता कायम गर्न सकियोस् । हरेक देशका मजदुर संगठनको आआफ्नै हित छन्, जुन अरुसँग भिन्न छन् । त्यसैले लण्डनमा बसिरहेका इन्टरनेसनलका नेताको कालो छायाँ हरेक ठाउँमा घुम्न थालेको कुरा मनगढन्ते छ । के कुरा सत्य हो भने, जब इन्टरनेसनल स्थापना भएको थियो, तब हामी विदेशी संगठनलाई सल्लाह दिन्थ्यौँ । हामी न्युयोर्कका केही समूहलाई इन्टरनेशनलबाट अलग्याउन पनि विवश भएका थियौँ । तीमध्ये म्याडम वुडहलको प्रभाव भएको एउटा गूट पनि थियो । यो सन् १८७१ को कुरा हो । त्यस्ता अमेरिकी राजनीतिज्ञ धेरै छन्, जो त्यस आन्दोलनबाट लाभ उठाउन चाहन्छन् । म उनीहरुको नाम लिन चाहन्नँ । तर, अमेरिकी समाजवादी उनीहरुलाई राम्ररी नै चिन्दछन् ।
संवाददाताः डा. मार्क्स ! के पनि भनिन्छ भने तपाईंका अनुयायीका साथै तपाईंले धर्मविरुद्ध आगो ओकल्ने भाषण दिनुभएको छ । निश्चय नै तपाईं चाहनुहुन्छ– वर्तमान व्यवस्था सम्पूर्ण रुपमा समूल बर्बाद होस् !
मार्क्सः (एकै क्षण रोकिएर) हामीलाई थाहा छ– धर्मविरुद्ध हिंसात्मक कारवाही गर्नु निरर्थक छ । समाजवादको विकाससँगै धर्म गायव हुँदै जानेछ । र, धर्मको लोप सामाजिक विकासको कारणले हुनुपर्दछ । र, यसमा शिक्षाको महत्वपूर्ण भूमिका हुनुपर्दछ ।
संवाददाताः तपाईं बोस्टनका पादरी कुकलाई चिन्नुहुन्छ ?
मार्क्सः मैले उनका बारे केही सुनेको छु । समाजवादका सम्बन्धमा उनको जानकारी धेरै नै गलत किसिमको छ । हालैको आफ्नो भाषणमा उनले भनेका थिए, ‘डा मार्क्स भन्छन्, अमेरिका, ग्रेट ब्रिटेन र सायद फ्रान्समा विना रक्तरञ्जित क्रान्ति नै मजदुरको दशामा सुधार हुनेछ । तर, जर्मनी, इटली, रुस र अष्ट्रियामा अवश्य रक्तपात हुनेछ ।’ (डा. मार्क्सले मुस्कुराउँदै भन्नुभयो) कुनै पनि समाजले के कुरा घोषणा गर्नु जरुरी छैन भने रुस, जर्मनी, अष्ट्रिया विशेषगरी इटलीमा यदि वर्तमान सरकारी नीति चलिरहे भने रक्तरञ्जित क्रान्ति अनिवार्य हुनेछ, फ्रान्सिसी क्रान्तिका घटना ती देशहरुमा दोहोर्याइनेछन् । यो त राजनीतिका कुनै पनि विद्यार्थीले बुझ्न सक्छ । तर, क्रान्तिहरु बहुमतद्वारा हुनेछन् । क्रान्ति एउटा पार्टीले मात्र गर्न सक्दैन, बरु सिंगो राष्ट्रले क्रान्ति गर्दछ ।
संवाददाताः ती आदरणीय व्यक्तिले १८७१ मा पेरिसका कम्युनिष्टलाई लेखिएको एउटा पत्रको एक अंश उल्लेख गरेका छन्, जसमा तपाईंले लेख्नुभएको छ, ‘अहिले हामी केबल ३० लाख छौँ, आउँदो २० वर्षमा ५ करोड वा १० करोड हुनेछौँ, तब संसार हाम्रो हुनेछ, किनकी तब पेरिस, लियोन्स, मारसेलिजमा मात्रै घृणित पुँजीविरुद्ध विद्रोह हुने होइन, बरु बर्लिन, म्युनिख, ड्रेस डेन, लण्डन, लिभरपुल, म्यान्चेस्टर, ब्रसेल्स, सेन्ट पिटर्सवर्ग, न्युयोर्क अर्थात् सम्पूर्ण संसारमा त्यस्ता विद्रोह हुनेछन् । अहिलेसम्मको इतिहासको यस अभूतपूर्व विद्रोहको सामुन्ने अतीत भयानक नराम्रो सपना जस्तै गायब हुनेछ, किनकी अनेक ठाउँमा एकैचोटि लगाइएको यो आगोले अतीतको आगोलाई भस्म गर्नेछ ।’ डा. मार्क्स ! के यहाँले यस्तो पत्र लेख्नुभएको साँचो हो ?
