काठमाडौं । रक्तदाताहरुको साझा संस्था ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोडान), उत्तर पश्चिम भेगीय क्षेत्रको तेश्रो अधिवेशन बुधबार सम्पन्न भएको छ । बालाजुस्थित एक पार्टी प्यालेसमा सम्पन्न अधिवेशनले पुनः देवेन्द्र महर्जनलाई तेश्रो कार्यकालका लागि अध्यक्ष चयन गरेको छ ।
समितिका उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः केदार अधिकारी, कविन्द्र रिमाल, हरि प्रसाद सापकोटा र रामलाल महर्जन चयन हुनुभएको छ । अधिवेशनले सानुकान्छा महर्जन, शिवहरी सापकोटा, शम्भु कार्की, अर्जुन थापा र सागर कार्कीलाई सदस्यमा चयन गरेको छ ।
त्यसैगरी समितिका अन्य सदस्यहरुमा कुलबहादुर बिक, शिवहरी लामिछाने, दीपककृष्ण श्रेष्ठ, भरत भट्ट र पूर्णप्रसाद तिमिल्सिना छन् । अधिवेशनले ध्रुवराज खड्कालाई सल्लाहकारको रुपमा चयन गरेको छ ।
काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित सांसद् रामबीर मानन्धरले कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै मानवीय सेवामा रक्तदाताहरुको भूमिका उल्लेखनीय हुने बताउनुभयो । मानवीय जीवनसँग जोडिएको रगत र रक्तदातासम्बन्धी योजना तथा कार्यक्रमलाई राज्यले उल्लेख्य महत्व दिने उद्घोष गर्दै सांसद् मानन्धरले युवाहरुलाई समाजसेवाको उक्त क्षेत्रमा अझ सशक्त भई लागिपर्न आग्रह समेत गर्नुभयो ।
ब्लोडान, उत्तर पश्चिम भेगीय क्षेत्रले स्थानीय सामाजिक, शैक्षिक तथा वित्तीय संघसंस्थाहरुसँग समेत समन्वय गरी रगतको अभाव न्यूनीकरण गर्न कार्य गरिरहेको स्थानीय गोल्डेन अर्थ बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष सन्तोष ढुङ्गानाले बताउनुभयो ।
भेलाले तारकेश्वर नगरपालिका प्रत्येक वडामा कम्तीमा सात सदस्यीय ‘ब्लोडान’ वडा कमिटी गठन गर्ने निर्णय गरेको सचिव कविन्द्र रिमालले बताउनुभयो । साथै अधिवेशनले नगरपालिकाको नेपालटारमा कार्यालय स्थापना गर्ने, रक्तदाताबीच नियमित समन्वय गर्ने, सर्वसधारणलाई रक्तदान गर्न प्रोत्साहन गर्ने र तारकेश्वर नगरपालिकालाई नेपालकै सर्वाधिक रक्तदाता भएको नगरपालिका बनाउन सक्रियता बढाउने निर्णय समेत गरेको छ ।