मिना बुढाथोकी
सल्यान । बन्गाड कुपिण्डे नगरपालिकाका मेयरविरुद्ध अदालतमा मुद्दा परेको छ ।
मेयर गोविन्द कुमार पुनले आफूले पाएको अधिकार प्रयोग गर्न नदिएको भन्दै एक वडा अध्यक्षले उच्च अदालत सुर्खेतमा मुद्दा दायर गर्नु भएको छ ।
बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष गोविन्द डाँगीले नगर प्रमुखले आफ्नो काम, कर्तव्य र अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाउँदै मेयरविरुद्ध उच्च अदालतमा मुद्दा दायर गर्नुभएको हो ।
डाँगीले आफ्नो अधिकार माथि नगरप्रमुख गोविन्दकुमार पुनले ठाडो हस्तक्षेप गरेको आरोप लगाउनुभएको छ । नगरपालिका भित्रको आपसी विवाद र किचलोका कारण आर्थिक वर्ष शुरु भएको झण्डै ५ महिना पछि नगरसभा सम्पन्न भएको र नगरमा अहिले पनि नगर प्रमुखले वडाध्यक्षको अधिकार माथि हस्तक्षेप गरेको डाँगीको आरोप छ ।
‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार वडाबाट सञ्चालन हुने योजनाको सम्झौता, अनुगमण र भुक्तानीको लागि सिफारिस गर्ने सबै अधिकार वडाअध्यक्षलाई प्रदान गरिएको छ, तर नगरप्रमुखले वडा अध्यक्षको अधिकार माथी हस्तक्षेप गर्नुभएको छ’ उहाँले भन्नुभयो ।
यता नगरप्रमुख गोविन्द कुमार पुनले कार्यपालिका सदस्यलाई वडामा हुने योजनाहरुको लागि उपभोक्ता समिति गठन, योजना सम्झौताको सिफारिस लगायतका कार्यहरु सञ्चालन गर्ने मात्र जिम्मेवारी दिएको स्वीकार गर्नुभयो । वडा समितिको बैंठकको निर्णयअनुसार काम गरेको र वडा समितिको निर्णय बिना कुनै पनि काम कार्यपालिका सदस्यले नगरेको बताउनु भएको छ ।
आफुले योजना सम्झौता र कामकाज गर्ने मात्र जिम्मेवारी दिएको तर अन्य आरोप लगाएर नगर प्रमुखलाइ बदनाम गर्ने खोजेको उहाँको दाबी छ । वडा अध्यक्ष डाँगी अदालत गइसकेकाले अदालतले गरेको फैसला आपूmलाइ स्वीकार्य रहेको मेयरले बताउनु भयो । उहाँले नगरप्रमुख नगरको संरक्षक भएकाले कामहरुलाई तीव्रता दिन जनप्रतिनिधिहरुलाई कामको जिम्मेवारी दिइएको बताउनुभयो ।