मार्क्सः यसको एउटा शब्द पनि मैले लेखेको होइन । म यस्तो अति नाटकीयताले भरिएका अनर्गल प्रलाप कहिले पनि लेख्दिनँ । म जे जति लेख्दछु, अति नै धेरै सोचविचार गरेर लेख्दछु । त्यसबेला यो पत्र ‘ल फिगरो’ (फ्रान्सको एउटा अखबार)मा मेरो जाली हस्ताक्षरका साथ छापिएको थियो । त्यसबेला यस्ता सयौँ पत्र हावामा उडाइएका थिए । मैले त्यसबेला ‘लण्डन टाइम्स’मा लेखेको थिएँ, ‘यी पत्रहरु जाली हुन् ।’ तर मेरो बारे जति धेरै झुठो प्रचार गरियो र असत्य लेखियो, यदि मैले ती सबै झुठहरुको खण्डन गरिरहेँ भने त्यसका लागि मलाई बीस जना सहायकको जरुरत हुनेछ ।
संवाददाताः तर, तपाईंले पेरिसका कम्युनिष्टको समर्थनमा लेख्नु त भएको थियो नै, होइन र ?
मार्क्सः हो हजुर, हो । मैले पत्र लेखेको थिएँ । (बिस्तृत जानकारीको लागि मार्क्सको प्रसिद्ध किताब ‘फ्रान्समा गृहयुद्ध’ पढ्नुहोला) खासगरी उनीहरुबारे प्रमुख अखबारका मुख्य लेखमा जुन झुठ लेखिएको थियो, त्यसको तुलनामा मैले उनीहरुप्रति सहानुभूतिसहित केही लेखेको थिएँ । ती अखबारका सम्पादकीय लेखमा पेरिस कम्युनबारेमा जुन झुठ प्रचार गरिएको थियो, त्यसको खण्डनका लागि अंग्रेजी अखबारमा छापिएका पेरिसबासीका पत्रहरु नै काफी सक्षम छन् । कम्युनका कारण करिब ६० जनाको मृत्यु भएको थियो, जबकी मार्शल मेकमोहन र त्यसको हत्यारा सेनाले ६० हजारभन्दा बेसी मानिस हत्या गर्यो । कम्युनमाथि जति हिलो छ्यापियो, त्यति त आजसम्म कुनै पनि अरु आन्दोलनमाथि छ्यापिएको छैन ।
संवाददाताः जे होस्, के समाजवाद ल्याउन समाजवादीहरु हत्या र रक्तपातको वकालत गर्छन् ?
मार्क्सः आजसम्म कुनै पनि महान आन्दोलन विनारक्तपात शुरु भएको छैन । अमेरिकाको स्वतन्त्रताका लागि रगत बग्यो । नेपोलियनले रक्तपातकै माध्यमबाट फ्रान्समाथि कब्जा गरे र त्यसरी नै उनको अन्त्य भयो । इटली, बेलायत, जर्मनी र यहाँसम्म कि हरेक देशमा यस कुराको सबुत–प्रमाण फेला पर्नेछन् । यदि हत्याकै बारे विचार गर्ने हो भने पनि यो कुनै नयाँ चीज होइन । ओर्सिनीले नेपोलियनको हत्या गर्ने प्रयास गरे, इसाईले हत्या गरे, क्रामबेलको जमानामा प्युरिटनहरुले हत्या गरे । र, वास्तविकता के हो भने राजाहरुले जति हत्या गरे, त्यति त अरु कसैले पनि गरेका छैनन् । यी सबै हत्या वा हत्याका प्रयास समाजवाद आउनुभन्दा अगावै भएका हुन् । आज यदि कसैले पनि राजकीय वा सरकारी व्यक्तिको हत्याको प्रयास गरे त्यसको जिम्मेवारी समाजवादको टाउकोमा थोपरिदिने चलन बढेको छ । वर्तमान स्थितिमा जर्मन सम्राटको मृत्युबाट समाजवादी धेरै नै दुःखित हुनेछन् । आफ्नो ठाउँमा उनी निकै उपयोगी व्यक्ति हुन् र अन्य राजनीतिज्ञका तुलनामा बिस्मार्क आफ्ना अतिवादी कारवाहीका कारण हाम्रा उद्देश्यका लागि धेरै नै उपयोगी सावित भएका छन् ।
संवाददाताः बिस्मार्कबारे तपाईंको आफ्नो मूल्यांकन के छ ?
