काठमाडौं । भारतीय फिल्म सुपरस्टार सलमान खान ५३ वर्षका भए तर अविवाहित छन् । विगत एक दशकदेखि सञ्चारमाध्यम, इष्टमित्र र फ्यानहरु सलमानसँग एउटै प्रश्न गर्छन्,‘विवाह कहिले गर्नुहुन्छ ?’ ग्यालेक्सी अपार्टमेन्ट कहिले विवाहोत्सवमा झकिझकाउ हुन्छ ? तर उनले विवाहसँग सम्बन्धित प्रश्नलाई मस्खरी गरेर टार्ने गरेका छन् ।
वास्तवमा सलमानको विवाहको प्रश्न भारतमा एक राष्ट्रिय चासो बनेको छ । बलिउडका तन्नेरी कलाकारहरु धमाधम वैवाहिक बन्धनमा बाँधिन थालेका छन् । तर ५३ वर्षीय अविवाहित नायक सलमान खानलाई विवाहको रहर जागेको छैन ।
‘टाइम्स अफ इण्डिया’मा प्रकाशित एक समाचारले बलिउडमा मात्र नभई सिंगो भारतमा नयाँ तरङ्क फैलिएको छ । समाचारमा भनिएको छ, ‘सलमान खान सेरोगेटको माध्यमबाट पिता बन्ने तयारीमा छन् ।’ पिता बन्नका लागि कोख भाडामा लिने सलमानको निर्णयले उनका फ्यानहरु खुशी भएका छन् । तर के सलमान अब आजीवन अविवाहित रहने हुन् त ? प्रश्न धेरैको ओठमा झुण्डिएको छ ।५३ वर्षमा सेरोगेट आमाबाट सन्तान प्राप्तिपछि सलमानलाई विवाह झन् अनावश्यक लाग्ने छ । किनकी सलमान पहिले पनि भन्ने गर्थे, कलाकार विवाहबाट दूर भाग्न चाहन्छन् ।
सन्तानको चाहना भएपनि विवाहबाट तर्सिन्छन् सलमान । उनी बालबालिकालाई औधी माया गर्छन् । आफ्ना कुलखानदानका बालबालिकाहरुसँग उनी आत्मिय व्यवहार गर्छन् । एक अन्तरर्वार्तामा सलमानले भनेका थिए, ‘म एक असल छोरा हुँ र असल पिता पनि बन्न सक्छु् ’ । तर पछिल्लो समाचार अनुसार सलमानले असल पति नहुने निधो गरेको बुझिन्छ ।
समाजमा दैनिकजसो हुने सम्बन्धविच्छेदको घटनाले वैवाहिक सम्बन्धप्रति सलमानको मोह भंग भएको भनिदै छ । आफ्नै भाई अरवाज र बुहारी मलाइकाको १९ वर्षे वैवाहिक जीवन पारपाचुकेबाट एक्लिएको देखेर सलमान वैवाहिक सम्बन्धप्रति झन् उदास भएका छन् । एक अन्तर्वार्तामा सलमानले भनेका थिए यदि परिणाम यस्तै हुन्छ भने म आजीवन अविवाहित रहन मै खुशी छु । धेरै कलाकारसँग पटक–पटक प्रेमप्रसँगमा गाँसिएका सलमानले त्यसलाई स्थायी नातामा रुपान्तरण गर्न सकेनन् ।
धेरै पटकको अधुरो प्रेम सम्बन्धले पनि उनलाई हतप्रभ बनायो । विप्रलम्भित सलमान अन्ततः विवाहप्रति द्विविधामा मात्र परेनन् उनी वैराग्यभावले पनि भरिए । कतिपयले सलमानमाथि अदालतमा चलिरहेको फैजदारी मुद्दाका कारण पनि विवाह गर्न नचाहेको बताएका छन् । कहिलेकाँही उनले पनि हस्यौली गर्दै मुद्दाको छिनोफानो भएपछि विवाह गर्छु भनेका थिए ।