मिना बुढाथोकी
सल्यान । छत्रेश्वरि गाउँपालिकामा भीषण आगलागी भएको छ । गाउँपालिकाको वडा नम्बर ६ रामकाडामा आगलागी भएको हो । आगलागीबाट ८ घर पूर्णरुपमा जलेको छ ।
इन्द्रेणी सामुदायिक वनमा लगाइएको डडेलोबाट गाउँमा आगलागी भएको हो । वनमा बिहिबार डलेलो लागेको थियो । हावाहुरीको कारण डडेलोबाट शुक्रबार बस्तीमा आगलागी भएको हो ।
आगो अझै निभाउन नसकिएको सशस्त्र प्रहरी प्रमुख डिएसपी विमल डाँगीले बताउनुभयो । डडेलो शुक्रबार दिउँसो २ बजे गाउँमा पसेको वनका अध्यक्ष रामबहादुर बुढाथोकीले जानकारी गराउनु भयो । अध्यक्ष बुढाथोकीका अनुसार आगलागीबाट जितबहादुर राना, ओमबहादुर राना र टुल्कबहादुर रानाको घर र गोठ जलेको छ ।
गौरीलाल राना र पदमबहादुर रानाको घर जलेको छ । उनीहरुका खाद्यान्न तथा लत्ता कपडा सबै जलेका छन् आगलागीबाट मानवीय क्षति भने हुन पाएन । क्षतिको बिबरण भने एकीन भइसकेको छैन ।
आगो नजिकै रहेको तुसारे र सिमपानीमा आगो छिर्न लागेको वडा अध्यक्ष चुडामनी दसौदीले जानकारी दिनुभयो । ‘ गाउँका बासिन्दा घर छोडेर सुरक्षित स्थानतिर लागेका छन्’ उहाँले भन्नुभयो, ‘हावाहुरीको कारण आगो निभाउन सकिएको छैन ।’ आगो निभाउन नेपाली सेनाको सबुज गणको टोली, सशस्त्र प्रहरी, नेपाल प्रहरीका टोली परिचालन भएका छन् ।
यसैबीच सल्यान मुलपानीको जंगलमा लागेको आगो गाउँमा पसेपछि एउटा घर जलेको छ । राप्ती राजमार्ग नजिकै पर्ने सामुदायिक वनमा लागेको डडेलोका कारण आगलागी भएको हाे । त्यस्तै शारदा नगरपालिकाको वडा नम्बर ७, ९ र १० मा लागेको आगो भने निभाइएको छ । आगो सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले निभाएको हो ।
जंगलमा आगो लगाउने पक्राउ
जंगलमा आगो लगाउनेलाई प्रहरीले पक्राउ गरेको छ । शारदा नगरपालिका २ को चन्द्रपाला सामुदायिक वनमा आगो लगाएको आरोपमा त्यही ठाउँका ५१ वर्षीय रामबहादुर ओली पक्राउ परेका हुन् । प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले आगलागी गराउनेलाई कारबानही गरिने बताउनु भयो ।