मार्क्सः जबसम्म नेपोलियनको पतन भएको थिएन, तबसम्म उनी एउटा प्रतिक्रियावादी व्यक्ति मानिन्थे । तर, जब नेपोलियनको पतन भयो, मानिसहरु उनलाई मूर्ख भन्न थाले । बिस्मार्कको पनि त्यही दशा हुनेछ । उनले एकीकरण निहुँमा तानाशाह स्थापना गरे, तर अहिले उनका काला करतूतको रहस्य मानिसलाई थाहा भइसकेको छ । उनको पछिल्लो चाल राज्य–विप्लव गर्ने एउटा प्रयास थियो । तर, त्यो पनि असफल हुनेछ । फ्रान्सका समाजवादीले जस्तै जर्मनीका समाजवादीले पनि १८७० को युद्धलाई दुई राजवंशको कोरा युद्ध सम्झेर त्यसको विरोध गरे । उनीहरुले जर्मनीलाई सावधान गर्दै आफ्नो घोषणा–पत्रमा भने, यदि जनताले यस तथाकथित सुरक्षात्मक लडाइँलाई विजय–अभियानको रुप लिन दिएमा उनी सैनिक तानाशाहीको दमनको शिकार हुनेछन् । र किसान–मजदुरहरुमाथि निर्मम अत्याचार हुनेछ । फ्रान्ससँग सम्मानजनक शान्तिको समर्थनमा सभाहरु गर्ने र घोषणापत्र निकाल्ने काम गरेवापत जर्मनीका सोसल डेमोक्रेटिक पार्टीमाथि जर्मन सरकारले दमन गर्यो र पार्टीका अनेक नेतालाई कैद गर्यो । फेरि पनि त्यही पार्टीका प्रतिनिधिले नै जर्मन संसदमा फ्रान्सका प्रान्त जबर्जस्त हडपेर जर्मनीमा मिलाएकामा जोड्दार विरोध गरिरहेका छन् ।
बिस्मार्कले शक्ति प्रयोग गरेर आफ्ना नीति लागु गरे । अनि मानिसले उनको बुद्धिको तारिफ गरे । लडाइँ भयो, अनि जब बिस्मार्कको विजयका सम्भावनाहरु समाप्त भए, तब मात्र मानिसले उनीबाट नयाँ विचार आशा गरे । तर, यस काममा उनी नराम्ररी असफल भए । उनीमाथि मानिसको विश्वास कम हुन थाल्यो । उनको लोकप्रियता घट्न थाल्यो । उनलाई धन चाहिएको छ र राज्यलाई पनि धनको जरुरत छ । त्यसैले एउटा बनावटी संविधानको निहुँमा उनले एकीकरण र सेनासम्बन्धी आफ्ना योजनाका लागि जनतामाथि कम्मरै भाँच्ने खालको कर लगाए । अनि अहिले उनी संविधानलाई नै रद्दीको टोकरीमा फ्याँकेर जनतामाथि अरु बेसी कर लगाउन चाहन्छन् । जनतामाथि मनपरी ढंगले कर लगाउन अब उनले समाजवादको हौवा खडा गरिरहेका छन् र दंगा–फसादको स्थिति सिर्जना गर्न सकभर प्रयास गरिरहेका छन् ।
संवाददाताः के तपाईंलाई बर्लिनबाट लगातार सूचना प्राप्त भइरहेको छ ?
मार्क्सः हो हजुर, मेरा साथीले मलाइ बराबर सूचना पठाइरहेका छन् । जर्मनी आजभोलि पूरै शान्त छ र यसले गर्दा बिस्मार्क पूरै दुःखित भएका छन् । उनले हेसेलमन, राकोब र वामन आदि ४८ जना युवा नेतालाई जर्मनीबाट निष्कासित गरेका छन् । (बाबेलको आत्मकथा अनुसार ६१ जना नेतालाई देश–निकालाको सजाय दिइएको थियो । उनीहरुमध्ये अधिकांशले ४८ घण्टाभित्र जर्मनी छोड्नु पर्यो । ती नेताहरुले त्यसबेला जर्मनीका मजदुरलाई शान्त पारिराखेका थिए । बिस्मार्कलाई यो कुरा थाहा थियो । उनलाई के पनि थाहा थियो भने त्यसबेला शहरमा ७५ हजार जति मजदुर भोकमरीको शिकार भइरहेका थिए । उनको अनुमान थियो– ती नेता जर्मनीबाट बाहिर जानासाथ जनता बेचैन भएर विद्रोह गर्न थाल्नेछन् र आफूलाई रगतको होली खेल्ने सुवर्ण अवसर प्राप्त हुनेछ । सिंगो जर्मन साम्राज्यमा दमन–चक्र तीब्रतापूर्वक चल्नेछ र उनलाई आफ्नो ‘रक्तपात तथा दमन–चक्र’को प्रिय सिद्धान्तलाई सम्पूर्ण रुपमा व्यवहारमा लागु गर्ने मौका प्राप्त हुनेछ । त्यसपछि त जनतामाथि मनपरी ढंगले कर लगाउन पनि सजिलो हुनेछ । तर, अहिलेसम्म त्यहाँ कुनै दंगा–फसाद भएको छैन । बिस्मार्क यस्तो स्थिति देखेर हैरान भइरहेका छन् । र, सबै राजनीतिज्ञ उनलाई हास्यपात्र बनाएर उडाइरहेका छन् ।
(९ जुन, १८७९ को ‘शिकागो ट्रिब्यून’मा प्रकाशित यो अन्तरवार्ता हामीले मूल्याङ्कन अनलाइनबाट साभार गरेका हौँ ।–सम्पादक)